विषादी सेवनबाट हुने आत्महत्यालाई न्यूनिकरण गर्नेबारे छलफल

 सोमवार, कार्तिक १५, २०७८ | onlinenews
Share this

नवराज विश्वकर्मा


रामेछाप । विषादी सेवनबाट हुने आत्महत्याका घटना न्यूनिकरण गर्ने विषयमा जिल्ला प्रहरी कार्यालय रामेछाप र जिल्लाका भेटेरिनरी व्यवसायिबीच छलफल भएको छ ।
विषादी सेवनबाट हुने क्षति न्यूिनकरण कसरी गर्न सकिन्छ ? भन्ने विषयमा जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक नवराज ढुंगाना र जिल्लाका भेटेरिनरी व्यवसाय सञ्चालन गर्दै आएका १३ जना व्यवसायीहरुबीच छलफल भएको हो ।
छलफलमा सहभागी व्यवसायिहरुले कृषि तथा पशुजन्य भेटेरिनरी बाहेकका अन्य पसलहरुले समेत गैरकानूनी रुपमा विषादी बिक्री गरिरहेको बताएका थिए ।
गैर कानूनी रुपमा विषादी बिक्री बितरण गर्नेप्रति प्रहरीले निगरानी बढाउनुपर्ने भेटेरिनरी ब्यवसायिहरुले बताएका छन् । इजाजतबिना सञ्चालन भएका पसलहरुले विषादी बिक्री गरेको पाइएमा कानूनी कारबाही गर्नुपर्ने सुझाव समेत दिएका छन् । यस्तै, अनुगमन कार्यमा स्थानीय तहको भूमिका उल्लेखनीय नदेखिएको गुनासो गर्दै भेटेरिनरी सञ्चालकहरुले पालिका स्तरमा पनि यस प्रकारको कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने सुझाव दिएका छन् ।
यसैबीच, जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक ढुंगानाले विषादी बिक्री वितरण गर्दा विषादी किन्ने व्यक्तिको टेलिफोन नम्बर, खरिद गर्नुको प्रयोजन र अन्य विवरण सहितको अभिलेख राखेर मात्रै बिक्री गर्न सञ्चालकहरुलाई अनुरोध गरेका छन् । अभिलेख मासिक रुपमा स्थानीय प्रहरी कार्यालयमा पठाउन समेत डिएसपी ढुङ्गानाले अनुरोध गरेका छन् ।

 

Share this

प्रतिकृया

Add