चार महिनामा ३२ करोड रुपैयाँको मदिरा तथा सूर्तीजन्य पदार्थ आयात

 आइतवार, कार्तिक २८, २०७८ | onlinenews

नवराज विश्वकर्मा


रामेछाप । चालु आर्थिक वर्षको चार महिनामा ३२ करोड रुपैयाँ बराबरको मदिरा तथा सूर्तीजन्य बस्तु रामेछाप जिल्लामा आयात भएको छ । गएको साउन, भदौँ, असोज र कात्र्तिक महिनामा मासिक ८ करोड रुपैयाँका दरले ३२ करोड रुपैयाँ मदिरा तथा सूर्तिजन्य पदार्थ भित्रिएको उद्योग वाणिज्य संघ रामेछापका निवर्तमान अध्यक्ष श्याम थापाले जानकारी दिए ।
रामेछापमा मदिरा तथा सूर्तिजन्य पदार्थ खपत वर्षेनी बढ्दै गएको अध्यक्ष थापाले बताए । चाड पर्वको समयमा मदिराजन्य बस्तु जिल्लामा अत्याधिक मात्रमा भित्रिने गरेको उनको भनाई छ ।
आर्थिक वर्ष २०७६÷०७७ मा करिब एक अर्ब रुपैयाँ बराबरको मदिरा तथा सूर्तिजन्य पदार्थ जिल्लामा खपत भएको थापाले बताए । जिल्लाबाट वर्षेनी करिब एक अर्ब बराबरको रकम अनावश्यक खर्चमा बाहिरिने गरेको छ । राज्यले मदिरा तथा सूर्तिजन्य पदार्थको सेवनमा न्यूनिकरण गर्ने नीति लिएको छ तर प्रभावकारी कार्यान्वयमा भने समस्या देखिएको छ ।
मदीरा बिक्रीको लागि अन्तशूल्कमा छुट्टै फर्म दर्ता गर्नुपर्ने ब्यवस्था छ तर किराना तथा खाद्यान्न पसलले समेत मदिरा तथा सूर्तिजन्य पदार्थ बिक्री वितरण गरिरहेका छन् ।
तर, त्यसफर्त सम्बन्धित निकायको ध्यान पुगेको पाइँदैन । मदिरा तथा सुर्तिजन्य पदार्थले स्वास्थ्यमा असर पु¥याउनुको साथै पारिवारिक तथा सामाजिक रुपमा समेत कलह ल्याउँछ भन्ने थाहा हुँदैहुँदै पनि सेवन गर्नेको संख्या दिनानुदिन बढ्दो क्रममा छ ।
यसरी नै मदिराको आयात बढ्दै जाने हो भने निकट भविष्यमै अनावश्वयक खर्चबाट बाहिरिने रकम अरबौँमा पुग्नेस्थित देखिन्छ । मदिरा तथा सूर्तिजन्य पदार्थको बेचविखन तथा उपयोगमा नियन्त्रण गर्नका लागि राज्य नै गम्भीर हुनुपर्ने उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष श्याम थापालेको भनाई छ ।

प्रतिकृया

Add