मन्थली नगरपालिकाले नगरबासीको निःशुल्क मिर्गौला परीक्षण गराउने

 मङ्लबार, मंसिर ७, २०७८ | onlinenews
Share this

नवराज विश्वकर्मा


रामेछाप । मन्थली नगरपालिकाले ६ वर्षमाथिका नागरिकलाई निःशुल्क मिर्गौला प्रारम्भिक परीक्षण गराउने घोषणा गरेको छ । मन्थली नगरपालिकामा रहेका करिब ५१ हजार नागरिकको निःशुल्क मिर्गौला परीक्षण गराउन नगरपालिकाले ५ लाख रुपैयाँ बजेट विनयोजन गरेको मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेतले बताए ।
२०६८ सालको जनगणना अनुसार मन्थली नगरपालिकाको कुल जनसङ्ख्या ४५ हजार ४ सय १६ जना रहेको छ । तर, हालसम्म नगरको जनसङ्ख्या ५१ हजार भन्दा बढी भएको अनुमान गरिएको छ ।
संघीय संरचना अनुसार देशका सात सय ५३ स्थानीय तहमध्ये मन्थली नगरपालिकाले पहिलो पटक निःशुल्क मिर्गौला परीक्षण अभियान सुरु गर्न लागेको हो । यही मंसिर २५ गतेदेखि नगरभित्रका सबै नागरिकको निःशुल्क मिर्गौला परीक्षणको सुरु गरिने मन्थली नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक केशव फुयाँलले जानकारी दिए ।
नागरिकहरुको स्वास्थ्यलाई ध्यानमा राखेर मिर्गौला परीक्षण अभियान सुरु गरिएको उनले बताए । परीक्षणको क्रममा मिर्गौलामा खराबी वा समस्या देखिएर डायलासिस गर्नुपर्ने भएमा जीवनभर निःशुल्क उपचारका लागि सिफारिस गरिदिने संयोजक फुयालले बताए ।
डायलासिस भनेको मिर्गौलाले काम गर्न नसक्दा शरीरमा जम्मा भएका अधिक मात्राको पानी, लवण, फोहोरलाई रगतबाट फाल्ने पक्रिया हो । स्वासथ्यकर्मीका अनुसार मिर्गौलाको काम गर्ने क्षमातामा ह्रास आउने बित्तिकै रगतमा जम्मा भएको फोहोरलाई मिर्गौलाले फाल्न नसकेपछि डायलासिस गराइन्छ ।
सरकारले अन्य दिर्घ रोगको उपचारका लागि एक लाख रुपैयाँ दिँदै आएको छ भने मिर्गौला फेर्नुपर्ने व्यक्तिका लागि चार लाख रुपैयाँ र फेरिसकेपछि औषधी सेवन गर्नका लागि एक लाख रुपैयाँसम्म प्रदान गर्नेछ ।
परीक्षणका क्रममा कुनै पनि नागरिकको मिर्गौला फेर्नुपर्ने भएमा त्यस्ता व्यक्तिको उपचारका लागि राज्यले दिएको सेवा सुविधा लिनका लागि नगरपालिकाले सिफारिस गर्नेे संयोजक फुयालले बताए ।
नगरपालिकाले हाल नसर्ने रोगबाट पीडित ४० जनाको उपचारका लागि सिफारिस गरिसेको पनि फुयालले बताए । राष्ट्रिय मिर्गौला उपचार केन्द्र, मिर्गौला बचाऔँ अभियानका अभियन्ता मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेले मिर्गौला परीक्षण गरिएका कुल संख्याको दश प्रतिशत व्यक्तिको मिर्गौलामा समस्या हुनसक्ने बताए ।
मिर्गौलासम्बन्धी रोगका बिरामीहरु अन्तिम अवस्थामा मात्रै अस्पतालमा आउँदा उपचारमा समस्या हुने गरेको बताए । सरकारले पनि डायलासिस सेवा देशभर सञ्चालन गर्न सक्ने अवस्था नरहेकाले रोग लाग्न नदिनु नै उत्तम हुने डा. काफ्लेले बताए ।
अहिले रामेछापमा ३५ जना मिर्गौला रोगका विरामी उपचाररत छन् । हरेक व्यक्तिले आफ्नो स्वास्थ्यको जिम्मेवारी आफैँले लिनसके यस्ता रोगहरुबाट बच्न सकिने डा. काफ्लेले बताए । मिगौंलाको प्रारम्भिक परीक्षण शिविर मन्थली नगरपालिकाको ३१ स्थानमा सञ्चालन गर्न सकिने डा.काफ्लेले बताए । नगरपालिकाको अभियान सफल बनाउन आफूहरुको पूर्णसाथ रहने प्रतिबद्धता समेत जनाए ।
मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेतले नागरिकको प्रत्यक्ष जीवनसँग जोडिएकाले अभियानमा सामेल भई आफ्नो मिर्गौला परीक्षण गराउन नगरबासीलाई आब्हान गरे । यही मंसिर २५ गतेबाट सुरु हुने अभियान आगामी माघ ५ गतेसम्म चल्ने नगरप्रमुख बस्नेतले बताए । मिर्गौला परीक्षण अभियानमा नगरभित्र रहेका २४ वटा सरकारी स्वास्थ्य संस्था र ६ वटा निजीगरी ३१ वटा स्वास्थ्य संस्थाबाट १ सय ६५ स्वास्थ्यकर्मी परिचालीत हुने बस्नेतले बताए । नगरपालिकाको पवित्र अभियानलाई सफल पार्न नगरभित्र रहेका सबै स्वास्थ्य संस्थासँग समन्वय गरेर अघि बढ्ने पनि उनले बताए ।

Share this

प्रतिकृया

Add