रामेछापमा दोश्रो राष्ट्रिय माझी गोल्डकप हुँदै

 आइतवार, मंसिर १२, २०७८ | onlinenews

रामेछाप । रामेछाप जिल्लामा दोश्रो राष्ट्रिय माझी गोल्डकप पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । नेपाल माझी उत्थान संघ, रामेछापको आयोजनामा यही मंसिर १५ गतेदेखि २० गतेसम्म दोश्रो राष्ट्रिय माझी गोल्डकप पुरुष फुटबल प्रतियोगिता हुन लागेको हो । खेलको सम्पूर्ण तयारी पुरा भइसकेको खेल संयोजक बलबहादुर माझीले जानकारी दिए ।
प्रतियोगितामा सहभागि हुने खेलाडी तथा पाहुनाहरुको लागि खाने बस्ने ब्यवस्था साथै खेल मैदान पनि तयार भइसकेको खेल संयोजक माझीले बताए । प्रतियोगितामा २० वटा जिल्लाबाट खेलाडीहरुको सहभागिता रहने आयोजकले जनाएको छ । मन्थली नगरपालिकाको कुनौरी खेल मैदानमा हुने प्रतियोगितामा रामेछाप जिल्लाको ३ टिमसहित २२ टिम खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेता टिमले २ लाख रुपैयाँ नगद साथै शिल्ड र मेडल प्राप्त गर्नेछन् ।
दोश्रो राष्ट्रिय माझी गोल्डकप पुरुष फुटबल प्रतियिोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजबाट गरिने आयोजक संस्था नेपाल माझी उत्थान संघ रामेछापका अध्यक्ष इन्द्रबहादुर माझीले बताए । मन्थली नगरपालिका मुख्य प्रायोजक बनेर सञ्चालन गर्न लागिएको प्रतियोगितको खर्च ३५ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । त्यस मध्य मन्थली नगरपालिकाको १० लाख रुपैयाँ सहित अन्य पालिका, संस्था तथा ब्यक्तिहरुबाट गरि २१ लाख रुपैयाँ सुनिश्चत भइसकेको अध्यक्ष माझीले जानकारी दिए ।
प्रतियोगिताको प्रथम पुुरस्कार २ लाख रुपैयाँ नेकपा एमालेका नेता रत्नप्रसाद गौतमले सहयोग गरेका छन् । त्यसैगरी द्धितीय पुरस्कार १ लाख रुपैयाँ युवा संघ खाँडादेवि गाउँपालिकाका सह–संयोजक हरिबहादुर माझीले सहयोग गरेका छन् भने तृतीय पुरस्कार ५० हजार रुपैयाँ फ्रिडम रिसोर्ट मन्थली, रामेछापले सहयोग गरेको आयोजकले जानकारी दिएको छ । त्यसैगरी खाँडादेवि गाउँपालिकाले ५ लाख रुपैयाँ, नेपाली काँग्रेसका नेता गेल्जे शेर्पाबाट १ लाख रुपैयाँ र रामेछाप नगरपालिकाले ५० हजार रुपैयाँ सहयोग गर्ने बचन दिएको आयोजकले जनाएको छ ।

प्रतिकृया

Add