निजी क्षेत्र र सहकारीले उत्पादक क्षेत्रमा लगानी बढाउनुपर्छः नगरप्रमुख बस्नेत

 शनिबार, मंसिर १८, २०७८ | onlinenews

नवराज विश्वकर्मा


रामेछाप । मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेतले निजी क्षेत्र र सहकारीहरुले उत्पादनका क्षेत्रमा लगानी बढाउनु पर्ने बताए । मन्थली बचत तथा ऋण सहकारी संस्थाको २४औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै नगरप्रमुख बस्नेतले नगरको समृद्धि चाहने हो भने सहकारी र नीजि क्षेत्रहरुले उत्पादक क्षेत्रमा लगानी बढाउनुपर्ने बताएका हुन् ।
खाद्यन्न तथा तरकारीमा मात्रै आत्मनिर्भर बन्न सकेपनि नगरको समृद्धिमा धेरै सहयोग पुग्ने नगरप्रमुख बस्नेतले बताए । त्यसका लागि कृषि र सहकारीहरुले कृषि उपज र पशु उत्पादनमा जोड दिनुपर्ने बस्नेतको भनाई थियो ।
राज्यको तीन खम्बे अर्थनीति अन्तर्गतका सरकार, नीजि क्षेत्र र सहकारीको योगदानविना मुलुकको समृद्धि र विकास हुनैनसक्ने बस्नेतको भनाई छ । अहिले मन्थली नगरपालिकामा कुल १०९ वटा सहकारी संस्थाहरु रहेकोमा ५३ वटा मात्रै नगरपालिकामा सूचीकृत भएको नगरप्रमुख बस्नेतले बताए ।
नगरको शिक्षा सुधार गर्नसके नगरको विकास र समृद्धिमा थप सहयोग पुग्ने समेत उनले बताए । देशभर ३४ हजार सहकारी संस्था सञ्चालनमा रहेको उल्लेख गर्दै नगरप्रमुख बस्नेतले सहकारी क्षेत्रले मुलुकको कुल ग्राहस्थ उत्पादन (जिडिपी) मा २८ प्रतिशतले योगदान पु¥याएको बताए । राजधानी र तराई क्षेत्रको नजिक पर्ने मन्थली नगरपालिकालाई केन्द्रविन्दु बनाएर पहाडी जिल्लाका नागरिकहरु समेत आवतजावत गर्ने भएकाले नगरभित्रको शिक्षामा सुधार गर्नसके अन्य जिल्लाका मानिसहरुको समेत बसोबास हुने बताए । जसले गर्दा नगरको विकास र समृद्धिमा थप टेवा पुग्ने बस्नेतको दाबी थियो ।
नगरपालिकाले कृषियोग्य जमिनमा घर, आवास बनाउन नदिने गरी भू–उपयोग नीति पनि चाँडै ल्याउने बताए । नगरको आगामी हिउँदे अधिवेशन मार्फत भू–उपयोग नीति ल्याइने बताए ।
मन्थली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अध्यक्ष धु्रवप्रसाद सुवेदीले नगरपालिका र उद्योग वाणिज्य संघले लगानीको वातावरण बनाएको खण्डमा आफूहरु जुनसुकै ठाउँमा लगानी गर्न तयार रहेको बताका छन् । तर, लगानीको उपयुक्त वातावरणको सिर्जना गर्नुपर्नेमा उनले जोड दिए ।

प्रतिकृया

Add