तरलतामा ह्रास आउँदा उद्योग व्यवसायहरु अघि बढाउन सकिएनः ढकाल

 शनिबार, पुस ३, २०७८ | onlinenews
Share this

नवराज विश्वकर्मा


रामेछाप । नेपाल उद्योग बाणिज्य महासंघका कार्यवाहक अध्यक्ष चन्द्रप्रसाद ढकालले बैङ्कहरुको तरलतामा ह्रास आएका कारण नयाँ उद्योग व्यवसायहरु अघि बढाउन नसकिएको बताए ।
रामेछाप उद्योग वाणिज्य संघको १३ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् । तरलतामा ह्रास आएका कारण बैङ्कहरुले उद्योग, व्यवसायहरुमा ऋण लगानी गर्न नसक्दा नयाँ उद्योग व्यवसायहरु अघि बढाउन नसकिएको उनले बताए ।
६ महिनाको अवधिमा सरकारले १० प्रतिशत पनि खर्च गर्न नसकेको भन्दै कार्यबाहक अध्यक्ष ढकालले सरकारले समयमा विकास खर्च गर्न नसक्दा बैङ्क तरलतामा ह्रास आएको बताए । यस्तै, अहिले रेमिट्यान्स आयातमा पनि गिरावट आएको ढकालले बताए । जसको कारण बैंकहरुको लगानी क्षमतामा ह्रास आएको छ, उनले भने ।


संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारले समयमा नै खर्च गर्न सकेको खण्डमा यस्ता समस्या नआउने उनले बताए । सरकारले खर्च प्रणालीलाई सुधार गर्नुपर्ने उनको भनाई छ । उनले संघ, प्रदेश र स्थानीय तहले उत्पादन क्षेत्रतर्फ लगानी गर्न आकर्षण गर्ने प्रकृतिका नीति, नियम, ऐन र कानून ल्याउनु आवश्य रहेको बताए । सरकारले त्यस्ता खालका ऐन, कानून ल्याएको खण्डमा निजी क्षेत्र उत्पादनमूलक क्षेत्रमा लगानी गर्न तयार रहेको बताए ।
यस्तै, अध्यक्ष ढकालले रामेछापको ठोसेमा रहेको फलाम खानी उत्खनन्को काम अघि बढाउन तीनै तहका सरकारलाई आग्रह गरे । त्यसका लागि नीजि क्षेत्र पनि सहकार्य गर्न तयार रहेको उनको भनाई थियो ।
यसैबीच, मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेतले पनि उत्पादनमूलक व्यापार व्यवसायमा जोड दिनुपर्ने बताए । नगरप्रमुख बस्नेतले विदेशी मुलुकबाट आयातित सामान बिक्री गरेर मात्रै अघि बढ्न नसकिने भन्दै उत्पादनको क्षेत्रमा उद्योगी व्यवसायीहरुले ध्यान दिनुपर्ने बताए । उत्पादनका क्षेत्रमा लगानी गर्ने कुरामा नगरपालिका निजी क्षेत्रसँग सहकार्य गर्न सधैँ तयार रहेको पनि नगरप्रमुख बस्नेतले बताए । रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष केशव घिमिरेकाे अध्यक्षतामा कार्यक्रम भएको थियो ।

Share this

प्रतिकृया

Add