रामेछाप र दोलखामा धान उत्पादन घट्यो

 बुधबार, पुस ७, २०७८ | onlinenews

नवराव विश्वकर्मा


रामेछाप । यस वर्ष रामेछाप र दोलखा जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । रामेछापमा आर्थिक वर्ष २०७८÷०७९ मा धान उत्पादनमा ३५३ मेट्रिकटनले कमि आएको हो । गत आर्थिक वर्ष २६ हजार ९ सय ८६ मेट्रिकटन उत्पादन भएकोमा यस वर्ष २६ हजार ६ सय ३३ मेट्रिकटन  धान उत्पादन भएको कृषि ज्ञान केन्द्र रामेछापले जनाएको छ ।
ज्ञान केन्द्रका अनुसार जिल्लाको कुल भू–भागको ५० हजार ९ सय ८ हेक्टर जमिन कृषियोग्य छ । त्यसमध्ये आठ हजार ८ सय १९ हेक्टर क्षेत्रफल जमिनमा धान रोपाइँ हुन्छ । धान रोपाईँ हुने सबै भू–भागमा यस वर्ष धान रोपाइँ गरिएको केन्द्रले जानकारी दिएको छ । गत वर्ष प्रतिहेक्टर ३.०६ मेट्रिकटन धान उत्पाद भएकोमा यस वर्ष ३.०२ मेट्रिकटन धान उत्पादन भएको थियो ।
त्यस्तै दोलखा जिल्लामा पनि गत वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा कमी आएको छ । आर्थिक वर्ष २०७६÷०७७ मा जिल्लामा सात हजार ८ सय ६५ मेट्रिकटन धान उत्पादन भएकोमा यस वर्ष सात हजार ४ सय १५ मेट्रिकटन मात्रै धान उत्पादन भएको कृषि ज्ञान केन्द्र रामेछापले जनाएको छ ।
गत वर्ष उत्पादन भएको धानको तुलनामा यस वर्ष ४ सय ५० मेट्रिकटनले कमी आएको हो । गत वर्ष सात हजार ८ सय ६५ मेट्रिकटन धान उत्पादन भएकोमा यस वर्ष ७ हजार ४ सय १५ मेट्रिकटन मात्र उत्पादन भएको हो ।
दोलखा जिल्लामा कुल भू–भागको ५६ हजार ६ सय ८३ हेक्टर क्षेत्रफल जमिन कृषियोग्य छ । त्यसमध्ये तीन हजार दुई हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुन्छ । विगतमा धान रोपाईँ गरिँदै आएको सबै भू–भागमा रोपाइँ गरिएको थियो । नेटब्लास्ट रोग र हावाहुरी तथा बेमौसमी वर्षाका कारण यो वर्ष धान उत्पादनमा कमी आएको कृषि ज्ञान केन्द्र कार्यालय रामेछापकी प्रमुख निर्मला गुरुङले जानकारी दिइन ।

प्रतिकृया

Add