सुनकोसी तेश्रो आयोजनाको प्रभावबारे सुझाव पेश गर्न विभागको आग्रह

 मङ्लबार, पुस १३, २०७८ | onlinenews
Share this

नवराज विश्वकर्मा


रामेछाप । विद्युत विकास विभागले सुनकोशी तेस्रो जलविद्युत आयोजनाले पार्ने प्रभाव बारे लिखित सुझाव पेश गर्न सरोकारवालाहरुलाई आग्रह गरेको छ । विभागले सूचना प्रकाशित गरि प्राकृतिक, भौतिक, जैविक, सामाजिक, आर्थिक र साँस्कृतिक प्रणालीमा आयोजनाबाट पर्नसक्ने प्रभावको बारेमा लिखित राय÷सुझाव पेश गर्न विद्यालय, अस्पताल, स्वास्थ्य चौकी, डिभिजन वन कार्यालय, सामुदायिक वन उपभोक्ता समूह, स्थानीय सरोकारवाला व्यक्ति वा संस्थालाई विभागले यस्तो आग्रह गरेको हो ।
यही पौष १८ गतेसम्म विद्युत विकास विभागको इमेल ठेगाना [email protected] मार्फत सुझाव पठाउन सकिने जनाएको छ । सुनकोशी तेस्रो जलविद्युत आयोजना ६ सय ८३ मेगावाटको वातावरणीय प्रभाव मूल्याङ्कन गर्न लागिएको विभागले जनाएको छ ।
जलाशयमा आधारित सुनकोशी तेस्रो जलविद्युत आयोजना बागमती प्रदेशको रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जिल्लाहरुको सिमाना भएर बग्ने सुनकोशी नदी प्रस्ताव गरिएको छ । आयोजनाका लागि ५ सय ३८ मिटर लम्बाई र १ सय ८० मिटर उचाइको बाँध काभ्रेपलाञ्चोक जिल्लाको तेमाल गाउँपालिकाको वडा नं. ९ र रामेछापको खाँडादेवी गाउँपालिका वडा नं. १ को सिमाना लुभुघाट नजिक निर्माण गरिएको सूचनामा उल्लेख छ ।
बाँधबाट ०.५३ किलोमिटर लम्बाई र ९.५ मिटर व्यास भएको सुरुङ मार्गबाट काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका वडा नं. ९ भण्डारीबेसी नजिक विद्युत गृहमा पानी लगि विद्युत उत्पादन गर्ने प्रस्ताव जनाइएको छ । विद्युत उत्पादनपछि पानीलाई टेलरेसद्वारा पुनः सुनकोशी नदीमा खसालिने जनाइएको छ ।
आयोजनाबाट रामेछापको खाँडादेवी गाउँपालिका वडा नं. १, सुनापती गाउँपालिकाको वडा नं. १, ४, र ५ तथा सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिकाको वडा नं. १, २, ३, ४ र ५ प्रभावित हुनेछन् । यस्तै, सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाको वडा नं. १, २, ३ र ४, बेलफी गाउँपालिकाको वडा नं. ५, चौतारा साँगाचोकगढी नगरपालिकाको वडा नं. ९, १०, ११, १२ र १४, इन्द्रावती गाउँपालिकाको वडा नं. १०, ११ र १२ , मेलम्ची नगरपालिकाको वडा नं. १३ प्रभावित हुनेछन् । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाको वडा नं. ६, ७, ९, १० र १२, पाँचखाल नगरपालिकाको वडा नं. ८ र १३ , भुम्लु गाउँपालिकाको वडा नं. १, ६, ७, ८, ९ र १०, चौरी देउराली गाउँपालिकाको वडा नं. ६, ७ र ८, तेमाल गाउँपालिकाको १, २, ३, ४, ६, ७ र ९ प्रभावित हुने बताइएको छ ।

Share this

प्रतिकृया

Add