मन्थली साकोसलाई अब्बल बनाउँछुः घिमिरे

 शुक्रबार, पुस १६, २०७८ | onlinenews

सहकारी अभियान, सहकारी संस्थाको अवस्था, मन्थली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आगामी कार्यक्रम, उद्देश्य र सम्भावनाको बारेमा केन्द्रीत रहि सन्तोष ढुङ्गेलले मन्थली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गोविन्दप्रसाद घिमिरेसँग गरेको कुराकानीको सम्पादीत अंशः

मन्थली साकोसको अध्यक्ष हुँदा कस्तो अनुभूति भएको छ ?
महत्वपूर्ण संस्थाको नेतृत्व गर्न पाउँदा गौरव लागेको छ । सहकारीको धेरै चुनौतीहरुको बावजुद मन्थली साकोसलाई अब्बल बनाउन उत्साह मिलेको छ । चुनौती साथै अवसर पनि छ । त्यसकारण अध्यक्ष बन्न पाउँदा म खुसी छु ।
मन्थली बचतको २४ वर्षपछि नेतृत्व परिवर्तन भएरको छ । नेतृत्व परिवर्तनलाई कसरी लिनु भएको छ ?
पहिला विधानमा एकै ब्यक्ति जति वर्ष पनि अध्यक्ष हुनपाउँने ब्यवस्था थियो । अघिल्लो साधारण सभाबाट विधान संशोधन गरेर एकजना ब्यक्ति दुई कार्यकाल भन्दा बढी नेतृत्वमा बस्न नपाउँने ब्यवस्था गरेका छौँ । एक कार्यकाल ४ वर्षको हुनेछ । यसअघि विधान अनुसार नै एकैजना ब्यक्तिले लामो समय संस्थाको नेतृत्व गर्नु भएको हो । विधान संशोधन भएसँगै निवर्तमान अध्यक्ष ध्रुवप्रसाद सुवेदीको आग्रहमा म अध्यक्ष भएको हुँ ।
मन्थली बचतले प्रवाह गर्ने सेवालाई प्रभावकारी बनाउने योजना के छ ?
नेपाल सरकारले एक सहकारी एक ब्यक्तिको नीति लागू गर्दै छ । अहिले मन्थली बचतमा १४ हजार भन्दा बढी सदस्यहरु छन् । एक सहकारी एक ब्यक्तिको नीति लागू हुँदा हाम्रा सदस्य संख्या घट्न पनि सक्छन् । हामीले सबै सदस्यहरुलाई भनेजस्तो सुविधा पुुर्याउन नसकेको हुनसक्छ । मन्थली साकोस जिल्लाको जेठो संस्था भएको र मैले सहकारीमै डिप्लोमा गरेको हुनाले अहिलेको भन्दा चुस्त दुरुस्त बनाउछु भन्ने हिम्मत छ । छीमेकी मुलुक भारमा धेरै सहकारी संस्थाहरुको अध्ययन भ्रमण साथै मैले त्यही पढेँ । मलाई सहकारी सम्बन्धि धेरै अनुभवहरु छ । अहिलेको कार्यसमितिको टिम स्प्रिट पनि मिलेको छ । त्यसकारण अन्य सहकारी भन्दा फरक पहिचान बनाउन सफल हुन्छु भन्नेमा मलाई आत्मविश्वास छ ।
भाका नाघेका ऋण असुली गर्ने योजना के छ ?
चुनौतीको विषय नै भाका नाघेको ऋण छ । १७ प्रतिशत भाका नाघेको ऋण छ । हामीले एसियाली मापदण्डको एक्सेस ब्राण्ड प्राप्त गर्न लागिरहेका छौँ । एक्सेस ब्राण्ड प्राप्त गर्न भाका नाघेको ऋण ५ प्रतिशत भन्दा कम हुनुपर्छ । ऋण नियम अनुसार नै लगानी भएको छ । तर शहकारीले ऋणीहरुप्रति दया देखाएर कडाई नगर्दा भाका नाघेको ऋण १७ प्रतिशत पुगेको हो । मन्थली साकोसमा १४ हजार भन्दा बढी सदस्यहरु छन् । बचत गरेको पैसा १ अर्ब ११ करोड पुगिसक्यो । ऋणी मध्य ५० जनाजतिको धितो लिलामी गरेरै ऋण असुली गर्नुपर्ने अवस्था छ । लिलामीको लागि सूचना प्रकाशन भइसकेको छ । सूचना प्रकाश हुँदा पनि ऋण नतिरेमा ३५ दिने म्याद राखेर राष्ट्रिय पत्रिकामा सूचना प्रकाशन हुनेछ । ३५ दिने म्यादभित्र ऋण नतिरेमा ऋणीको तीनपुस्ते खुलाएर धितो राखिएको जग्गाको कित्ता नम्बर समेत खुलाएर पुनः ३५ दिने सूचना जारी हुनेछ । त्यो अवधिमा पनि ऋण नतिरेमा लिलामी प्रक्रियाबाट असुलउपर गर्ने गरि प्रक्रिया अघि बढिसकेको छ । धरौँटी अपुग भएमा ऋणीको तीन पुस्ताभित्रको जायजेथा रोक्का गर्नसक्ने अधिकार सहकारीलाई भएकाले सम्पत्ती डुब्ने अवस्था त छैन । तर हामीले अप्रिय निर्णय गर्नुपर्यो । हाम्रो उद्देश्य भनेको सहकारीका सदस्यहरुले ऋण लगून, ब्यवसाय गरुन र उन्नती गरुन भन्ने हो । उन्नती गर्ने सदस्यहरु पनि प्रसस्तै हुनुहुन्छ । तर केही ऋणीहरुलाई अप्रिय निर्णय गर्नुपरे पनि पछि नहट्ने संस्थाले निर्णय गरेको छ ।
२४ वर्षको यात्रमा मन्थली साकोसले कस्ता चुनौतीहरु सामना गर्नुपर्यो ?
२४ वर्षपहिले सन १९९७ मा सहकारी अध्ययनको लागि म भारत गएँ । सहकारीको उद्गम स्थल भारतको राजस्थान र गुजरातमा सहकारीको गहन अध्ययन गरे । नेपाल आइसकेपछि हामीले सल्लाह गरेर सहकारीको स्थापना गर्यौँ । मन्थली बचत स्थापना हुँदा रामेछापमा राष्ट्रिय बाणिज्य बैँक र कृषि विकास बैँक मात्रै थियो । कृषि विकास बैँकले आर्थिक कारोबार गर्दैनथियो । बाणिज्य बैँकले नितान्त सरकारी कारोबार गर्दथ्यो । हामीले सहकारी संस्था खोल्न साथ धेरै मानिसहरुले बैंकमा राखेको पैसा समेत ल्याएर सहकारीमा जम्मा गर्नुभयो ।


दिनको दुगुना रातको चारगुना भनेझै सहकारी बृद्धि भयो । अहिले मन्थली साकोसमा १ अर्ब ११ करोड रुपैयाँ छ । जनताले यति धेरै पैसा हाम्रो जिम्मामा दिएका छन् । जनताको सम्पत्तीको सुरक्षा गरेर जस्ताकोस्तै फिर्ता गर्ने जिम्मेवारी छ, हामीलाई । यो जिम्मेवारी सम्झदा कहिलेकही त निद्रा पनि लाग्दैन । अहिले सरकारी संस्थाहरु धेरै छन् । केही मान्छेहरु धेरै वटा सहकारीमा सदस्य हुने र सदस्य भएको सबै संस्थाबाट ऋण लिने गरेका छन् । त्यसकारण ऋण असुली गर्नु अहिले पनि चुनौती छ । यो अवस्थाको नियन्त्रण गर्न सरकारले एक ब्यक्ति एक सहकारीको नीति ल्याएको हो ।
द्वन्द कालमा पनि धेरै माओवादी साथीहरु मन्थली बचतको सदस्य हुनुहुन्थ्यो । हामीले अस्पतालबाट सेवा सुविधा बढाएको हुनाले पनि हाम्रो सदस्यहरु बढेका छन् । एक लाखको दुर्घटना विमा गरेका छौँ । किरिया खर्च भनेर २० हजार रुपैयाँ दिएका छौँ । यसकारण पनि मन्थली बचतप्रति आकर्षण बढेको छ । काम गरेपछि अप्ठ्यारा र किठीनाई आउनु स्वाभाविक छ । २४ वर्षको बीचमा धेरै आरोह अवरोहहरु आए । तर अहिलेसम्म धेरै अप्ठ्यारो परेको भने छैन । आगामी दिनमा थप नयाँ काम सहित अगाडि बढ्ने योजना छ ।

२४ वर्षसम्म एउटै ब्यक्तिले संस्थाको नेतृत्व गरिरहँदा नेतृत्व परिवर्तनको कुरा उठेन ?
१० वर्ष पहिले नै नेतृत्व परिवर्तनको कुरा उठेको थियो । त्यसबेला संस्थाको संरक्षक जगदीश घिमिरे हुनुहुन्थ्यो । अहिलेको निवर्तमान अध्यक्षले नै नेतृत्व परिवर्तनको कुरा उठाउनु भएको थियो । तर, जगदीश घिमिरेले संस्थाको नेतृत्व परिवर्तन गर्न दिनुभएन । त्यसपछि निवर्तमान अध्यक्षले नै निरन्तर नेतृत्व गर्दै आउनुभयो । निवर्तमान अध्यक्ष नेतृत्वमा रहुन्जेल बैठक भत्ता समेत लिन मान्नु भएन । मन्थली बचतको कलम समेत प्रयोग गर्दिन भन्नु भएको थियो । अध्यक्ष भए पनि संस्थामा उहाँको हस्तक्षेपकारी भूमिका थिएन ।
मन्थली साकोसको आगामी कार्यनीति तथा रणनीतिहरु के छन् ?
दुई वर्ष अघि नै हामीले ४ वर्षे रणनीतिक योजना तय गरिसकेका छौँ । यो वर्ष ५ हजार शेयर सदस्यहरु थप गर्ने, कार्यक्षेत्र विस्तार गर्ने, सदस्य सन्तुष्टि फारम भर्ने, कर्मचारीको क्षमता अभिबृद्ध गर्ने लगायतका कार्यक्रमहरु छन् । यस वर्ष मन्थली नगरपालिकाका सबै वडाहरुलाई कार्यक्षेत्र बनायौँ । आगामी वर्ष रामेछाप नगरपालिकाका सहकारीको कार्यक्षेत्रमा नसमेटिएका ४ वटा वडाहरुमा कार्यक्षेत्र विस्तार गरिने छ । सदस्यहरुलाई उद्योग ब्यवसाय मार्फत आयआम्दानी तर्फ प्रोत्साहन गर्ने र आगमी ४ वर्षभित्र २ अर्ब ५० करोड रुपैयाँ सम्पत्ती पुुर्याउने लक्ष्य छ ।
सहकारी संस्थाहरु किसानमुखी भएनन् भन्ने गुनासाहरु आइरहेका छन् मन्थली साकोसको किसानमुखी कार्यक्रम के छ ?
एक्सेस ब्राण्डमा जानको लागि ८६ वटा सुचकहरु हुन्छन् । ८६ वटा सुचकहरु पूरा गरेर भाका नाघेको ऋणलाई ५ प्रतिशतमा झारेपछि एक्सेस ब्राण्ड प्राप्त हुन्छ । ८६ वटा सूचक मध्य महत्वपूर्ण सूचक आफ्ना सदस्यहरुलाई कृषि मार्फत आयआर्जमुखी बनाउने छ । पहिला धेरैजसो ऋण बैदेशिक रोजगारीमा जानेहरुलाई लगानी पुर्यौँ । एकचरण मन्थली बचतबाट ऋण लिएर ४ सय मानिस वैदेशिक रोजगारीमा गए । केहीले विदेशबाट पैसा पठाए तिर्नुभयो तर केहीले अझै तिर्नु भएको छैन । पछिल्लो समय वैदेशिक रोजगारीमा जानेलाई ऋण दिन कम गरेका छौँ । विदेश जानेलाई ऋण दिएर गाउँघर सुन्ने पार्ने हैन, कृषिमा लगानी गर्नुपर्छ भनेर धेरैजसो ऋण कृषिमा लगानी गरेका छौँ । रामेछाप नगरपालिकाको बिटारमा रहेको पोल्टिफार्मलाई १ करोड ४५ लाखसम्म ऋण लगानी गर्यौँ । त्यस्तै गाई, बाख्रा, बंगुर फार्म र तरकारी खेतीमा पनि लगानी गरेका छौँ । कृषिबाट आयआर्ज बढाउने उद्देश्यले सदस्यहरुलाई कृषितर्फ प्रोत्साहन गरिरहेका छौँ ।
मन्थली बचतले कति वटा सेवा केन्द्र सञ्चालन गरेको छ र कति पुुर्याउने लक्ष्य छ ?
रणनीतिक योजना अनुसार ४ वर्षमा १० वटा सेवा केन्द्र पुुर्याउनने लक्ष्य छ । अहिले पुरानो सदरमुकाम रामेछाप डाँडामा एउटा छ । त्यस्तै गेलुको सावाडाँडा र धोबीमा छ । आगामी चैत्र मसान्तसम्म थप तीनवटा सेवा केन्द्र सञ्चालनमा ल्याउने छौँ । बचत गर्न घरदैलोमै सेवा दिने गरि कार्यक्रम बनाउँदै छौँ । मन्थली बचतको एप्स सञ्चालन गरेर सदस्यहरुले रिचार्ज गर्न, विद्युत र टोलीफोनको महशुल घरबाटै तिर्नसक्ने ब्यवस्था पनि मिलाउँदै छौँ ।
संस्थाका सदस्यहरुलाई भन्नुपर्ने केही छ ?
सहकारी आजभन्दा १७५ वर्ष पहिले बेलायतबाट सुरु भएको हो । ६६ वर्ष पहिले नेपालमा सुरुभयो । २०१३ सालदेखि विस्तार भयो । २०४६ सालमा प्रजातन्त्र प्राप्तिपछि सहकारीले गति लिएको हो । गणतन्त्र नेपाल भइसकेपछि नेपाल सरकारले तीनखम्बे नीति अन्तर्गत एक खम्बाको रुपमा सहकारीलाई राख्यो । मन्थली बचत तथा ऋण सहकारी संस्थामा अहिले १४ हजार भन्दा बढी सदस्यहरु हुनुहुन्छ । एक अर्ब ११ करोड भन्दा बढी पैसा छ । जनताको सम्पत्तीको सुरक्षा कसरी गर्ने, जनालाई विश्वसा कसरी दिलाउने भन्ने हाम्रो भावना रहेको छ । निश्चिन्त भएर मन्थली बचत तथा ऋण सहकारी संस्था आउँनुस् । संस्थाले दिने सेवा सुविधामा कुनै कमी हुने छैन । सेवा सुविधा अझ थप्नेछौँ । स्वास्थ्य, विमा र कृषि क्षेत्रमा काम गरेर विश्वास दिलाउनेछौँ । सम्पूर्ण सदस्य र शुभचिन्तकहरुमा एकतावद्ध हुनु अनुरोध गर्न चाहन्छु ।

प्रतिकृया

Add