तेस्रो मन्थली मेयर कप पुरूष भलिबल प्रतियोगिता शुरू

 शुक्रबार, पुस २३, २०७८ | onlinenews

नवराज विश्वकर्मा


रामेछाप । तस्रो मन्थली मेयर कप पुरूष भलिबल प्रतियोगिता शुरू भएको छ । खेलको पहिलो दिन आज नौ खेल भएका छन् । भलिबल प्रतियोगिता लिगकम नकआउटको आधारमा खेलाइने छ । पहिले चरणको खेलमा मन्थली नगरपालिका वडा नम्बर २ र वडा नम्बर ४ सालुबीच प्रतिस्पर्धा भएको थियो । जसमा वडा नम्बर ४ सालुले जित हात पारेको छ । यस्तै वडा नम्बर ५ सुनारपानी र वडा नम्बर १४ फुलासीबीच भएको खेलमा फुलासीले जितेको छ भने मन्थली नगरपालिका–६ भलुवाजोर र वडा नम्बर ९ पुरानागाँउबीच भएको प्रतिस्पर्धामा भलुवाजोरले जित हासिल गरेको छ ।
यस्तै वडा नम्बर ३ कठजोर र वडा नम्बर ११ गेलु नाटिलाबीच भएको खेलमा गेलु नाटिलाले जितेको छ । आज नै भएको वडा नम्बर ७ भटौली र वडा नम्बर १० चनखुबीचको खेलमा भटौलीले जितेको छ । यसैगरी मन्थली १ मन्थली र वडा नम्बर १३ फुलासीको बीचमा भएको प्रतिस्पर्धामा मन्थली १ ले जितेको छ ।
दोस्रो सेटको भलिबल प्रतियोगितामा मन्थली–४ सालु र वडा नम्बर ५ सुनारपानीबीच भएको खेलमा सालुले जित हासिल गरेको छ । दोस्रो सेट अन्तर्गत मन्थली–२ कठजोर र मन्थली–१४ फुलासीबीचको खेलमा फुलासीले जित निकालेको छ । मन्थली–९ पुरानागाँउ र मन्थली– ११ गेलु नाटिलाबीच भएको प्रतिस्पर्धामा गेलु नाटिलाले जित हासिल गरेको छ । यो प्रतियोगितामा मन्थली नगरपालिका–१४ वटा वडाका खेलाडीहरूको सहभागिता रहेको छ । प्रतियोगिता पुस २५ गते सकिने आयोजक मन्थली नगर खेलकुद विकास समितिले जनाएको छ । खेलको उद्घाटन मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेत गरेका थिए ।

प्रतिकृया

Add