विद्यालय बन्द, २५ जना बढी भेला हुन नपाइने

 बिहिबार, पुस २९, २०७८ | onlinenews
Share this

नवराज विश्वकर्मा


रामेछाप । जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र रामेछापले बिहीबारबाट लागू हुने गरि सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन तथा मेला, महोत्सव र भेला सञ्चालनमा रोक लगाएको छ । राजनीतिक, प्रशासनिक, सामाजिक र साँस्कृति कार्यक्रमहरु गर्न÷गराउन रोक लगाएको हो । अत्यावश्यक र नियमित कार्यको लागि स्थानीय प्रशासनको अनुमतिमा स्वास्थ्य मापदण्डको पूर्णपालना गराउने बैठकले निर्णय गरेको छ । आगामी माघ ७ गतेदेखि सार्वजनिक स्थलहरु कार्यालय, होटल, रेष्टुरेण्ट तथा पार्क लगायतका क्षेत्रमा प्रवेश गर्न कोरोना विरुद्धको खोप लगाएको कार्ड देखाउनु पर्नेछ । माघ १५ गतेसम्म भौतिम उपस्थितिमा हुने पठनपानमा समेत रोक लगाएको छ । शैक्षिक प्रतिष्ठानको पूर्व निर्धारित सेमेष्टर र परीक्षा पूर्ण स्वास्थ्य मापदण्ड पालना गरि सञ्चालन गर्न आदेश दिइएको छ । कोभिड–१९ को परीक्षणको दायरा बढाउन र नियमित खोप केन्द्रहरुमा खोपलाई अभियानकै रुपमा अघि बढाउन स्वास्थ्य कार्यालय र स्थानीय प्रशासनको समन्वयमा आवश्यक व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालय रामेछाप आग्रह गरेको छ । आगामी माघ ६ गतेदेखि १० गतेसम्म १२–१७ वर्ष उमेर समूहका बालबालिकाहरुलाई अभियानको रुपमा दोस्रो चरणको माडर्ना खोप लगाउने र माघ १३ देखि १७ गतेसम्म एस्ट्राजेनिका खोपको दोस्रो मात्रा लगाउने व्यवस्था मिलाउन स्वास्थ्य कार्यालयलाई आग्रह गरिएको छ । स्थानीय तहसँग समन्वयमा सार्वजनिक स्थानहरुमा निःशुल्क एन्टिजेन टेस्ट बुथहरु स्थापना गरी नियमित परीक्षण गर्ने÷गराउने व्यवस्था स्वास्थ्य कार्यालयले मिलाउनु पर्नेछ । साथै, जिल्लाभित्र रहेका सरकारी, निजी स्वास्थ्य संस्था र स्थानीय तहले विगतमा सञ्चालन गरेका कोभिड–१९ उपचार केन्द्र तथा आइसोलेसन केन्द्रलाई सुदृढ गरी सञ्चालनका लागि तयारी अवस्थामा राख्ने निर्णय गरेको छ । अक्सिजनको आपूर्ति सहज बनाउन कोरोना भाइरसको दोस्रो लहरको समयमा प्रयोगमा आएका अक्सिजन सिलिण्डरहरु यथाशिघ्र सम्बन्धित अस्पताल, उद्योग वा स्थानीय तहलाई बुझाउनु पर्ने निर्णय गरिएको छ । सार्वजनिक सवारी साधनमा सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन । यात्रुहरुले अनिवार्य मास्क लगाउनु पर्ने र सवारी साधनको ढोकमा स्यानीटाइजरको व्यवस्था गर्नुपर्ने छ । मास्क नगलगाउने यात्रुलाई प्रवेशमा रोक लगाइने, चालक र सह–चालकले अनिवार्य मास्क, स्यानीटाइजर, भाइजर र पञ्जा लगाउने साथै सवारी साधन दैनिक स्यानीटाइजर गरेर मात्रै सञ्चालन गर्नुपर्ने छ ।

Share this

प्रतिकृया

Add