नारी देवीको अवतार कि स्वार्थको सिकार

 बिहिबार, फाल्गुन ५, २०७८ | onlinenews
Share this

आश्मा नराल


मनुष्मृतिले भनेका छन्, जहाँ नारीको सम्मान हुन्छ त्यहाँ देवता पनि खुशी हुन्छन् । संसारमा सृष्टिको सुरुवात भएसँगै पुरुष र महिला दुबैको उत्तिकै भूमिका रहेको पाइन्छ । मानव सभ्यताको विकासक्रम हेर्ने हो भने नारी गृहको गहना बनेर पुरुषको सेवक भएको देखिन्छ । ढुङ्गे युगमा पनि पुरुष जाति शिकार गर्न जाने र नारी जातीले परिवारको संरक्षक बनेर रेखदेख गरेको पाइन्छ जुन आज पनि विद्यमान छ । अझ भन्ने हो भने अग्नीको उत्पत्ति पनि महिलाहरुले नै गरेका हुन रे भन्ने किम्बदन्ती सुन्न पाइन्छ ।
मानव सभ्यताको विकाससँगै मानिसमा विकास भएको चेतनाले परिमार्जित मानव र सु–संस्कृत मानवमा परिणत भएको छ । मानिसमा जति चेतनाको विकास भएको छ त्यतिनै मानवीय मूल्य र मान्यता भुल्दै गएका छन् । म को हुँ ? मैले निर्वाह गर्ने धर्म के हो ? भन्ने कुरा समेत बिर्सदा मानिसले ठूलो मूल्य चुकाउनु परेको छ । विश्वमा जति ठूला–ठूला युद्धहरु भए त्यो सबै नारीकै कारण भएका छन् । द्रौपतीको कारणले महाभारत, कैकेयीको कारणले रामायणको युद्ध भएको देखिन्छ ।
नारि एउटा सृष्टिकर्ता मात्र नभएर सहनसिलताको प्रतिमुर्ति पनि हुन । नारी, एउटी छोरी हुन् कसैको दिदी बहिनी हुन, कसैको श्रीमती हुन, कसैको बुहारी हुन त कसैको आमा हुन् । सबैलाई आमा चाहिन्छ, दिदीबहिनी चाहिन्छ श्रीमति चाहिन्छ तर पनि छोरी जन्मिएको सुन्दा परिवारले नाक खुम्च्याउने परम्परा अझै पनि छदैछ । गर्भमा भएको छोरिको हत्या हुन्छ अझै पनि, कहिले बुझ्छ यो समाजले माथि उल्लेखित सबै कुरा छोरीबाट मात्र प्राप्त हुन्छ भनेर ।
नारीलाई आरक्षण होइन समान अवसरको खाँचो छ । बन्धन होइन स्वतन्त्रताको खाचो छ । बढ्दो हत्या हिंसा थिचोमिचो, बलात्कारजस्ता आपराधिक घटनाहरुका कारण नारीले आफू निर्धक्क भएर हिडडुल गर्न त परको कुरा खुलेर मुस्कुराउन समेत सकिरहेकी छैन ।
अझ नारिलाई समाजले दोश्रो दर्जाको नागरिकको रुपमा हेर्ने गलत नजरका कारण उनिहरुले आफ्नो आवाज सम्बन्धित ठाउँमा पुर्याउन समेत सकिरहेका छैनन । नारिलाई आरक्षण होइन समान ब्यबहारको खाचो छ, जोबिना एउटा असल समाजको परिकल्पना समेत गर्न सकिन्न ।
नारीलाई देवता झैँ पुज्ने समाज पनि नभएको हैन तर धेरै समाजले नारीलाई दोश्रो दर्जाको नागरिकको रुपमा चित्रण गर्दै चुलो चौकोमा मात्र सीमित गरेका छन् । खुलेर कोहिसंँग बोल्दा बाइफाले चोथाले जस्ता उपमा नारीले पाउँछन् । यो कुसंस्कृति नेपाली समाजमा अझै विद्यमान छ । कोहि पुरुषले सम्झेका छौ त्यो नारी नभए तिमीहरूको सृष्टि र बंशज विकास हुन्छ भनेर ? यदि बुझेका थियौ भने महिला हिंसा विरुद्ध १६ दिने अभियान चलाउनै पर्दैन थियो । यस्ता अनगिन्ती अनुत्तरित प्रश्न आम नारीको छ । पितृसत्तात्मक मुलुकको अन्त्य कहिले हुन्छ ? आम नारी खुल्ला आकाशमा कहिले रमाउन पाउँछे ? नारीलाई देवी सरस्वतीको अवतार मान्नेकी स्वार्थको सिकार ? अब समाजको चेतना खुल्नु पर्छ । नारी अधिकार र मुक्तिका लागि ज्वारभाटा अनि ज्वालामुखी बन्नु पर्छ । यसो भन्दै गर्दा अधिकार माग्ने हैन नारी कर्तव्य बोध पनि गर्न सिक्नुपर्छ । कयौँ पुरुष पनि त महिलाको हिंसाको सिकार बनेका छन् । २१औँ शताब्दीको हाम्रो समाजमा महिला पुरुष एक रथका दुई पांग्रा हुन् । दुई बिना न सृष्टि चल्छ नत बंशोध्दार नै हुन्छ । नारीलाई राज्यका हरेक अङ्गमा समान सहभागिता गराएर अवसर प्रदान गर्नुपर्छ । तब मात्र नारीभित्र दविएको र गुम्सिएको आवाज निस्कन्छ । सृष्टिको सुन्दर बगैंचाकी माली हुन् नारी । जसको घरमा शिक्षित नारी हुन्छे त्यो घर समाज पुरैलाई शिक्षित गराउन सक्छे । नारीलाई घृणा हैन अवसरको खाँचो छ । पैसामा नारीको अस्तित्व किन्ने हैन खुल्ला समाजमा बोल्न देउ । नारीको क्षमता प्रस्तुत गर्न देउ, तबमात्र समुन्नत समाज, शिक्षित समाज र परिस्कृत समाज निर्माण हुन सक्छ । सबैमा चेतना भया ।। अन्त्यमा नारी प्रेमको प्रतिमुर्ति, सृष्टिकर्ता मात्र नभै समाजको एउटा बलियो खम्बा पनि हो । जसबिना हामी असल समाजको परिकल्पनासम्म पनि गर्न सक्दैनौ । सर्बे भवन्तु शुखिना, सर्बे सन्तु निरामया, सर्बे भद्राणी पश्यान्तु याक्स्चिद दुखाभाव भवेत् ।। सृष्टिकी फुलबारी जय नारी ।।

Share this

प्रतिकृया

Add