पुरातात्विक सम्पदा अतिक्रमण रोक्न स्थानीयको संक्रियता

 बिहिबार, फाल्गुन ५, २०७८ | onlinenews
Share this

सन्तोष ढुङ्गेल


रामेछाप । जिल्लाको मन्थली नगरपालिका वडा नं ८ गाईखुरामा रहेको पुरातात्विक एवं ऐतिहासिक नर्मदेश्वर महादेव मन्दिरको नाममा रहेको जग्गा अतिक्रमण गरि सडक निर्माण गरेको भन्दै स्थानीय बासिन्दा अतिक्रमणको विरुद्धमा उत्रिएका छन् । मन्दिरको नाममा रहेको जग्गाबाट स्थानीयले आफ्नो जग्गासम्म सडक निर्माण गरेपछि स्थानीय सार्वजनिक सम्पत्ति अतिक्रमणको विरुद्धमा उत्रिएका हुन् ।
रामेछापको मन्थली नगरपालिका–८ गाईखुरामा रहेको दुई सय वर्ष भन्दा बढी पुरानो नर्मदेश्वर महादेव मन्दिरको नाममा फिल्ड नक्सा कायम रहेको १ रोपनी ३ आना ३ पैसा ३ दाम क्षेत्रफल जग्गामा त्यहाँका केही स्थानीयले सडक निर्माण गरेपछि विवाद भएको हो । मन्दिरसँगै रहेको नर्मदेश्वर सतलपाटीसँगै रहेको जग्गामा सडकपुर्याउने भन्दै जग्गा धनीले डोजर लगाएपछि स्थानीयहरु आक्रोशित भएका हुन् । ब्यक्ति स्वार्थका लागि स्थानीय बुद्धिजीवी भन्नेले नै पुरातात्विक सम्पदाको अतिक्रमण गरेको उनीहरुको आरोप छ । तत्काल मन्दिर परिसरको जग्गामा भएको अतिक्रम नरोके कानुनी प्रक्रिया अगाडि बढाउने स्थानीय सानुबाबु पुरीले बताए ।

गाउँका बुद्धिजीवी भन्नेहरूले नै सम्पदाको अतिक्रमण गरेको पुरीको दाबी छ । सम्पदा संरक्षण गर्नुको साटो उल्टै अतिक्रमण गरेर घृणित काम गरेको स्थानीय अगुवा बालकृष्ण माझीको बताए । मन्दिर परिसरको जग्गाबाट ब्यक्तिगत स्वार्थपूर्तिका लागि कुनैपनि संरचना निर्माण गर्न नदिने पनि माझीको भनाई छ । एकाथरी स्थानीयले भने मन्दिर पछाडी आपूmहरुको जग्गा रहेको र निकास नभएकाले सडक बिस्तार गरेको बताएका छन् । आफ्नो जग्गामा बाटो पुर्याएर जग्गा बिक्री गर्ने योजना उनीहरुको रहेको छ । ब्यक्तिगत रिसइबीका कारण सडक विस्तार गर्दा केही मानिसले बिरोध गरेको जग्गा धनी देविलाल पुरीले बताए ।
आफूले जग्गा बेच्न लागेको र जग्गा किन्ने मानिसले मोटर बाटो चाहिन्छ भनेपछि डोजर लगाएर सडक निर्माण गरेको देविलाले बताए । स्थानीय सरकार र सरोकारवालासँग सहमति नै नगरी सडक निर्माण गरेको भन्दै निर्माण कार्य रोक्न आदेश दिएको मन्थली नगरपालिकाले जनाएको छ । समुदायको सहमति नगरी जबर्जस्त कालोपत्रे सडकको संरचना डोजर लगाएर भत्काइएकाले भत्काएको संरचना पनि अतिक्रमण गर्नेले निर्माण गर्नु पर्ने मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेतले बताए ।

Share this

प्रतिकृया

Add