चुनावि खर्च कम गर्नुपर्ने सरोकारवालाको सुझाव

 बिहिबार, फाल्गुन ५, २०७८ | onlinenews
Share this

नवराज विश्वकर्मा


रामेछाप । निर्वाचन आचारसंहिताको कार्यान्वयन र चुनावी प्रचार प्रसारमा हुने खर्चलाई कम गर्नुुपर्ने रामेछापका सरोकारवालाहरुले बताएका छन् । जिल्ला निर्वाचन कार्यालय रामेछापद्वारा आयोजित ‘निर्वाचन सञ्चालन तथा व्यवस्थापनमा सरोकारवालाहरुको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउने हो भने निर्वाचन सम्बन्धी आचारसंहिताको कार्यान्वयन र राजनीतिक दल तथा दलका उम्मेदवारहरुले गर्ने चुनावी प्रचारप्रसार खर्चमा कडाई गर्नुपर्ने बताएका हुन् ।

नेकपा एमाले रामेछापका अध्यक्ष आनन्द श्रेष्ठले स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउन सबै राजनीतिक दलहरु लाग्नुपर्ने बताए । उनले कम खर्चमा निर्वाचन गराउने कुरामा पहल भए पनि हालसम्म सफल हुन नसकेएको उल्लेख गर्दै आगामी दिनमा कम खर्चमा निर्वाचन गराउने विषयमा सबै राजनीतिक दलहरुले भूमिका खेल्नुपर्ने बताए ।

सरकारले नचाहे तोकिएको समयमा निर्वाचन गर्न नसकिने अवस्थालाई अन्त्य गरी सयम अवधि पुगेपछि निर्वाचन आयोग स्वयमले आवधिक निर्वाचन गराउन सक्ने व्यवस्था गरिनुपर्ने बताए । नेकपा माओवादी केन्द्र रामेछापका एक नेताले निर्वाचन आचारसंहितालाई अक्षरशः कार्यान्वयन गर्नुपर्ने बताउँदै त्यसो गर्न नसकेमा भ्रष्टाचार बढ्ने र जनप्रतिनिधिहरुमा भ्रष्टीकरण प्रवृत्ति मौलाउँदै जाने बताए ।
यसैगरी, नागरिक अभियान्ता विचारसंह दोङले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउने हो भने निर्वाचन आचारसंहिता उल्लंघन गर्ने दल र सम्बन्धित दलको उम्मेदवारलाई निर्वाचनमा सहभागी हुन नपाउने नीति बनाउनुपर्ने बताए ।
निर्वाचको समयमा राजनीति दल र सम्बन्धित दलका उम्मेदवारले गर्ने खर्च कम गर्ने हो भने चुनावी प्रचारप्रसार अवधिलाई छोट्याउनुपर्ने सहभागिहरुको भनाई थियो ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्काले सबै दलहरुले पैसावाला व्यक्तिलाई मात्रै टिकट दिने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताए । त्यसो गर्न सकिएमा चुनावको समयमा राजनीतिक दलहरुले गर्ने खर्चलाई कम गर्न सकिने उनको धारणा थियो । अन्तरक्रिया कार्यक्रमका अध्यक्ष तथा रामेछापका प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडीले चुनावी खर्च प्रणाली बढ्नु लोकतन्त्र र प्रजातन्त्रको लागि घातक हुने बताए । व्यक्ति मात्र नभई आफ्नो पार्टीको उम्मेदवारलाई जिताउने अभियानमा सम्बन्धित पार्टीका नेता तथा कार्यकर्ता लागेमा चुनावी खर्चलाई कम गर्न सकिने प्रजिअ पहाडीको भनाई थियो । प्रजिअ पहाडीले सबै राजनीतिक दल, प्रशासन र नागरिकहरुले निर्वाचन आचारसंहिता पालना गर्नुपर्नेमा जोड दिए ।

Share this

प्रतिकृया

Add