सत्ता साझेदार दललाई चुनावी गठबन्धन सकस

काँग्रेसले पाँच वटा पालिका नपाए गठबन्धन हुँदैन: तामाङ

 सोमवार, बैशाख ५, २०७९ | onlinenews

नवराज विश्वकर्मा


रामेछाप । रामेछाप जिल्लामा सत्ता साझेदार दलहरुलाई चुनावि गठबन्धनको सहमति जुटाउन सकस भएको छ । जिल्लामा सत्ता साझेदार दलहरुबीच चुनावि गठबन्धनको विषयमा पटक–पटक छलफल हुँदा पनि भागबण्डामा कुरा नमिल्दा सहमति जुटाउन सकस भएको हो । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीको बीचमा चुनावि गठबन्धनबारे छलफल हुँदा पनि भागबण्डमा सहमति जुट्न नसकेको हो । केन्द्रीय नीति अनुसार नै जिल्लामा अघि बढ्न सहमति भएपनि वडा तथा पालिका भागबण्डाको बारेमा सहमति जुट्न सकेको छैन ।
स्रोतका अनुसार आ–आफ्ना माग दाबीसहितका पत्रहरु उनीहरुबीच आदानप्रदान भइरहेको छ तर सबै दल आफ्नो दाबीबाट पछि नहटेपछि रामेछापमा चुनावी तालमेलको विषय निकै पेचिलो भन्दै गएको छ । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले पाँच वटा स्थानीय तहमा आफूहरुले चुनाव लड्न पाउनुपर्ने माग दाबीसहितको पत्र पठाएको नेपाली काँग्रेस रामेछापका सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) ले जानकारी दिए ।
काँग्रेसले पनि पाँच स्थानी तह आफूहरुले पाउनुपर्ने माग दाबीसहितको पत्र पठाएको जिल्ला सभापति तामाङले बताए । माओवादी केन्द्रले तीन र एकीकृत समाजवादीले दुई स्थानीय तहको माग गरेको सभापति तामाङले बताए । नेपाली काँग्रेसले पाँच स्थानीय तह नपाए गठबन्धन हुन नसक्ने समेत सभापति तामाङले बताए । कम्युनिष्टको झोला बोकेर उनीहरुलाई चुनाव जिताउन नसकिने तामाङको भनाई छ ।
रामेछाप काँग्रेस एक्लै चुनाव लड्दा पनि काँग्रेसको जितलाई कसैले रोक्न नसक्ने दावि गरे । अघिल्लो निर्वाचनमा रामेछापमा आपूm एक्लै चुनाव लड्दा ३५ हजार ७ सय ७१ मत ल्याउन सफल भएको र एमाले र माओवादी केन्द्रले गठबन्धन गरेर लड्दा पनि ४२ हजार १ सय १७ मत मात्रै भएको भन्दै मतको हिसाबले आफूहरु धेरै अघि रहेकोले स्थानीय तहको निर्वाचनमा एक्लै लड्दा पनि काँग्रेसले चुनावी जित्ने बताए ।
माओवादी केन्द्र र नेकपा एसले अघिल्लो स्थानीय तहको निर्वाचनमा २३ सिट जितेको पहिलो पार्टी भनेर दावी गरिरहेको छ, सिट परिणामका आधारमा उनीहरुले आफूलाई पहिलो पार्टीको भएको दाबी गर्न नमिल्ने कान्छारामको तर्क छ । निर्वाचनमा सिटभन्दा मत प्रधान हुने बताउँदै २०७४ को स्थानीय निर्वाचनमा उनीहरुले २४ हजार काँग्रेसले २७ हजार मत ल्याएकोले मतको आधारमा काँग्रेस नै ठूलो पार्टी भएको तामाङको भनाई छ । माओवादी केन्द्र र एकीकृत समाजवादी तीन स्थानीय तह लिन सहमत भएमा गठबन्धन हुने तर त्यसो हुन नसकेमा गठबन्धन अघि बढ्न नसक्ने तामाङ दोहोर्याए । वैशाख ६ गते बिहानसम्म माओवादी र एकीकृत समाजवादीले निकास निकाल्न नसकेमा दिउँसो १२ पछि पत्रकार सम्मेलन गरेर काँग्रेस एक्लै चुनाव लड्ने गरी उम्मेदवारी घोषणा गर्ने पनि उनले जानकारी दिए ।
यसैबीच, नेकपा माओवादी केन्द्रले पनि काँग्रेसले पाँच स्थानीय तह माग गरेर पत्रचार गरेको बताएको छ । त्यस विषयमा आफूहरु आन्तरिक छलफलमा जुटिरहेको माओवादी केन्द्रका नेता मदन कालिकोटेले बताए । नेकपा एसका केन्द्रीय सदस्य देवशङकर पौडेलले पनि चुनावी तालमेलबारे आफूहरु आन्तरिक छलफलमै रहेको बताएका छन् । चुनावी तालमेलबारे दत्ता साझेदार दलहरुबीच औपचारिक छलफल नभएको बताए । अहिले दिने र लिने कोही नभएको बताउँदै आपसी सहमतिमा छलफलमार्फत सबै कुरा टुङग्याएर अघि बढ्ने पौडेलको भनाई छ ।

प्रतिकृया

Add