मन्थली नगरपालिका–९ का अध्यक्ष पुलामीको पाँच वर्षे कार्यकाल सफल

 शुक्रबार, बैशाख ९, २०७९ | onlinenews

रामेछाप । देश संघीयतमा गएपछि २०७४ सालमा संघीय संरचना अनुसार स्थानीय तहको पहिलो निर्वाचन भयो । देश संघीय गणतन्त्र नेपाल बनेपछि स्थानीय तह अन्तर्गत पहिलो जनप्रतिनिधिहरुको पाँच वर्षे कार्यकाल सकिएको छ । पहिलो जनप्रतिनिधिहरुको पाँच वर्षे कार्यकाल सकिएर स्थानीय तहको निर्वाचनको मिति समेत नजिकिदै गर्दा स्थानीय जनप्रतिनिधिले पाँच वर्षमा गरेका कामहरुको बारेमा जनस्तरमा समीक्षा हुन थालेको छ । स्थानीय जनप्रतिनिधिहरुले गरेका कामहरुको बारेमा जनस्तरमा समीक्षा भइरहेको बेला मन्थली नगरपालिका वडा नं. ९ पुरानागाउँका स्थानीबासीले वडाले पाँच वर्षमा गरेको कामप्रति सकारात्मक टिप्पनी गरेका छन् । आसन्न निर्वाचनको मिति नजिकिदै गर्दा स्थानीयबासीले वडा अध्यक्ष बुद्धिबहादुर पुलामी मगर (भरत) ले पहिलो कार्यकालमा राम्रो काम गरेको भन्दै स्थानीय नागरिकहरुले बजागाजा सहित फुलमालाले सम्मान गरेका छन् ।

मन्थली नगरपालिका वडा नं. ९ पुरानागाउँमा बुद्धिबहादुर पुलामी मगर निर्वाचित भएपछि पाँच वर्षमा गरेका मुख्य कामहरुः

सडक

बुद्धिबहादुर पुलामी मगर (भरत) वडा अध्यक्ष निर्वाचित भएर आएरपछि वडाको टोलटोलमा कृषि सडकहरु विस्तार भएको छ । उनी वडा अध्यक्षमा निर्वाचित हुनु पहले पुरानागाउँमा सडकको चौडा सानो भएको कारण नियमित यातायात सञ्चालन हुन सकेको थिएन । पाँच वर्षको अवधिमा मुख्य सडकहरुको चौलाई बढाई ६ मिटरको बनाएपछि अहिले नियमित यातायता सञ्चालन भइरहेको छ । भूकम्पपछिको पुनर्निर्माणको लागि निर्माण सामग्री ढुवानी गर्न टोलटोलमा सडक विस्तार गरि निर्माण सामग्री घरघरमै पुर्याइएको थियो । वडाको पहलमा निर्माण गरिएका कृषि सडकहरुमा हलुका सावारी साधन नियमित सञ्चालन हुँदै आएको छ भने टोलटोलमा एम्बुलेन्स लैजानको लागि पनि सहज भएको छ ।

खानेपानी

पुरानागाउँमा खानेपानी समस्याको दिगो समाधानका लागि ढिकुरे कोसीबाट लिफ्ट प्रणालीबाट पानी तानेर वितरण गर्ने उद्देश्यले वडा अध्यक्ष पुलामी मगरको पहलमा ६८ करोडको लागतमा निर्माण कार्य भइरहेको वडाले जनाएको छ । तत्कालको लागि बहुनचुरा मुहानबाट पानी ल्याएर घरघरमा पानीको धारा पुर्याएको छ ।
विजुली बत्ति पुग्न नसकेको बाहुनचुरा र खुरबेसीमा वडाको पहलमा विजुली बत्ति पुर्याइएको छ । त्यसैगरी बाहुनचुरा शहरी स्वास्थ्य क्लिनिक स्थापना गरि सञ्चालन भइरहेको वडाले जानकारी दिएको छ ।

धार्मिक पर्यटन

धार्मिक तथा पर्यटकीय गन्तब्यको रुपमा रहेको स्थानापति (थानापति) महादेव थानको विकास तथा प्रवद्र्धनको लागि वडाले उल्लेख्य काम गरेको छ । पूर्वको दोश्रो र नेपालको तेश्रो पशुपतिनाथको रुपमा चिनिने स्थानापति महादेव मन्दीरको विकास र प्रवद्र्धन गर्ने उद्देश्यले मन्दीर जाने भिरको बाटोमा सिँढी निर्माण गरि रेलिङ्ग हालिएको छ । महादेवथान जाने भिरको बाटो अफ्ठ्यारो हुँदा केही मानिसहरुले ज्यान समेत गुमाउनु परेको थियो । तर अहिले सिँढी निर्माण गर्नुका साथै रेलिङ्ग हालिएपछि मन्दीरमा जाने भक्तजनहरुको लागि निकै सहज भएको छ । मन्दिरसम्म हिडेर जान नसक्ने बृद्ध–बृद्धा, अशक्त तथा अपाङ्गता भएका ब्यक्तिहरुको सहजताको लागि मन्दीरसम्म सडक विस्तार गरिएको छ । स्थानापति महादेव मन्दीरसम्म जान खुरबेसी, बहुचुरा सडक विभिन्न अवरोधको बाबजुत पनि निर्माण गरिएको वडा अध्यक्ष बुद्धिबहादुर पुलामी मगर (भरत)ले बताए । खुरबेसी बाहुनचुरा हुँदै मन्दीरसम्म जाने सडक निर्माण हुन्छ भन्ने कुरा कसैले पनि विश्वास गरेका थिएनन् बरु विरोध गरेका थिए, अध्यक्ष मगरले भने । सो सडक निर्माणको लागि प्रदेश सरकार र संघले बजेट नदिएपछि नगरपालिकासँगको समन्वयमा बजेट ब्यवस्थापन गरि सडक निर्माण गरिएको अध्यक्ष मगरको भनाई छ ।


पर्यटन प्रवद्र्धनको लागि वडाले प्याराग्लाइडिङ्गको सम्भाब्यता अध्ययन गरि सफल परीक्षण समेत गरेको छ । त्यसैगरी वडाको विभन्न समाधिस्थलको नजिक सतलपाटीहरु निर्माण गरिएको छ । वडा स्तरीय खेलमैदान निर्माण गर्नुका साथै खेल क्षेत्रको विकासको लागि वडा स्तरीय भलिबल प्रतियोगिता लगायतका खेलहरु सञ्चालन गर्दै आएको छ ।
दलित समुदायको पेशा संरक्षण तथा प्रवद्र्धको लागि आवश्यक सामग्रीहरु प्रदान गरिएको वडा कार्यालयले जनाएको छ । त्यसैगरी लामा गुरुहरुको परम्परालाई संरक्षण तथा प्रवद्र्धनको लागि समेत वडाले प्रोत्साहन गरेको छ ।

प्रतिकृया

Add