मनोनयन दर्ताको पहिलो दिनः रामेछापमा ३९ जनाको दर्ता

 सोमवार, बैशाख १२, २०७९ | onlinenews

नवराज विश्वकर्मा


रामेछाप । स्थानीय तह निर्वाचनको लागि उम्मेदवार मनोनयन दर्ताको पहिलो दिन आइतबार रामेछापका ३९ जनाले मात्रै मनोनयन दर्ता गराएका छन् । जिल्ला दुई नगरपालिका र ६ गाउँपालिकामा गरी जम्मा ६४ वटा वडा रहेका छन् । आगामी स्थानीय तह निर्वाचनमार्फत ती सबै स्थानीय तहमा ३ सय ३६ नयाँ जनप्रतिधि निर्वाचित भएर आउने छन् । सबै दलले छुट्टाछुट्टै उम्मेदवारी दिएमा जिल्लामा २ हजार ३ सय ८८ जनाको मनोनयन दर्ता गराउनुपर्ने हुन्छ । तर, सबै राजनीतिक दलले छुट्टाछुुट्टै उम्मेदवारको लागि मनोनयन दर्ता गराउने सम्भावना निकै कम छ । दलहरुले छुट्टछुुट्टै मनोनय दर्ता गराएमा एउटा दलबाट पालिका प्रमुख, उप–प्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र वडा सदस्यसहित ३ सय ३६ जनाले मनोनयन दर्ता गराउनुपर्ने हुन्छ ।जिल्लामा रहेका नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र राप्रपा नेपाल लगायतका दलले छुट्टाछुुट्टै उम्मेदवारी मनोनयन दर्ता गराएमा नगरपालिका प्रमुख÷उप–प्रमुख गरी १२ जना, गाउँपालिका अध्यक्ष÷उपाध्यक्ष गरी ७२ जना, वडा अध्यक्षका लागि ३ सय ८४ जना, खुला सदस्य दुई जना, महिला सदस्य एक जना र दलित महिला सदस्य एक जनासहित १ हजार ९ सय २० जनाको मनोनयन दर्ता हुनेछ । तर, गठबन्धनमार्फ चुनावी तालमेल गरेर अघि बढ्ने कसरतमा जुटेका दलहरुले साझा उम्मेदवार उठाएमा त्यो संख्यामा घट्न सक्नेछ । आइतबार र सोमबार दुई दिने मनोनय दर्ताको पहिलो दिन पाँच जना स्वतन्त्रसहित ३९ जनाले मात्रै मनोनय दर्ता गराएको निर्वाचन कार्यालय रामेछापले जनाएको छ ।
आइतबार मन्थली नगरपालिकामा स्वतन्त्रबाट प्रमुख र उपप्रमुखको लागि मनोनयन दर्ता भएको छ । सोही नगरपालिकाको वडा नं. १० को वडा अध्यक्ष पदको लागि स्वतन्त्रबाट एक जनाको मनोनयन दर्ता भएको छ । यस्तै, दोरम्बा शैलुङ गाउँपालिकाको वडा नं. ५ को वडा अध्यक्षमा स्वतन्त्रबाट एक जनाको मनोनयन दर्ता गराएका छन् वडा नं.६ मा वडा अध्यक्षका लागि राप्रपाबाट एक जनाको मनोनयन दर्ता भएको छ ।
यसैगरी, गोकुलगंगा गाउँपालिकाको वडा नं. ६ मा वडा अध्यक्षका लागि एक जनाको स्वतन्त्रबाट मनोनयन दर्ता भएको छ । निर्वाचन कार्यालय रामेछापका अनुसार सुनापति गाउँपालिकामा नेकपा एमालेले अध्यक्ष, उपाध्यक्ष र पाँच वटै वडाका अध्यक्ष र वडा सदस्यसहितको मनोनयन दर्ता गराएको छ । यसैबीच, एमालेले खाँडादेवी गाउँपालिकाको अध्यक्षमा ज्ञानकुमार श्रेष्ठले मनोनय दर्ता गराएका छन् भने उपाध्यक्षमा रमा घिसिङले मनोनयन दर्ता गराएकी छन् । सोही गाउँपालिका अध्यक्षको लागि मंगोल अर्गनाइजेशनबाट यमबहादुर मोक्तान र उपाध्यक्षको लागि दिलमाया मोक्तानले मनोनयन दर्ता गराएका छन् । तर, मनोनयन दर्ताको पहिलो दिन आइतबार चुनावी तालमेल गरेर अघि बढ्ने विषयमा लामो समयदेखि छलफलमा जुटिरहेका दलहरु नेपाली काँग्रेस, माओवादी केन्द्र र नेकपा एसले भने जिल्लाका कुनै पनि स्थानीय तहमा मनोनयन दर्ता नगरेको निर्वाचन कार्यालय रामेछापले जनाएको छ ।

प्रतिकृया

Add