आसन्न निर्वाचनप्रति दलहरुमा बढ्यो उत्साह, नागरिकमा भने छायो निराशा

 सोमवार, बैशाख १२, २०७९ | onlinenews

नवराज विश्वकर्मा


रामेछाप । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउने समयावधिको शनिबार अन्तिम दिन रामेछाप जिल्लाका विभिन्न राजनीतिक दलहरुले निकै उमङ्ग र उत्साहकासाथ उम्मेदवारी दर्ता गराएका छन् ।
उम्मेदवारी दर्ताको पहिलो दिन आइतबार पाँच जना स्वतन्त्रसहित ३६ जनाले मात्रै मनोनयन दर्ता गराएका थिए । मनोनयन दर्ता अवधिको दोस्रो दिन सोमबार अन्तिम दिन जिल्लाका स्थानीय तहमा रहेका निर्वाचन कार्यालयमा पुगेर दलहरुले उम्मेदवारी दर्ता गराएका छन् ।
आसन्न स्थानीय तहको निर्वाचलाई दलहरुले उत्साहको रुपमा लिएका छन् । अब, वैशाख ३० पछि रामेछापका दुई नगरपालिका, ६ गाउँपालिका र त्यस अन्तर्गतका ६४ वटै वडामा ३ सय ३६ जना नयाँ जनप्रतिनिधि निर्वाचित हुनेछन् ।
२०७४ सालको स्थानीय तह निर्वाचनबाट निर्वाचित ३ सय ३६ जनप्रतिनिधि पुनः उम्मेदवार बनेकाहरुले राजीनामा दिइसकेका छन् भने बाँकी आगामी जेठ १५ गते विदाई हुँदैछन् । उनीहरुको कामबाट पनि सन्तुष्ट नभएका नागरिकहरु अब आउने जनप्रतिनिधिले पनि काम गर्ने कुरामा विश्वस्त छैनन् । नजिकिँदै गरेको स्थानीय तह निर्वाचनका लागि दलहरुले बाजागाजासहित उम्मेदवारी दर्ता गराइसकेका छन् । नागरिकहरुले भने राजनीतिक दल, दलका नेता तथा कार्यकर्ता र जनप्रतिनिधिप्रति अविश्वास व्यक्त गरेका छन् । खानेपानीको व्यवस्था, सडक निर्माण, निःशुल्क शिक्षा र रोजागारीको व्यवस्था गरिदिने आश्वासन दिँदै आएका नेताहरुलाई विश्वास गरेर मतदान गरेर आफूहरुले धेरै पटक जिताए पनि निर्वाचित भएपछि जनप्रतिनिधिहरुले आफूहरुको हितमा काम नगरेको नागरिकहरुको गुनासो छ । मन्थली नगपालिका वडा नं. ११ गेलुका ५१ वर्षीय बिरबहादुर कामीले आफूले यसअघि पाँच पटक भोट दिएर जिताएका जनप्रतिनिधिले आफूहरुको माग सम्बोधन नगरेको बताए । खानेपानीको अभाव छ, व्यवस्था गरिदिनुप¥यो भनेर आफूले यसअघि भएका पाँच÷पाँच वटा निर्वाचनमा भोट दिएर जिताएका जनप्रतिनिधिले आफ्नो त्यो मागको अहिलेसम्म सम्बोधन गरेको गुनासो गरे । आफूले मत दिएर नेतालाई त जिताए तर आफूले दिएको मतले जितेका जनप्रतिनिधिले आफूलाई कहिल्यै जिताएनन् उनले भने । जुनै जोगी आए पनि कानै चिरेको भन्दै विर बहादुरले अहिलेको चुनावप्रति पनि आफू हर्षित नभएको बताए ।
कुनै पनि नेतालाई भोट हाल्न त मन छैन, आफ्नै गाउँ टोलको मान्छे उठ्ने भएर मात्रै भोट दिन लागेको उनको भनाई छ । त्यस्तै विगत २०४४ सालदेखि हालसम्म भएका निर्वाचनमा भोट हाल्दै आएका मन्थली नगरपालिका वडा नं. २ का पदमबहादुर श्रेष्ठले आफूलाई कुनै पनि नेताहरुप्रति विश्वास नलागेको बताए । यसअघिका जनप्रतिनिधिले पनि देश र नागरिकको हितमा काम नगरेको बताउँदै श्रेष्ठले अब आउने जनप्रतिनिधिले पनि काम गर्नेमा आपूmलाई विश्वास नभएको बताए । पछिल्लो समय नेताहरु भ्रष्ट बन्दै गएको भन्दै देशका विभिन्न भू–भाग विदेशीलाई बेचेको, बालुवाटारको सरकारी जग्गा नेताहरुले नै हडपेका छन्, विभिन्न उद्योग तथा कारखानाहरु समेत बेचेर खाएका छन्, यस्तो नेता र जनप्रतिनिधिबाट के अपेक्षा गर्ने उनले भने ।
आपूmहरुको माग कुनै नेताले पनि संवोधन नगरेपछि पछिल्लो समय माग गर्नै छाडेको उनले बताए । आगामी निर्वाचनप्रति आफूलाई कुनै पनि उत्साह नरहेको उनको भनाई छ ।
यस्तै, सुनापति गाउँपालिका वडा नं. ३ का ८५ वर्षीय भक्तमाया कार्कीले भने विगतका निर्वाचनमा आफूले भोट दिएर जिताएका जनप्रतिनिधिले वृद्ध भत्ताको व्यवस्था गरेको बताउँदै खुसी व्यक्त गरिन । अहिले नजिकिँदै गरेको निर्वाचनप्रति आफू निकै हर्षित भएको बताउँदै उनले अबको निर्वाचनमा पनि नेताहरुलाई भोट दिने बताइन ।

प्रतिकृया

Add