नेपाली काँग्रेस साँघुटारको ११ बुँदे प्रतिबद्धताः खानेपानी, कृषि, स्वास्थ्य, शिक्षा र सडक मुख्य प्राथमिकता

 शुक्रबार, बैशाख २३, २०७९ | onlinenews

नवराज विश्वकर्मा


रामेछाप । आसन्न स्थानीय तह निर्वाचनमा रामेछाप नगरपालिका वडा नंं. ३ साँघुटामा नेपाली काँग्रेसबाट वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका दलबहादुर प्रधानको प्यानलले ११ बुदे प्रतिबद्धता सार्वजनिक गरेको छ ।
वडा अध्यक्षका उम्मेदवार प्रधानको प्यानलले वडाभित्रका सम्पूर्ण बस्तीहरुमा खानेपानीको व्यवस्था गरिदिने, वडाभित्रका मूख्य सडक बाहै्र महिना सञ्चालन हुने गरी व्यवस्थापन गर्ने, कुखुरा, मासु, अण्डाजन्य उत्पादनमा वृद्धि गर्ने, किसानहरुको आर्थिक उपार्जनका लागि उन्नत जातको भैसी वितरण गरिदिने र सामुहिक बंगुर पालनलाई प्राथमिकतामा राखी अनुदानको व्यवस्था गर्ने प्रतिबद्धता जाहेर गरेको छ । यस्तै, माछा मारेर जीविकोपार्जन गर्ने किसानहरुलाई लक्षित गरी लिखुखोलामा ह्याचरीबाट उत्पादित असला जातको माछा खरिद गरी लिखु खोलामा छोडिदिने र सिञ्चाई कुलोको उचित मर्मत तथा व्यवस्थापनको लागि आवश्यक बजेटको व्यवस्था गरिने प्रतिवद्धता–पत्रमा उल्लेख छ ।
सुत्केरी महिलालाई पोषण भत्ताको व्यवस्था गरिदिने र सामाजिक सुरक्षा भत्ता समयमा नै वितरण गर्ने प्रतिबद्धता गरेका छन् । वडाभित्र रहेको सरकारी तथा गैरसरकार संघसंस्थाको संरक्षण गर्ने, स्वास्थ्य र शिक्षा क्षेत्रको सुधारका लागि अधिकतम बजेट तथा कार्यक्रमको व्यवस्था गर्ने र खेल क्षेत्रको विकासको लागि पनि आवश्यक व्यवस्था गरिने लगायतका कुराहरु प्रतिवद्धता–पत्रमा समेटिएका छन् । वडा अध्यक्ष प्रधानको प्यानलमा सदस्यहरु नबराज ढकाल, मनोज खड्का, दलित महिला सदस्य तारा वि.क. र महिला सदस्यमा अलिमाया श्रेष्ठ रहेका छन् ।

प्रतिकृया

Add