नागरिकको स्वास्थ्यप्रति राज्यको उदासीनता

 बुधबार, बैशाख २८, २०७९ | onlinenews

नवराज विश्वकर्मा


रामेछाप । राज्यले नागरिकको स्वास्थ्य र जीवन रक्षाजस्तो संवेदनशीलतालाई ध्यानमा नराखि स्वास्थ्य संस्थाहरु नै खाली पारेर स्वास्थ्यकर्मीहरुलाई निर्वाचनमा खटाउँदा विरामीहरु मारमा परेका छन् । स्वास्थ्यकर्मीहरुलाई यही ३० गते हुने स्थानीय तह निर्वाचनको लागि मतदान स्थलमा खटाउँदा विरामी समस्यामा परेका हुन् ।
नेपालको संविधान २०७२ मा प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवा लिनबाट वञ्चित गरिने छैन, भनिएको छ । सरकारले स्वास्थ्य संस्थामा कार्यरत अधिकांश कर्मचारीहरुलाई निर्वाचनमा खटाउँदा स्वास्थ्य संस्थाहरुबाट प्रवाह हुने सेवाहरु प्रभावित भएको छ । रामेछाप जिल्लाको आठ स्थानीय तह अन्तर्गत रहेका ७५ वटा स्वास्थ्य संस्थाहरुमा कार्यरत अधिकांश स्वास्थ्यकर्मीहरुलाई सरकारले निर्वाचनमा खटाउँदा सम्बन्धित स्वास्थ्य संस्थाबाट प्रवाह हुने सेवाहरु प्रभावित भएको सम्बन्धित पालिकाका स्वास्थ्य संयोजकहरुले बताएका छन् ।
जिल्लाको रामेछाप नगरपालिकामा ७ वटा स्वास्थ्य चौकी र ७ वटा सहरी स्वास्थ्य केन्द्र गरी १४ वटा, उमाकुण्ड गाउँपालिकामा ६ वटा स्वास्थ्य चौकी २ वटा सामुदायिक इकाई गरी ८ वटा, गोकुलगंगा गाउँपालिकामा ६ वटा स्वास्थ्य चौकी र एउटा अस्पताल गरी ७ वटा, दोरम्बा शैलुङ गाउँपालिकामा ५ वटा स्वास्थ्य चौकी २ वटा आधारभूत स्वास्थ्य केन्द्र, एउटा अस्पताल गरी ८ वटा रहेका छन् ।
यस्तै, लिखुतामाकोशी गाउँपालिकामा ४ वटा स्वास्थ्य चौकी तथा २ वटा सामुदायिक स्वास्थ्य इकाई गरी ६ वटा, मन्थली नगरपालिकामा ९ वटा स्वास्थ्य चौकी ३ वटा पोलिक्लिनक, एक अस्पताल, एक प्राथमिक स्वास्थ्य केन्द्रसहित २४ वटा सरकारी स्वास्थ्य संस्था रहेका छन् । खाँडादेवी गाउँपालिकामा ४ वटा सामुदायिक स्वास्थ्य इकाई, एक आधारभूत स्वास्थ्य केन्द्रसहित ८ वटा स्वास्थ्य संस्था रहेका छन् । ती स्वास्थ्य संस्थामा कूल ४ सय २९ स्वास्थ्यकर्मी कार्यरत रहेका छन् । त्यसमध्ये स्वास्थ्य प्रमुखसहित २ सय ६४ जना स्वास्थ्यकर्मीहरुलाई सरकारले निर्वाचनमा खटाएको छ । जिल्लाको खाँडादेवी गाउँपालिका अन्तर्गत रहेका ७० जना स्वास्थ्यकर्मी मध्ये ३० जना स्वास्थ्यकर्मी निर्वाचनमा खटिएका छन् भने लिखु तामाकोशी गाउँपालिकामा कार्यरत ४१ जना स्वास्थ्यकर्मी मध्मे ४० जना निर्वाचनमा खटिएको सम्बन्धित पालिकाका स्वास्थ्य संयोजकले जानकारी दिएका छन् । यस्तै, गोकुलगंगा गाउँपालिकामा ५६ जना स्वास्थ्यकर्मी कार्यरत रहेकोमा २० जना, उमाकुण्ड गाउँपालिकामा कूल ४३ जना स्वास्थ्यकर्मी कार्यरत रहेकोमा २५ जना, रामेछाप नगरपालिकामा कूल ४० जना स्वास्थ्यकर्मी रहेकोमा २२ जना निर्वाचनमा खटिएका सम्बन्धित पालिकाले जनाएको छ । मन्थली नगरपालिका अन्तर्गत रहेका स्वास्थ्य संस्थामा कूल १ सय ३४ जना कार्यरत रहेकोमा अधिकांश स्वास्थ्यकर्मीहरु निर्वाचनमा खटिएका मन्थली नगपालिकाको स्वास्थ्य शाखाका संयोजक केशव फुयालले जानकारी दिए । यसरी स्वास्थ्य संस्थामा सबै कर्मचारीहरु निर्वाचनमा खटिदा सरकारी स्वास्थ्य संस्थामा सेवा लिन पुगेका नागरिकहरु मारमा परेका छन् ।
यस्तै, बर्थिङ सेन्टरसहितका स्वास्थ्य संस्था २४ सै घण्टा सञ्चालन हुने र स्वास्थ्य संस्थाबाट प्रवाह हुने अन्य जटिल प्रकृतिका सेवाहरु भने बन्द रहेको रामेछाप नगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक ध्रुवकुमार मगरले बताए । यसैगरी, उमाकुण्ड गाउँपाकिाको प्रीति स्वास्थ्य चौकी एक जना कार्यालय सहयोगी बाहेक सबै कर्मचारी निर्वाचनमा खटाएको, बाम्ती स्वास्थ्य चौकी र गुम्देल स्वास्थ्य चौकीको वर्थिङ सेन्टरका कर्मचारीलाई समेत निर्वाचनमा खटाएको गाउँपालिकाको स्वास्थ्यकर्मी लक्ष्मी शिवाकोटीले बताइन । अहिले ती स्वास्थ्य संस्थामा काजमा कर्मचारीलाई खटाएर सेवा प्रवाह गरिएको उनले बताइन । यस्तै, खाँडादेवी गाउँपालिकाको वडा नं. ४ मा रहेको आधारभूत स्वास्थ्य केन्द्र र सामुदायिक स्वास्थ्य इकाइमा कार्यरत सबै स्वास्थ्यकर्मी निर्वाचनमा खटिदा त्यहाँबाट प्रवाह हुने सेवा अहिले ठप्प रहेको गाउँपालिकाको स्वास्थ्य शाखाका संयोजक ओमप्रकाश श्रेष्ठले बताए । यस्तै, लिखु तामाकोशी गाउँपालिकाको सबै स्वास्थ्य संस्थामा कार्यरत स्वाथ्यकर्मी निर्वाचनमा खटिदा सेवा पूर्णरुपमा ठप्प रहेको गाउँपालिकाको स्वास्थ्यकर्मी कमला खड्काले बताइन । दोरम्बा शैलुङ गाउँपालिकामा स्वास्थ्यका कर्मचारी निर्वाचनमा खटिएका कारण सबैजसो सेवा प्रभावित भएको गाउँपालिका सूचना अधिकारीले जानकारी दिए । वैशाख ३० गते सबै सेवा बन्द हुने उनको भनाई छ ।
यसैबीच, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थलीबाट प्रवाह हुने सेवा पनि प्रभावित भएको छ । ओपिडी सेवा, पूर्वकर्म, पञ्चकर्म, पायल्स फिस्टुलाको छारसूत्र विधिबाट हुने अप्रेशन र फिजियोथेरापी लगायतका सेवा अहिले प्रभावित भएका छन् । नियमित रुपमा करिब २० जना नसा, खुट्टा र ढाडका बिरामीहरुले फिजियोथेरापी गराउँदै आएका थिए । केन्द्रमा एक जना फिजियो थेरापिष्ट मात्र रहेको र उनी पनि निर्वाचनमा खटिएसँगै फिजियो थेरापीसम्बन्धी सम्पूर्ण सेवा बन्द भएको सूचना अधिकारी दिपककुमार कार्कीले बताए ।

प्रतिकृया

Add