गोकुलगंगामा वडाध्यक्षको उम्मेदवारमाथि सांघातिक आक्रमण ४ जना घाइते

 बिहिबार, बैशाख २९, २०७९ | onlinenews

रामेछाप । गोकुलगंगा गाउँपालिका वडा नं. ३ रस्नालुमा माओवादी केन्द्रका उम्मेदवारमाथि सांघातिक आक्रमण भएको छ । आक्रमणबाट बडाध्यक्षका उम्मेदवार सहित चार जना माओवादी कार्यकर्ता घाइते भएको नेकपा माओवादी केन्द्रले जनाएको छ ।
घाइते मध्य वडाध्यक्षका उम्मेदवार यमबहादुर कार्की भूपालको अवस्था गम्भीर रहेकाे बताइएको छ । उनको पालिका अस्पतामा उपचार हुन नसकेपछि काठमाडौंको ट्रमा सेन्टरमा लगिएको छ । रोसन कार्की, विक्रम कार्की र रुद्र भूजेल सामान्य घाइते भएका छन् । गए राती १ बजे घर नजिकै छिमेकीको घरमा बसीरहेका कार्की सहितका माओवादी कार्यकर्तामाथि एमाले कार्यकर्ताहरुले आक्रमण गरेको माओवादीबाट उपाध्यक्षका उम्मेदवार विष्णु कार्कीले जानकारी दिए ।
निर्वाचन हार्ने निश्चित भएपछि हतोत्साहित भएर रवीन सुनुवार नेतृत्वमा आएका एमाले कार्यकर्ताले उम्मेदवार कार्की सहितका माओवादी कार्यकर्तामाथि आक्रमण गरेको माओवादीका गोकुलगंगा–उमाकुण्ड निर्वाचन परिचालन समितिका इञ्चार्ज सेवक कार्कीले बताए ।
घटनाको जानकारी पाए लगतै घटना स्थलमा प्रहरी पुगेपछि आक्रणकारी फरार भएको र उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नयव उपरीक्षक राजकुमार थिङले जानकारी दिए । घाइते उम्मेदवार यमबहादुर कार्कीको टाउकोमा चोट लागेको र रगत जमेर अवस्था गम्भीर हुन सक्ने भएकाले उपचारको लागि काठमाडौं पठाइएको डिएसपी थिङले बताए ।
निर्वाचन मत परिणाम आफ्नो पक्षमा आउने नदेखेपछि एमालेका एम्मेदवारले माओवादी र कांग्रेस कार्यकर्तामाथि आक्रणमा उत्रिएको गाकुलगंगा गाउँपालिका कांग्रेसका सभापति मणीकुमार लामाको आरोप छ । एमाले कार्यकर्ताले बाटोमा राखेको ३ वडा मोरसाइकलमा समेत तोडफोड गरेको जिल्ला प्रहरी कार्यलय रामेछापले जानकारी दिएको छ । मौन अवधिमा राति हिडेका दुई पक्षका कार्यकर्ताबीच बाटोमा भेट हुँदा दुई पक्षबीच झगढा भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । मौन अवधिमा समूह बनाएर राति हिड्नु निर्वाचन आचारसंहिता विपरीत कार्य भएको प्रहरीको भनाई छ ।

प्रतिकृया

Add