रामेछापमा ४ पालिकाको मत गणना सकियो, काँग्रेस २ एमाले र माओवादीले १/१ पालिका जिते

 बुधबार, जेष्ठ ४, २०७९ | onlinenews

रामेछाप । जिल्लामा १ नगरपालिका र ३ गाउँपालिकाको मत गणना सकिएको छ । ४ वटा पालिकाको मतगणना सकिदा उमाकुण्ड गाउँपालिका नेकपा एमाले, रामेछाप नगरपालिका र गोकुलगंगा गाउँपालिकामा नेपाली काँग्रेस र सुनापति गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ । उमाकुण्ड गाउँपालिकामा ४ वटा वडा सहित नेकपा एमालेका उम्मेदवार शेरबहादुर सुनुवार ३ हजार ७ सय २८ मत ल्याएर पालिका अध्यक्षमा निर्वाचित भएका छन् भने उपाध्यक्षमा नेपाली काँग्रेसकी सावित्री सुनुवारले २ हजार ९ सय २२ मत ल्याएर निर्वाचित भएकी छन् । ७ वटा रहेको उमाकुण्ड गाउँपालिकामा माओवादीले २ वडा र काँग्रेसले १ वटा जितेका छन् ।
रामेछाप नगरपालिकामा ७ वटा वडा सहित नेपाली काँग्रेसका लवश्री न्यौपालने ६ हजार ६ सय ३९ मत ल्याएर नगरप्रमुखमा निर्वाचित भएका छन् भने नेपाली काँग्रेसकै बालाकुमारी कार्की ६ हजार ६ सय ४० मत ल्याएर उपप्रमुखमा निर्वाचित भएकी छन् । ९ वटा वडा रहेको रामेछाप नगरपालिकामा नेकपा माओवादी केन्द्रले २ वटा वडा जितेको छ भने नेकपा एमाले क्लिनस्वीप भएको छ ।
सुनापति गाउँपालिकामा ४ वटा वडा सहित नेकपा माओवादी केन्द्रका ठूलाकान्छा तामाङ ५ हजार ३ सय ९८ मत ल्याएर पालिका अध्यक्षमा निर्वाचित भएका छन् भने उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकै गीता विष्ट चौलागाई ५ हजार ३ सय ५७ मत ल्याएर निर्वाचित भएकी छन् । ५ वटा वडा रहेको सुनापति गाउँपालिकामा नेपाली काँग्रेसले १ वडा जितेको छ भने नेकपा एमाले क्लिनस्वीप भएको छ ।
गोकुलगंगा गाउँपालिकामा ४ वटा वडा सहित नेपाली काँग्रेसका उम्मेदवार काजीबहादुर खड्का ६ हजार ९३ मत ल्याएर पालिका अध्यक्षमा निर्वाचित भएका छन् भने उपाध्यक्षमा नेपाली काँग्रेसकै उषादेवि कार्की ५ हजार ३ सय ५३ मत ल्याएर उपाध्यक्षमा निर्वाचित भएकी छन् । ६ वटा वडा रहेको गोकुलगंगा गाउँपालिकामा नेकपा एमालेले २ वडा जितेको छ भने नेकपा माओवादी केन्द्र क्लिनस्वीप भएको छ ।
मत गणना भइरहेको ४ वटा पालिकाहरुमध्य मन्थली नगरपालिका, खाँडादेवी गाउँपालिकामा र दोरम्बा शैलुङ्ग गाउँपालिकामा नेकपा एमालेको थोरै मतको अग्रता रहेको छ भने लिखु तामाकोसी गाउँपालिकामा नेपाली काँग्रेसको अग्रता रहेको छ ।

प्रतिकृया

Add