दोरम्बा शैलुङ्गमा काँग्रेसले जोगाइदियो माओवादीको साख

 बिहिबार, जेष्ठ ५, २०७९ | onlinenews

रामेछाप– रामेछापको दोरबा शैलुङ्ग गाउँपालिकामा नेपाली काँग्रेसले नेकपा माओवादी केन्द्रको साख जोगाइदिएको छ । माओवादी जनयुद्धको आधारभूमि मात्र नभएर अन्तर्राष्ट्रिय मुद्दा बनेको दोरम्बा हत्याकाण्डमा २१ जना माओवादीका नेता कार्यकर्ताले ज्यान गुमाएको ऐतिहासिक भूमिमा गाउँपालिका अध्यक्ष जित्नको लागि काँग्रेसको बुई चढ्नुपर्ने अवस्था आउँनु नेकपा माओवादी केन्द्रको लागि दुःखद पक्ष हो । काँग्रेसको मत पाएर गाउँपालिका अध्यक्ष जिते पनि जनयुद्धको आधारभूमिमा माओवादीले एक्लै चुनाव जित्ने अवस्था नहुँनुले माओवादीमा स्खलन आएको देखिन्छ ।
यद्यपि यो निर्वाचनमा नेपाली काँग्रेसले दोरम्बा शैलुङ्ग गाउँपालिकामा माओवादीको साख जोगाइदिएको छ । दोरम्बा शैलुङ्ग गाउँपालिका अध्यक्षमा काँग्रेस माओवादी गठबन्धनका उम्मेदवार मैनकुमार मोक्तान झिनो मतान्तरले विजयी भएका छन् भने उपाध्यक्षमा गठबन्धनकी उम्मेदवार खमला थापामगर विजयी भएकी छन् ।
मैनकुमार मोक्तले ६ हजार २ सय ७० मत प्राप्त गरी गाउँपालिका अध्यक्ष पदमा निर्वाचित हुँदा उनका प्रतिस्पर्धी नेकपा एमालेका टंकप्रसाद चौलागाईले ६ हजार १ सय ५० मत पाएका छन् ।
उपाध्यक्षमा गठबन्धनकी उम्मेदवार मखला थापामगरले ६ हजार ७ सय ८१ मत प्राप्त गरि निर्वाचित हुँदा उनकी प्रतिस्पर्धी नेकपा एमालेकी मुना कँडेल (थापा) ले ५ हजार ३ सय १० मत प्राप्त प्राप्त गरेकी छन् । ७ वटा वडा रहेको दोरम्बा शैलुङ्ग गाउँपालिकामा एमालेले २ वडा कांग्रेसले २ र माओवादी केन्द्रले ३ वडामा विजय हासिल गरेका छन् ।

प्रतिकृया

Add