खाँडादेवी गाउँपालिकामा सिँचाई आयोजनाको कामै नगरी रकम भुक्तानी गरिएको पुष्टि

 बिहिबार, जेष्ठ १९, २०७९ | onlinenews

नवराज विश्वकर्मा


रामेछाप– खाँडादेवी गाउँपालिका वडा नं. ९ पिङ्खुरीको सिँचाई आयोजना उपभोक्ता समितिले कामै नगरी २३ लाख रुपैयाँ भुक्तानी लिएको पुष्टि भएको छ । चालु आर्थिक वर्ष २०७८÷०७९ मा गाउँपालिकाको वडा नं. ९ पिङ्खुरीस्थित लप्सीखोला बेसिटोल सिँचाई आयोजना निर्माणको लागि संघ, प्रदेश र पालिकाबाट गरी जम्मा ५२ लाख रुपैयाँ बजेट परेको थियो । उक्त आयोजनाको लागि गाउँपालिकाले २० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । सिँचाई आयोजना निर्माणका लागि पालिकाबाट प्राप्त २० लाख रुपैया बजेटको उपभोक्ता समितिको अध्यक्ष सरोज भण्डारी रहनु भएको थियो । पालिकासँग सम्झौता गरी निर्माण कार्य सुरु गरेको अध्यक्ष सरोज भण्डारीको समितिले काम सम्पन्न गरिसकेको छ । यस्तै सोही आयोजना निर्माणको लागि जिल्ला सिँचाई कार्यालय मातहत रहेको ३२ लाख रुपैयाँ बजेटको उपभोक्ता समितिको अध्यक्ष गणेश भण्डारी हुनुहुन्थ्यो । केहि दिन अघि मात्रै अध्यक्ष गणेश भण्डारीको रोहबरमा रहेको उपभोक्ता समितिले कामै नगरी २३ लाख रुपैयाँ भुक्तानी लिएको बाहिर आएको थियो ।
त्यसलगत्तै हिजो खाँणादेवी गाउँपालिका वडा नं. ९ पिङ्खुरीका वडा अध्यक्ष अकल बहादुर भण्डारीको अध्यक्षतामा जिल्ला सिँचाई आयोजना अन्तर्गत रहेको लप्सीखोला बेसिटोल उपभोक्ता समितिको बैठक बसेको थियो । बैठकमा जिल्ला सिँचाई कार्यालयबाट अनुगमनका लागि खटिएको टोली पनि सहभागी भएको थियो । बैठकले पालिकाबाट विनियोजन भएको २० लाख रुपैयाँ बजेटको उपभोक्ता समितिका अध्यक्ष सरोज भण्डारीको समितिले मात्रै काम गरेको ठहर गरेको छ । जिल्ला सिँचाई कार्यालय अन्तर्गत अध्यक्ष गणेश भण्डारीको रोहबरमा रहेको उपभोक्ता समितिले भने कामै नगरी २३ लाख रुपैयाँ भुक्तानी लिएको ठहर गरेको छ । २० लाख रुपैयाँ बजेटको समितिले गरेको कामको फोटो देखाएर अध्यक्ष गणेश भण्डारीको रोहबरमा रहेको समितिका कोषाध्यक्षले किर्ते सहिछाप गरी २३ लाख रुपैयाँ भुक्तानी लिएको बैठकले ठहर गरेको छ । समितिको अध्यक्ष गणेश भण्डारीले कुनै पनि निर्णय तथा चेकमा हस्ताक्षर नगरेकोमा समितिका कोषाध्यक्ष चुडाराज भण्डारीले कुनै पनि सदस्यलाई थाहा नदिई किर्ते कागजात तथा सहीछाप गरी कामै नभएको आयोजनाको २३ लाख रुपैयाँ भुक्तानी लिएको ठहर गर्दै बैठकले समितिका कोषाध्यक्ष भण्डारीलाई कारबाहीको लागि आवश्यक कदम चाल्ने निर्णयसमेत गरेको छ । बैठकमा सिँचाई कार्यालय मन्थलीका अधिकारी ध्रुव श्रेष्ठ, सोही कार्यालयका प्राविधिक देवाकर प्रसाद, राधेश्याम प्रसाद, सिँचाई कार्यालय आयोजनाका अध्यक्ष गणेश भण्डारी, पालिकामा सम्झौता भएको आयोजनाको अध्यक्ष सरोज भण्डारी र अन्य सदस्यसहित २६ जनाको उपस्थिति रहेको थियो ।

प्रतिकृया

Add