मन्थली नगरपालिकामा आइतबार पनि विद्यालय सञ्चालन हुने

 बिहिबार, जेष्ठ १९, २०७९ | onlinenews

रामेछाप– मन्थली नगरपालिकाले नगरभित्र सञ्चालित विद्यालयहरु आइतबार पनि सञ्चालन गर्ने निर्णय गरेको छ । मन्थली नगरकार्यपालिकाको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले नगरभित्र सञ्चालनमा रहेका विद्यालयहरुलाई आइतबार पनि खुला गरि पठनपाठन सञ्चालन गर्न निर्देशन दिने निर्णय गरेको छ ।
त्यसैगरी बैठकले नगरभित्रका सबै विद्यालयहरुमा कक्षा १ देखि कक्षा ५ सम्म अङ्ग्रेजी माध्ययमबाट पठनपाठन गर्ने निर्णय पनि गरेको छ । मन्थली नगरपालिकामा सञ्चालित सामुदायिक विद्यालयहरुको पठनपाठन समयानुकुल सुधार गर्न र अभिभावक र विद्यार्थीहरुमा पनि अङ्ग्रेजी माध्ययमको शिक्षाको आकर्षण बढेको भन्दै जनशक्ति र विद्यार्थीको क्षमताका आधारमा कक्षा १ देखि कक्षा ५ सम्म गणित र विज्ञानजस्ता मुख्य विषयहरु अनिवार्य रुपमा अङ्ग्रेजी माध्ययमबाट अध्यापन गराउन सबै विद्यालयलाई निर्देशन दिने निर्णय गरेको छ ।
कार्यपालिका बैठकले गर्भवतीलाई प्रसूती सेवा उपलब्ध गराउन निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय गरेको छ । नगरपालिकाले स्वास्थ्य संस्थामा आएर सुरक्षित रुपमा सुत्केरी गराउने उद्देश्यले घरबाट आउन र फर्कनका लागि गर्भवतीलाई निःशुल्क रुपमा एम्बुलेन्स सेवा प्रदान गर्ने निर्णय गरेको हो । नगरबासी र सेवाग्राहीको गुनासो सुन्न निःशुल्क हटलाइन सेवा तथा टोलफ्री सेवा सञ्चालन गर्ने लगायतका १३ बुँदे विभिन्न निर्णय गरेको छ । बैठकले मन्थली नगरका बाक्लो बस्तीहरुमा विद्युतबाट सञ्चालन हुने हेलोजिन लाइटका सडक बत्ती जडानको बिषयमा सम्भाव्यता अध्ययन र लागत स्टिमेटको तयारी गर्न नगरपालिकालाई निर्देशन पनि दिएको छ ।

प्रतिकृया

Add