शैक्षिक सुधारका लागि नगरपालिकालाई शिक्षक संघको २१ बुँदे सुझाव

 मङ्लबार, असार ७, २०७९ | onlinenews

सन्तोष ढुङ्गेल


रामेछाप– शैक्षिक सुधारको लागि नेपाल शिक्षक संघ मन्थली नगर कार्यसमितिले मन्थली नगरपालिकालाई २१ बुँदे सुझाव पत्र बुझाएको छ । मन्थली नगरपालिकाले बनाउने शैक्षिक योजनामा सहयोग पुगोस् भन्ने उद्देश्यले सुझाव पत्र बुझाइएको संघको भनाई छ ।
संघले बुझाएको सुझाव पत्रमा नगरको वार्षिक कार्यक्रममा शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर बजेट विनियोजन गर्न आग्रह गरिएको छ । तीनै तहका विद्यालयमा कार्यरत सहयोगी कार्यकर्ता र बालविकास शिक्षक सुविधामा विभेद रहेकोले त्यसलाई एकरुपता ल्याउन सुझाव दिएको छ । नगर भित्रका विद्यालयलाई प्रविधिमैत्री बनाउँदै संचालन र व्यवस्थापनमा उचित र न्यायोचित बजेट व्यवस्थापन गर्न माग गरिएको नेपाल शिक्षक संघ मन्थली नगर कार्यसमितिका अध्यक्ष भिम नेपालीले जानकारी दिए । कक्षा १ देखि १२ सम्मको पाठ्यक्रम संशोधन गरि लागू गर्नु पर्ने र विपन्न परिवारका विद्यार्थीलाई प्रोत्साहन स्वरुप छात्रवृत्ति प्रदान गर्न सुझाव दिएको पनि अध्यक्ष नेपालीले बताए ।
शिक्षक संघले नगरपालिका भित्रका विद्यालयमा नेपाल सरकारले तोके बमोजिम दिवा खाजाको ब्यबहारिक रुपमा अपुग रहेको र त्यसका लागी आवश्यक बजेट ब्यबस्थापन गर्न सुझाव दिएको छ । संघले विद्यालयको शैक्षिक स्तर सुधार, संरचना निर्माण, शिक्षकको सेवा सुविधा र विद्यार्थीहरू शैक्षिक स्तरोन्नतिको लागि समेत सहयोग हुने गरि नगरपालिकाले बनाउने नीति तथा कार्यक्रममा समाबेश गर्नु पर्ने बुँदा उल्लेख गरि सुझाव पत्र नगर प्रमुख लब श्रेष्ठलाई बुझाइएको नेपालीले बताए । मन्थली नगरपालिकाले बनाउने शिक्षा नीतिमा नेपाल शिक्षक संघ सधैं सहयोगीको रुपमा सहयोग गर्न तयार रहेको पनि संघले बुझाएको २१ बुँदे सुझाव पत्र उल्लेख्य छ ।

प्रतिकृया

Add