शिक्षक र विद्यार्थीलाई प्राथमिक उपचार तथा मेडिकल डेक्स तालिम

 शनिबार, असार ११, २०७९ | onlinenews

सन्तोष ढुङ्गेल


रामेछाप– सुनापती गाउँपालिका अन्तर्गत १५ वटा विद्यालयका शिक्षक र बाल क्लबका अध्यक्षहरुलाई प्रथामिक उपचार तथा मेडिकल डेस्क तालिम दिइएको छ । गाउँपालिका अन्तर्गत कक्षा १ देखि ८ र कक्षा १ देखि १२ सम्म पढाई हुने विद्यालयका शिक्षक प्रतिनिधि र बाल क्लबका अध्यक्षहरुलाई तालिम दिइएको हो ।
दुर्घटना तथा दैवि प्रकोपबाट उत्पन्न हुने विपदबाट घाइते भएको अवस्थामा उद्दार तथा तत्काल प्राथमिक उपचार गर्ने साथै बिरामीलाई अस्पतालसम्म लैजान सकियोस भन्ने उद्देश्यले तालिम आयोजना गरिएको महिला तथा बाल सशक्तिकरणः स्वास्थ्य तथा सरसफाई परियोज संयोजक तिलक कार्कीले जानकारी दिए ।
चार दिनसम्म सञ्चालन गरिएको तालिममा घटनापछि कसरी घाइते तथा बिरामीको प्राथमिक उपचार र उद्दार गर्न सकिन्छ भन्ने अभ्यास समेत गराइएको कार्कीको बताए । तालिमबाट प्राप्त गरेको प्रमाण–पत्रले प्राथमिक उपचार गर्न तीन वर्षसम्म सरकारी मान्यता पाउने पनि कार्कीले बताए ।


नेपाल रेडक्रस सोसाइटी रामेछाप शाखा अध्यक्ष शिवकुमार कार्कीले तालिमबाट प्राप्त ज्ञान, सिपलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न आग्रह गरेका छन् । दुर्घटना र विपद जति बेला पनि हुन सक्ने भएकाले तालिममा सहभागी सबै एकजुट भएर समाधानमा लाग्नु पर्ने अध्यक्ष कार्कीले बताए । सबै ठाँउमा अस्पताल नहुने, कहिँ डाक्टर नहुने त कतै औषधी नहुने र भएका पनि समय सकिसकेका हुने गरेकाले स्थानीय स्तरमै उपलब्ध हुने प्राकृतिक चिकित्सा पद्धतिको सहि तरिकाबाट अवलम्बन गरेर प्राथमिक उपचार गर्न सकिएमा विरामीको ज्यान बचाउन सहयोग पुग्ने बताए ।
जुनसकै दुर्घटनामा पनि सबैभन्दा पहिला प्राथमिक उपचार आवश्यक पर्ने हुनाले तालिम उपयुक्त रहेको सामुदायिक विकास समाज रामेछापका कार्यकारी निर्देश मिलनकुमार घिसिङले बताए । तालिमबाट प्राप्त सिपले समाजमा ठूलो सहयोग मिल्ने र बिरामी तथा घाइतेले अकालमा ज्यान घुमाउने घटनालाई कम गर्न सकिने घिसिङले बताए । ग्रामिण परिवेशमा अस्पतालको सुबिधा प्रर्याप्त नहुने र भए पनि डाक्टर नर्स नहुने हुनाले यो तालिमले ग्रामिण समाजमा केही जनशक्ति थप भएको घिसिङको भनाई छ ।
तालिमबाट धेरै ज्ञान, सिप र क्षमताको विकास भएको तालिममा सहभागी विद्यार्थी प्रनिशा गौतमले बताइन् । समाजमा आकस्मिक रुपमा केही भएमा तत्कालै प्राथामिक उपचार तथा ब्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने बारेमा ज्ञान प्राप्त भएको गौतमले बताइन । तालिममा सिकेको सिपलाई व्यबहारमा उतार्दै जाँदा थप क्षमता वृद्धि हुने प्रशिक्षक शम्भु कुमार बुढाथोकीको भनाइ छ ।
पिएसएफ लग्जेम्बर्ग, टिडिएच जर्मनीको सहयोग, सामुदायिक विकास समाज, महिला तथा बाल सशक्तिकरणः स्वास्थ्य तथा सरसफाई परियोजनाको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी रामेछाप शाखाको संयोजनमा आयोजना गरिएको तालिममा २९ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया

Add