सडकको धुलोमाथि नै कालोपत्र

 शुक्रबार, असार २४, २०७९ | onlinenews

सन्तोष ढुङ्गेल


रामेछाप– मन्थली–सेलेघाट सडक खण्डमा सडक चौडा गर्ने र कालोपत्रको काम भइरहेको छ । सडक चौडा गर्ने र कालोपत्रको काम सुस्त गतिमा भएको भनि नागरिक समाजका अगुवाहरुबाट पटक–पटक गुनासो आइरहेको बेला निर्माण ब्यवसायिले सडकको धुलो सफा नगरि अलकत्रा विछ्याएको छ । हिउँभरी कानमा तेल हालेर बसेका निर्माण व्यवसायिलाई अहिले आएर सडक कालोपत्र गर्ने कामको चटारो परेको छ । गुणस्तरीय सडक निर्माण गर्ने भन्दा पनि निर्माण ब्यवसायिलाई छिटो काम सकेर भुक्तानी लिन हतारो भएको छ । सडक कालोपत्र गर्नुअघि सडकको धुलो उडाएर हटाउनु पर्ने भए पनि कुचोले घर बढारेजसरी कुचो लगाएको भरमा माटोमाथि नै अलकत्रा विछ्याइएको छ ।

कालोपत्र भइरहेको सडकमा एकतर्फी सवारी साधन सञ्चालन भइरहेकाले धुलो हटाउन नसकिएको सडक डिभिजन कार्यालय खुर्कोटका प्राविधिक शंकर कार्कीले बताए । यातायातका साधनलाई दोष देखाए सरकारी निकायका प्रतिनिधि समेत रहेका कार्की आफैले मजदुरहरुलाई गुणस्तरहिन काम गर्न लगाइरहेका छन् । सो सडकको अनुगमनमा गएका मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले पनि सडकको धुलोमाथि नै कालोपत्र गरेको पाइएको बताए । अनुगमनका क्रममा धुलोमाथि नै कालोपत्र गरेको पाइएपछि सडक डिभीजन कार्यालय खुर्कोटलाई काम सच्चाउन अनुरोध गर्नुका साथै जिल्ला प्रशासन कार्यालय रामेछापलाई समन्वयकारी भूमिका निर्वाह गर्न अनुरोध गरेको नगरप्रमुख श्रेष्ठले बताए ।
सडक कालोपत्र गर्ने काममा देखिएको लापरबाहीको बारेमा जिज्ञासा राख्दा कार्यालयले नियमित प्राविधिक खटाएको र अनुगमन भइरहेको सडक डिभीजन कार्यालय खुर्कोटका निमित्त प्रमुख लक्ष्मीदत्त जोशीले बताए । निमित्त प्रमुख जोशीले यस्तो बताइरहँदा सोही कार्यालयका प्रतिनिधि शंकर कार्कीले भने आफ्नै रोहबरमा धुलोमाथि नै अलकत्रा विछ्याएर गुणस्तरहिन काम गरिरहेका छन् । सडक कालोपत्रको काम सेतीदेवी निर्माण सेवाले गरिरहेको छ भने नाला निर्माणको जिम्मा गडवारी निर्माण सेवाले पाएको छ । नाला निर्माणको काम पनि अलपत्र छ । कतिपय ठाउँमा नाला नै निर्माण नगरि सडकमा कालोपत्र गरिएको छ । फितलो अनुगमन संयन्त्र र सम्बन्धित सरकारी कार्यालयका कर्मचारी र निर्माण व्यवसायिको मिलेमतोमा काम हुने गरेकाले विकास निर्माणको काम दीगो हुन नसकेको सरोकारवालाहरुको भनाई छ ।

प्रतिकृया

Add