म बाँच्न चाहन्छु तर उपचार गर्ने पैसा छैनः ज्योति बुढाथोकी

 आइतवार, भदौ १२, २०७९ | onlinenews

रामेछाप–विगत १७ वर्षदेखि सिस्टेमिक स्क्लोरोसिस नामक घातक रोगबाट पीडित २१ वर्षिय ज्योति बुढाथोकीलाई अहिले पैसा अभावले उपचारमा समस्या भएको छ । काभ्रेको बनेपास्थित धुलीखेल अस्पतालमा उपचार गराउँदै आएकी बुढाथोकीले “आपूm बाँँच्न चाहेको तर उपचार गर्न पैसा नभएको” भन्दै उपचारका लागि सहयोग गरिदिन सार्वजनिक अपिल गरेकी छन् । उनी ६ वर्षकी हुँदा सिस्टेमिक स्क्लोरोसिस नामक घातक रोग लागेपछि बि एण्ड बि अस्पतालमा खुट्टाका औँला काटिए । त्यसैदिनदेखि ज्योतिको कष्टकर जीवन यात्रा सुरु भयो । कमै मानिसमा देखिने यो रोग उपचारका लागि उनलाई परिवारले भारतसम्म पु¥याए । यो रोग पूरै निको नहुँने तर नियमित औषधी उपचारबाट नियन्त्रण गर्न सकिने डाक्टरको सुझाव अनुसार बुढाथोकी १७ वर्षदेखि नियमित उपचार गराउँदै आएकी छिन् । खुट्टाका औँला काटिएपछि पनि उनी समान्य हिडडुल गर्न सक्थिन । र, उनी परिवारको साहारामा विद्यालय जान्थिन् । तिक्ष्ण दिमागकी बुढाथोकी बिरामी भएर पनि उनको पढाई भने राम्रो थियो । उनी अहिले काठमाडौं विश्व विद्यालयको स्कूल आफ आर्टस मिडिया स्टडि स्नातक तह तेश्रो वर्षमा अध्ययनरत छिन् । रोगकै कारण गत जेष्ठ महिनामा खुट्टाको घुँडामुखीको भाग समेत काट्नु परेपछि उनले परीक्षा समेत अस्पतालबाटै थिइन ।

ज्योतिका बुबा ध्रुब बुढाथोकी रामेछापको सदरमुकाम मन्थलीमा सामान्य घडी पसल गर्दै आएका छन् । घडी पसलको आम्दानीले छोरीको उपचार सम्भव थिएन । उनले ५० लाख रुपैयाँमा जमिन बेचेर छोरीको उपचार गराए । बाँकी जमिन सबै बैंकमा धितो राखेर ऋण लिएको उनले बताए । ज्योति पढ्दै थिइन । नियमित उपचार पनि भइरहेको थियो । परिवारले ऋण गरेर भएपनि जसोतसो ज्योतिको नियमित उपचार अनि ज्योति र दुई वटा भाइका लागि पढाई खर्च धान्दै आएको थियो । यसैक्रममा कोरोना संक्रमण फैलियो र लकडाउन भयो । लकडाउनको कारण नियमित उपचारमा जानसक्ने अवस्था रहेन । नियमित उपचारमा जान नसकेपछि ज्योतिलाई असहज हुँदै गयो । असहज भएपछि अस्पताल लैजाँदा अपरेशन गरिएको भागमा इन्फेक्सन भएको डाक्टरले बताए । इन्फेक्सनको कारण उनको खुट्टाको घुँडामुनीको भाग काट्नु पर्यो । अपरेशनको लागि जसोतसो खर्च जोहो गरेका उनको परिवारसँग अब ऋण बाहेक केही छैन । अहिले उनी अस्पतालमा उपचार गराइरहेकी छिन् । उनलाई अहिले दुईदिन घरमा बस्यो भने ४ दिन अस्पतालमै बस्नुपर्ने हुन्छ । खुट्टा काट्नु पहिले नियमित उपचारमा आमासँग गाडी चढेर जान्थिन तर अहिले गाडीको यात्रा सम्भव नभएपछि ट्याक्सीमा अस्पताल लाने ल्याउने गरिएको छ ।

ज्योतिको उपचारमा वार्षिक १५ लाख भन्दा बढी खर्च लाग्ने र यो खर्च जुटाउन सक्ने अवस्था नरहेको बुबा ध्रुव बुढाथोकीले बताए । अहिले नियमित उपचारको लागि समेत खर्च जुटाउन नसकिएको उनले बताए । ज्योतिको नियमित चेकजाँच गर्दै अएका चिकित्सकका अनुसार पछिल्लो अवधिमा मेरुदण्ड र मुटुमा समेत संक्रमण देखिएको । ज्योतिको नियमित उपचारमा धुलीखेल अस्पतालका डा. सविन कायस्थले चेकजाँच गर्दै आएका छन् । ज्योतिको उपचारमा डाक्टर र अस्पतालले पनि सक्दो प्रयास गरिरहेको बुढाथोकीले बताए । उपचारको लागि आवश्यक खर्च जुटाउन सके ज्योतिलाई निको पार्न सकिने उनको उपचारमा लम्लग्न चिकित्सकको भनाई छ । तर परिवार उपचार खर्च जुटाउन सक्ने अवस्थामा छैन । ज्योतिको उपचारमा जायजेथा सम्पूर्ण सकिएपछि परिवार चिन्तित बनेको छ । दिदीको उपचारमा अर्थ अभाव भएपछि ज्योतिका भाई जिवन बुढाथोकी बीचमै पढाई छोड्न बाध्य भएका छन् । परिवारले दिदीको उपचार र पढाई खर्च धान्न नसकेपछि कक्षा १२ उत्तिर्ण जिवनले उच्च शिक्षा पढ्न पाएनन् । ज्योतिका कान्छा भाई सुजन बुढाथोकी अहिले कक्षा १२ को परीक्षा दिएर बसेका छन् । उनले पनि उच्च शिक्षा पढ्न सक्ने अवस्था छैन । ज्योति निको भएपनि जीवनभर औषधी उपचार गरिरहनु पर्ने र परिवारबाट मात्र सम्भव नभएको भन्दै सहयोगि मनहरुमा सहयोगका लागि ज्योतिले अस्पताको शै्याबाट अपिल गरेकी छिन् ।

सहयोग गर्न इच्छुक महानुभावहरुले ज्योति बुढाथोकीको नाममा एनएमवि बैक मन्थली शाखामा रहेको खाता नंम्बर ०२१००१२३५३६०००१२ रकम जम्मा गरिदिन सक्नु हुने छ । सम्पर्क गर्न चाहेमा ज्योति बुढाथोकिको मोबाइल नम्बर ९८६४०१८३४३ र बुबा ध्रुव बुढाथोकको मोबाइल नम्बर ९८४९६४४२३३ मा सम्पर्क गर्न सकिने छ ।

प्रतिकृया

Add