रामेछाप विमानस्थल सञ्चालन गर्न पहल गर्छुः मन्त्री श्रेष्ठ

 शनिबार, अशोज ८, २०७९ | onlinenews

सन्तोष ढुङ्गेल


रामेछाप– पर्यटन तथा नागरिक उड्डयान मन्त्री जीवनराम श्रेष्ठले रामेछाप जिल्लाको एक मात्र रामेछाप विमानस्थल स्थानीयले पनि उपयोग गर्न सकिने गरि सञ्चालनमा ल्याउन पहल गर्ने बताएका छन् ।
विमानस्थल निरीक्षण गर्न समिट एयरको बिमानबाट मन्थली आएका श्रेष्ठले स्थानीय नागरिकले पनि मन्थलीदेखि काठमाडौसम्म विमानमा जान सक्ने व्यवस्थाको लागि छलफल अगाडि बढाउने बताएका हुन् ।
अहिले पर्यटकहरू आउने सिजन भएकाले लुक्लालाई मात्र जोड गरेको र बन्दै गरेका संरचना चित्त बोझ्दो रहेको बताए ।
७ वर्षदेखि मन्थली–काठमाडौं उडान बन्द रहेको रामेछाप विमानस्थलबाट हप्तामा एक पटक भएपनि मन्थली–काठमाडौ उडान गर्न स्थानीयले मन्त्री श्रेष्ठसँग माग गरेका थिए ।


विमानस्थलको निरीक्षण पछि फर्कने क्रममा संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री श्रेष्ठले स्थानीयको माग सम्बोधन हुने गरि छलफल गर्ने बताए । मन्त्री श्रेष्ठले आन्तरिक तथा बाह्य पर्यटकको लागि आवश्यक क्यान्टिन तथा अन्य सुविधाका संरचना तत्काल निर्माण गर्न पनि निर्देशन दिएका छन् । कोरोना महामारीका कारण थलिएको पर्यटन व्यवसाय अक्टोबरदेखि पुनः सुचारु हुने समिट एयरले जनाएको छ । एयरले अक्टोबरदेखि रामेछाप विमानस्थलबाट लुक्लाको लागि नियमित उडान भर्ने जनाएको छ ।
गत वर्ष कोरोना महामारी अगाडिको सिजनमा तारा, समिट र सीता एयरले मन्थली– लुक्ला दैनिक ६० उडान गरेको तारा एयर रामेछापका स्टेसन इन्चार्ज प्रबिन सुबेदिले जानकारी दिए । कोरोनाका कारण रामेछाप विमानस्थल संचालन नभएपछि रामेछापका एक दर्जन भन्दा बढी होटल व्यवसायी विस्थापित भएका छन् ।

प्रतिकृया

Add