मलाई भोट दिनुस्, विरामी पर्दा हेलिकोप्टरमार्फत लगेर उपचार गरिदिन्छुः तामाङ

 आइतवार, कार्तिक २०, २०७९ | onlinenews

नवराज विश्वकर्मा


रामेछाप- रामेछापमा प्रतिनिधिसभा सदस्यका उम्मेद्वार पूर्णबहादुर तामाङ (कान्छाराम)ले विरामी पर्दा आफ्नो व्यक्तिगत हेलिकोप्टरमार्फत लगेर उपचार गरिदिने आवश्वासन दिँदै मतदातासँग भोट मागेका छन् ।
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति निजिकिँदै गर्दा चुनावी अभियानको क्रममा प्रतिनिधि सभा सदस्यका उम्मेदवार कान्छारामले हेलिकोप्टरमा चढाउँने आश्वासन दिँदै मतदातासँग आफूलाई भोट दिन आग्रह गरेका हुन् ।
उम्मेदवारले व्यक्तिगत रुपमा हेलिकोप्टर लिएको छु, मलाई भोट दिनुस्, तपाइँहरु बिरामी हुँदा निःशुल्क ओसार्छु भन्दै चुनावी अभियानका क्रममा प्रचारप्रसार गर्नु निर्वाचन आचारसंहिता विपरीत हुने जानिफकारहरु बताउँछन् ।
काँग्रेस माओवादी गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य लागि उम्मेदवार कान्छारामले निर्वाचन आचारसंहिता विपरीत मतदातालाई प्रभावित गर्ने गरि अभिब्यक्ति दिएको भन्दै आलोचना भइरहेको छ ।
लिखुतामाकोशी गाउँपालिका वडा नं. ३ को चिलाउनेमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कान्छारामले आफूले व्यक्ति लगानीमा हेलिकोप्टर खरिद गरिसकेको बताएका थिए । ‘विगत १० वर्षदेखि हेलिकोप्टरमार्फत रामेछापका नागरिकको उद्धार गर्दै आएको भन्दै विगत वर्षहरुमा कान्छारामले सवारी दुर्घटनामा परेका व्यक्ति, बाढी पीडित, सुत्केरीहरुको उद्धार गरेको बताए ।
उनले भने‘ मैले आफैँ व्यक्तिगत एउटा हेलिकोप्टर खरिद गरेको छु । रामेछापका सम्पूर्ण साथी, आमा, बुबा, दाजुभाइ, दिदी बहिनीहरुलाई; कुनै एक हजार रुपैयाँ पनि जम्मा गर्न सक्ने स्थिति छैन भन्यो भने त्यस्ता बिरामीहरुलाई आफैँ आएर काठमाडौँ लगेर उपचार गरिदिन्छु ।’ १०÷२० हजार रुपैयाँ निकाल्न सक्नेलाई हेलिकोप्टर तेल खर्च, इन्सुरेन्स खर्चसहित बाम्ती, गुम्देलबाट काठमाडौँसम्म लैजाँदा ७० हजार रुपैयाँ लाग्ने रहेछ, म त्यस्तै खर्चमा नाफा नलिई उपचार गराउनेमा छु; उनले भनेका छन् ।
यो कुरा आफ्ना शाखा, सन्तान, क्षेत्रीले क्षेत्रीलाई, तामाङले तामाङलाई, ब्राह्मणले ब्राह्मणलाई, आफ्नो नाता गोता सबैलाई सुनाउँदै सूर्य चिह्नमा भोट हाल्न हुँदैन भन्नु पर्ने कान्छारामले बताएका थिए । ‘यो कुरा तपाई यहाँ आउने सय जनालेमात्र सुनेर हुन्न, आफन्त नातागोता, सम्धी कुटुम्बलाई पनि सुनाउनुस्, उनले भनेका छन् ।’ उनी दोस्रोपटक चुनावी मैदानमा छन् । यसअघि वाम गठबन्धनसँग पराजित भएका कान्छाराम यसपटक माओवादीको समर्थनमा चुनाव लड्दैछन् ।
यता, जिल्ला निर्वाचन कार्यालय रामेछपका प्रमुख मधुकर शाहले मतदातालाई प्रलोभनमा पार्ने गरी अभिव्यक्ति दिन नहुने बताएका छन् । व्यक्तिगत वा सार्वजनिक सभा तथा मञ्चमा त्यसरी मतदातालाई प्रलोभनमा पार्ने गरी उम्मेदवारले भोट माग्न नमिल्ने जिल्ला निर्वाचन कार्यालय रामेछापका प्रमुख शाहले बताए ।
निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को परिच्छेद–४ दफा २० उपदफा १ को (च) मा कुनै उम्मेदवार वा प्रतिनिधिले कुनै लोभलालच वा आर्थिक प्रलोभन देखाउन नपाउने व्यवस्था छ । यसो गरेमा एक लाख रुपैयाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुने ऐनमा व्यवस्था छ ।

प्रतिकृया

Add