रामेछापमा ढुङ्गेल र तामाङ कसले मार्ला बाजी

 सोमवार, कार्तिक २१, २०७९ | onlinenews

नवराज विश्वकर्मा


रामेछाप- आगामी मंसिर ४ गते हुन गइरहेको निर्वाचनकामा रामेछापबाट प्रतिनिधिसभा सदस्यका लागि लोकतान्त्रिक वाम गठबन्धनबाट पूर्णबहादुर तामाङ कान्छारा र नेकपा एमालेबाट कैलाशप्रसाद ढुङ्गेल मुख्य प्रतिस्पर्धी हुन् ।
लोकतान्त्रिक वाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पूर्णबहादुर तामाङ (कान्छाराम) निर्माण व्यवसायि हुन् । ‘कान्छाराम’ ले जिम्मेवारी लिएका विकासका काम समयमै सम्पन्न नगरेको भनि आलोचना समेत भइरहेको छ ।
कान्छाराम नेपाली काँग्रेस रामेछाप सभापति समेत हुन् । यसअघिको निर्वाचनमा एमाले माओवादी गठबन्धनका उम्मेदवार श्यामकुमार श्रेष्ठसँग प्रतिनिधिसभा सदस्यमा पराजित भएका कान्छाराम यस पटक काँग्रेस–माओवादी गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका छन् ।
नेकपा एमालेको तर्फबाट बागमती प्रदेशका निवर्तमान अर्थमन्त्री कैलाशप्रसाद ढङ्गेल प्रतिनिधि सभाका उम्मेदवार छन् । ढुङ्गेललाई पनि बलियो उम्मेदवारको रुपमा लिइन्छ । यद्यपी ढङ्गेल बागमती प्रदेश अर्थमन्त्री हुँदा विकास निर्माणमा जिल्लाको सबै क्षेत्रलाई समेट्न नसकेको आरोप खेप्दै आएका छन् । चुनावी अभियानको क्रममा प्रतिनिधिसभा सदस्यका उम्मेदवार ढुङ्गेल हिजो गरेका कमजोरी सच्याएर साफा नाफा तिर्ने गरी काम गर्छु भन्दै जनतासँग भोट मागिरहेका छन् ।
कान्छाराम तामाङले जनता विरामी पर्दा व्यक्तिगत हेलिकोप्टरमार्फत काठमाडौँ लगेर उपचार गरिदिन्छु भन्ने आवश्वासन बाड्दै भोट मागिरहेका छन् । कस्तो उम्मेदवारलाई निर्वाचित गर्ने भन्ने कुरा मतदातामा भरपर्ने कुरा हो ।

सडक डिभिजन कार्यालय दाङले कान्छारामसँग जुनसुकै बेला सम्झौता तोड्न सक्ने

लोकतान्त्रिक गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार कान्छारामको निर्माण व्यवसायी कम्पनी (कान्छाराम–शंकरमणी)ले कूल ११ करोड ६४ करोड १२ हजार ६५३ रुपैयाँको लागतमा निर्माण गर्ने गरी दाङको घोराही क्षेत्र लमही तुलसीपुर सडक विस्तारको जिम्मेवारी पाएको थियो । सो सडक विस्तारको काम २०७१ साल भदौ ११ गते सुरुगरी २०७२ असोज ३० गते सम्पन्न गर्नेगरी सम्झौता गरेको थियो । त्यस सडक विस्तारको काम समयमा सम्पन्न नभएपछि चार पटक म्याद थप गरिसकेको छ । चौथो पटक २०७७ जेष्ठ २३ गते सम्पन्न गर्नेगरी म्याद थप भएको सडक डिभिज कार्यालय दाङका सूचना अधिकारी इन्जिनियर रिकेश महर्जनले जानकारी दिए । विभिन्न समयमा थप गरिएका म्याद गुज्रिए पनि हालसम्म सडक विस्तारको काम सुरु हुन नसकेको महर्जनले बताए ।
यसरी समयमा कामले गति लिन नसकेपछि सडक डिभिजन कार्यालय दाङले ठेक्का लिएर समयमा काम नगरेको भन्दै कान्छाराम–शङ्करमणी जेभीसँग जुनसुकै समयमा ठेक्का तोडी कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाइने सूचना जारी गरेको छ । सडक डिभिजन दाङले २०७९ असोज १४ गते एक सूचना जारी गरेर यस्तो सूचना जारी गरेको थियो । यस डिभिजन अन्तर्गत ठेक्का व्यवस्थापन भई निर्माण कार्य अघि बढाइएको लुम्बीनी जलजला जेभी निर्माण कम्पनी र कान्छाराम शंकरमणी जेभी निर्माण कम्पनीले सम्झौता बमोजिमको निर्माण कार्य समयमै सम्पन्न हुन नसकेको तथा सम्पन्न गर्न अग्रसर नदेखाएको र कार्य सम्पन्न गर्ने सम्बन्धमा यस डिभिजनबाट दिइएका ध्यानकर्षण पत्र र निर्देशनहरु पटक–पटक उल्लङ्घन गरेको जारी सूचनामा भनिएको छ । यस्तै बिगत ६ महिनादेखि निर्माण स्थलनमा उपस्थित नभएको पाइएको समेत जारी सूचनामा उल्लेख छ । त्यसकारण सम्झौताको GCC clause  को १६.१ अनुसार कार्य सम्पन्न गर्न सूचना प्रकाशित मितिले १५ दिनभित्र कार्य सुरु गरी निर्माण स्थलमा देखिएका त्रुटिहरु सच्याइ छिटोभन्दा छिटो कार्य सुरु गर्न सडक डिभिजन कार्यालय दाङले निर्देशन दिएको थियो ।
समयमा त्रुटि नसच्याई निर्माण कार्य सम्पन्न गर्ने गरी काम अघि नबढाएमा सम्झौताको GCC clause को ५७.२ को termination by the Employer को व्यस्था अनुसार जुनसुकै समयमा ठेक्का तोडी कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाइने छ, जारी सूचनामा भनिएको छ ।
लुम्बिनी–जलजला जेभी निर्माण कम्पनीले दाङको घोराही–कमिरेचौर–प्युठान सडक स्तरोन्नतिको कामको जिम्मा लिएको थियो । लुम्बिनी–जलजला जेभी निर्माण कम्पनीले यो सडक निर्माणको कार्य पनि अहिले अलपत्र अवस्थामा छ । हालसम्म एक पटक म्याद थप भएको बताइएको छ । निर्माणको जिम्मा लिएका यी दुवै कम्पनीका प्रतिनिधि अहिले सम्पर्कमा आए पनि अहिलेसम्म सडक योजनाको कुनै काम सुरु नगरेका सडक डिभिजन कार्यालय दाङका सूचना अधिकारी इञ्जिनियर रिकेश महर्जनले बताए । यता, रामेछापको चिसापानी–पुरानागाउँ सडक आयोजनाको काम पनि सम्झौता बमोजिम गर्न नसकेका स्थानीयले बताएका छन् ।

प्रतिकृया

Add