पेलिएका पेल्मा वस्तीहरु

 बिहिबार, माघ २६, २०७९ | onlinenews

तुलाराज सुनुवार

कहाँ सजिलो छ र पेल्मा पुग्न । रुकुम (पूर्वी भाग) हिमाली जिल्लाको सदरमुकाम देखि झण्डै दुई दिन पैदल यात्रामा पुगिन्छ पेल्मा गाउँ । करिव हजार वर्ष पुरानो ईतिहास बोकेको पेल्मा गाउँ, धेरै पुस्ताले प्राकृतिक स्रोत र साधनको उपभोग गरिरहेको छ । यस्ता गाउँहरु धेरै होलान् जहाँ बस्ने सायद धेरैको जीवन सुख र शहर कस्तो हुन्छ भन्ने थाहा नपाई बित्छ । बिभिन्न जातजातिहरुको संगम रहेको पेल्मा गाउँमा करिब एक सय जति घरपरिवार बसोबास गर्छन् । गाउँमा कुरीति कुसंस्कार हुन्छ भन्ने धेरैको भोगाई हुन्छ । पेल्मा गाउँमा छुवाछत अन्त भइसकेको छ ।
प्राकृतिक सौन्दर्यताको हिसावले धर्तीको स्वर्ग जस्तै ठाउँ यस गाउँको विशेषता अन्य कुनै गाउँको भन्दा केही अनौठो छ । जनताका समस्यालाई कोट्याउन मान्छेहरु विरलै पुग्छन् । पुग्छन त केही स्वदेशी र विदेशी पर्यटकहरु, जो गाउँ वस्तीका तस्वीर खिचेर फर्किन्छन् । वाध्यताले कर्मचारीहरु निर्वाचनको बेला मतपेटिकाको ढ्वाङ्ग लिएर भोट थाप्न पुग्छन । त्यति बेला गाउँमा ठूलै चाड आए जस्तो हुन्छ । पेल्मा घुम्न आएकाहरुलाई स्थानीय खाना त्यति रुची हुन्न । मकैको रोटीको स्वाद र अन्य रैथाने परिकारमा बाहिरबाट आउने मान्छेहरु उति रमाउदैनन् ।
स्थानीय भुक्तभोगीहरु सुनाउँछन् जनयुद्धकालको बेला पेल्मामा निकै चहलपहल थियो । त्रास र उत्साह पनि थियो । त्यो बेला यस गाउँमा जनसरकार थियो । अहिलेको ठूला मान्छे भनेका वडा अध्यक्ष हुन् । कर्मचारी भनेका कार्यालय सहयोगी सरहका मात्र छन् । पेल्मामा जनप्रतिनिधीसँग छलफल गर्ने क्रममा मायाधन कामी भन्छिन ‘आफू महिला वडा सदस्यमा निर्वाचित भए तर कसरी भए आफैलाई थाहा छैन’ ।
पेल्मा यति बिकट छ कि, अन्य ठाउँमा विकल्प हुनेहरुले पेल्मालाई लामो प्रेम गर्दैनन् । उनिहरु जान्छन्, फर्केर आउदैनन् । तर यहीका धर्तीसन्तानहरु भने सुख दुःखमा पेलिएरै भए पनि पेल्मालाई पेवा ठान्छन् । पेल्माबासीहरुको नजिकको शहर भनेकै मैकोट हो अनि ढोरपाटन हुदैजाने वुर्तिवाङ्ग बजार हो । धर्मराज पुनले आफु उमेर छदा कुनै समय बासँग खलंगा र मुसीकोट सबै पैदलै हिडेर पुगेको सम्झना सुनाए । आलुको परिकार वाक्क लाग्दा चामलसँग विनिमय गर्नु परे तीन दिन धाएर वुर्तिवाङ्ग पुगेको याद छ । अहिले त ढोरपाटनसम्म गाडी आउँछ । नयाँ पुस्ताले त्यती धेरै दुःख गर्नु पर्दैन ।


स्थानीयहरु पेल्मामा गाडी आउला भन्ने त कल्पना मात्र होला भन्छन् । उनिहरु सरसामान किन्न पैताला खियाउदै मैकोट र तकसेरा पुग्छन् । तर अचाक्ली महंगीले मन कुड्याउछ । नजिक बजार भए पनि टाढा जाँदा दुई पैसा बच्छ । टाढा जानु परेमा घोडा खच्चरको सहायता लिएर जानु पर्दछ ।
पेल्मालीहरुसँग कति दुःख छ भनेर बुझ्न बीरमान कामीको कथा सुने पुग्छ । उनले सुनाए, ‘श्रीमती विरामी परिन हेलीकप्टरमा लैजाने पैसा छैन । दुई दिन लाएर घोडामा हालेर बुर्तिबा¨ अस्पताल पुर्याए । धन्न बाँचिन ।’
पेल्मामा टेलिफोनको टावर टिप्दैन । त्यसैले जेनतेन धन जुटाएर हेली बोलाउँछु भन्नेले पनि सम्पर्कको लागि टेलिफोन टावर लाग्ने ठाउँसम्म पुग्दा विरामीको अवस्था नजाती भईसक्छ । केही स्थानीयले गाउँमा टेलीफोनको टावर टिप्ने होला भनेर मोबाईल पनि किनेर राखेका रहेछन् । तर त्यो मोबाईल गीत सुन्न मात्रै काम आएको रहेछ ।


विरमानको दिदी आशु विकको कथा उस्तै छ । पैसा कमाएर परिवारलाई सुख दिने भनेर मुग्लान लागेको श्रीमान् चीन (तिब्बत) तीर नै सुतेकै ठाउँमा मृत्यु भयो भन्ने खवर आयो । जीवनमा नसोचेको खवर आउदा उनलाई धर्ती भासिए जस्तो भयो । यो गाउँलाई छोडेर जाउँ भने तीन जना सन्तान छन् । कसरी पाल्ने भन्ने ठूलो चिन्ता छ । उनले श्रीमान् विते पछि घोडाले समेत हेप्न थालेर वेला वेलामा बुरुक्क उफ्रिने गरेको बताइन् ।
स्थानीय ललिता पुनलाई पेल्मामा गाडी आएको हेर्न मन छ । तर यतिका वर्ष वितिसक्यो । उनको बचपन हुदै जवानी सकियो । अहिले जीवन डुब्न लागेको घाम जस्तै भयो । तर उनको प्रश्न अनुत्तरित छ ।
परिवर्तन गर्छु भन्ने र केही अगुवाहरुलाई पेल्माका समस्याहरु सामान्य लाग्छ । जनताको नजिकको सरकार भनिने स्थानीय सरकारको अहिले पाँच वर्ष पुरा भई अर्को कार्यकाल शुरु भएको छ । पेल्मामा ठूलो सरकारी निकाय वडा कार्यालय हो । गाउँका जे समस्या भए पनि वडाध्यक्षलाई सुनाउने हो ।
सरकारले दिगो विकासको नीति ल्याएको छ । यसको अर्थ विकासमा कोही छुट्नु हुदैन, विकासको फल सबैले पाउनुपर्छ भन्ने हो । तर पेल्मा पुगेपछी पेल्मालाई यस नीतिले छुन्छ र भन्ने प्रश्न मनमा बारम्बार उब्जिन्छ ।
पेल्मामा आठ कक्षा सम्म मात्र पढ्न पाईन्छ । थप पढ्नु परेमा दिनभरि लाएर मैकोट वा दुई दिन लाएर तकसेरा जानु पर्छ । बाटोमा खच्चड खेदाउदै गरेका रामुभाईले खर्च झेल्नु पर्ने भएर पनि आपूm पढाई छाडेर खच्चड खेदन थालेको बताए । उनका बुबाले भनेको रे ‘पढ्यो लेख्यो कुची काम हलो जोत्यो खायो माम’ । बाबुको भनाईले पनि उनलाई पढ्न मन लाग्दैन । नजिक विद्यालय भएको भए त आफुले एसईईसम्म्म पढथे कि भन्ने अनुमान उनी सुनाउँछन् । उनलाई पढ्न नपाएकोमा ठूलो चिन्ता छ । तर अब त व्यवहारमा फसियो अर्को जुनीमा होला भनेर उनी चित्त बुझाउंछन् ।


पेल्माका स्थानीयहरु सरकारी जागिरे छैनन् । बाहिरबाट आएका कर्मचारीहरु पनि बढुवाको लागि अंक जोड्न वा आफ्नै चाँजोपाँजो मिलाउन आउँछन भन्ने स्थानीयको बुझाई छ । किनकी उनीहरुले कार्यालय सहायकले वडाको सबै काम गरेको देखेका छन् । वडा सचिवको दरवन्दी कहिल्यै पुरा नहुदा चाहिएको बखत सेवा नपाएको अबस्था भोगेका छन् ।
पेल्मामा पिउने पानीको त्यस्तै समस्या छ । मुहान टाढा छ । खानेपानी तथा सिंचाई डिभिजन कार्यालयले पिउने पानी र सिंचाईको लागि शुरु गरेको आयोजना दुई वर्ष वितिसक्दा पनि अझै पुरा भएको छैन । विकास निर्माणका कामहरु जाडोमा सिमेन्ट नै जोडिन्न । बर्षामा पानीले काम गर्न दिदैन । त्यसैल यो आयोजना कहिले टुंगिने हो कसैलाई थाहा छैन ।


स्थानीय उत्पादन भएर होला विद्युतको समस्या त्यति छैन । औंशीको रातमा जुनकेरीले बत्ती बाले जस्तो पेल्मामा राती झलमल हुन्छ । फिरीमायाको फुपु भदैनीलाई डिस होम राखेर दोहोरी गित र इन्द्रेणी कार्यक्रम हेर्दै छमछम नाचेको हेर्न खुब काम दिएको छ ।
पेल्मामा राम्रैसँग स्याउ फल्छ । विदेशमा जस्तो फ्रिज चाईन्न । प्रकृतिले नै सिंगो गाउँलाई चिस्यान केन्द्र बनाईदिएको छ । स्याउ र आलु माटो मुनी राखे पुग्छ । साउन भाद्रको समयमा त्यही स्याउलाई टिप्यो काट्यो सुकायो । केहीको सुकुटी बनायो केहीको जुस । जाडो गर्मीमा त्यही पियो जीन्दगीमा चलिहाल्छ भन्छन स्थानीयहरु ।
वडा अध्यक्ष जस बहादुर श्रीपालीले मुस्ताङ्गको मार्फा जस्तै स्याउको रक्सी उत्पादन गर्न नसोचेको पनि होईनन् । उनले सुनँए, ‘त्यसैको लागि धाएर मुस्ताङ गईयो तर बनाउने मेसिन तीस देखि चालिस लाख पर्ने रहेछ । वडाको बजेटले धान्न सक्ने कुरै भएन’ । उनको चाहाना संघीय र प्रदेश सरकारले त्यो जडान गरे देखि स्याउको ब्राण्डी बनाई जनताले खच्चडमा राखेर रुकुमकोट, ढोटपाटन र वुर्तीबाङ्ग सम्म पु¥याउदा गर्जो टार्ने पैसा हुन्थ्योकी भन्ने छ । तर यी कुरामा कसैको चासो देखिन्न् ।


पेल्माको सिंगो गाउँ ढोरपाटन शिकार आरक्ष भित्र परेकोले सबैलाई काँडे तारको जाली भित्र बस्नु परेको अनुभूति छ । रुकुम पूर्वको चार ब्लकमा सरकारले आरक्ष भित्र शिकार खेलाएर आम्दानी लिन्छ तर त्यसको कुनै हिस्सा स्थानीयले पाउँदैनन् । स–सानो काम गर्न पनि स्थानीयहरु आरक्षले केही पो गरिहाल्छ कि भनेर डराउँछन् ।
शिकार आरक्ष भित्र बस्ती परेकोले बराजुको पाला देखि घाँस, दाउरा गर्ने, कन्दमुल खोज्न जान पाईन्न जानु परे पनि पुर्जी काट्नु पर्छ । उनीहरुले गाउँको पुनः सिमाङ्कन होस भनि धेरै ठाउँ धाए । तर कुनै सुनुवाई भएन ।
यस्ता पेलीएका बस्तीहरु पेल्मा मात्र हुन त ? जनयुद्धको राजनीतिक लहरमा पेल्माबासीलाई सबै गाउँको मुहार नै फेरिन्छ जस्तो लाग्दथ्यो । अहिले प्रणाली फेरिएको छ । पेल्माहरु बाहेक धेरै कुरा फेरिए होलान तर पेल्मा बस्तीमा रहेका घरको छाना बाहेक केही फेरिएन । कसैलाई पछाडी पार्नु हुदैन भन्ने सरकारको पनि सपना छ । सन् २०३० मा दिगो विकासको लक्ष्य हासिल गर्ने नीति तय गरेको छ । तर पेल्मालीहरुले भोगेको अभाव र पिडाको अन्त गरेर मात्र सरकारको नीति र पेल्माबासीको सपना पुरा हुन्छ ।

(लेखक तुलाराज सुनुवार रुकुम (पूर्वी भाग) जिल्लाको प्रमुख जिल्ला अधिकारी हुनुहुन्छ । इ-कान्तिपुरबाट

प्रतिकृया

Add

Comments are closed.

1 COMMENTS
  • Himal John Katuwal

    Appreciated💗