जनमतको सम्मान हुनेगरी काम गर्छौँ: अध्यक्ष खड्का

 शनिबार, माघ २८, २०७९ | onlinenews

 गोकुलगंगा गाउँपालिकाका अध्यक्ष काजीबहादुर खड्का ‘दिनेश’ सँग भएको कुराकानी ।

तपाईं निर्वाचित भएको ८ महिना भयो, के–के गर्नुभयो ? के गर्दैहुनुहुन्छ ?

हामीले ८ महिनामा चालूवर्षको बजेट बनायौँ । कच्ची सडकहरू सञ्चालनमा छन् । वर्षामा पहिरो जाने र भुक्षय हुने भएकाले यातायातमा समस्या भोग्नुपरेकाले त्यस्तो बाटोलाई प्राथमिकतामा राखेर पूर्णता दिएका छौँ । दसैँ–तिहारमा दुःख नहोस् भनेरसडक मर्मतलाई पहिलो प्राथमिकतामा राखेर काम ग¥यौँ । विद्यालय भवन, प्रशासकीय भवन हामीले नै शुरुवात गरेका छौँ । त्यसमा २० प्रतिशत काम भएको छ । ठूला सडक निर्माणका लागि एउटा बाहेक सबै ठेक्का प्रक्रियामार्फत् काम सञ्चालनमा आएका छन् । सबै नागरिकलाई सुविधा पुगोस् र दुःख नहोस् भनेर वडावडामा गएर उपभोक्ता समितिमार्फत् गर्नुपर्ने कामको सम्झौता भइसकेका छन् । उपभोक्ता समितिमार्फत् गर्नुपर्ने सम्झौता पछि २०-२५ प्रतिशत काम सकिएको छ ।
हामी निर्वाचित भएपछिको सुरुको आर्थिक वर्ष भएकाले समृद्ध गोकलगंगा निर्माणका लागि अधुरा कामलाई पूर्णता दिनतर्फ लागेका छौँ । बजेट कार्यान्वयनमा ल्याउन जोड दिइरहेका छौँ ।

चुनावताका शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन्छु भन्नुभएको थियो, यी क्षेत्रमा कस्ता काम हुँदैछन् ?

हो, शिक्षालाई पहिलो प्राथमिकतामा राखेका छौँ । पहिलो चरणमा अनुगमन, बहस र छलफलमा छौँ । प्रधानाध्यापक, शिक्षक र विद्यालय व्यवस्थापन समितिसँग समूहगत छलफल, अभिभावक बुद्धिजीविहरूसँग छलफल गरिरहेका छौँ । विद्यालयलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने छलफलमै लागिरहेका छौँ ।
स्वास्थ्यको कुरा गर्दा १५ शैयाको अस्पताल सञ्चालनमा छ । भौतिक संरचना बनिसकेको छैन । ठेक्का प्रक्रियाद्वारा भवन निर्माणलाई व्यवस्थित गर्नुुपर्छ भनेर लागिरहेका छौँ । विभिन्न स्वास्थ्यचौकीमा करारमा कर्मचारीको ठाउँमा आएका स्थायी कर्मचारीलाई तालिम गोष्ठी दिइरहेका छौँ । मेशिन खरिदसहित स्वास्थ्यसेवालाई प्रभावकारी बनाउन आवश्यक पर्ने कुरामा छलफल गरेर अगाडि बढिरहेका छौँ ।

तपाइँले माटे सडकको अप्ठेरो सुनाउनुभयो । सडक पूर्वाधारमा भएका प्रगति र योजना बताइदिनुस् न ।

सडक व्यवस्थित बनाउन माटे सडकमा ढुंगा ओछ्याउने, मूलसडक कालोपत्रे गर्न फाइल अगाडि बढाइएको छ । केही खन्नैपर्ने सडक चाहिँ कटिङ भइरहेको छ । भएका सडकलाई व्यवस्थित गरिरहेका छौँ । भविष्यसम्म हुनेगरी कुन बाटो कति मिटरको बनाउने भन्ने खाका बनाउँदै छौ । हामीलाई कत्रो बाटो चाहिन्छ भनेर नागरिकसँग सल्लाह पनि लिइरहेका छाँै । भुक्षय भएका गोरेटो बाटोहरूमा पनि मोटरसाइकल र ह्वीलचेयर गुड्नेसम्म बनाउन लागिरहेका छौँ ।

गाउँपालिकामा रोजगारीको सृजना गर्ने के–कस्ता काम गर्दै हुनुहुन्छ ?

युवाहरू सहर जाने गाउँ नबस्ने अवस्था छ । यो काम गर्न पाए गाउँमै बस्ने थियौँ भन्ने युवाहरूका लागि सूचना निकालेर कामको सूचिकृत गर्ने, खाका बनाउने र आगामी आर्थिक वर्षमा सम्बोधन गर्ने कुरा छ । कतिलाई रोजगारीमा, कतिलाई कृषिमा र कतिलाई पशुपालनमा जोड्न सकिन्छ । यहाँ उत्पादनका स्रोत, खानीका स्रोत के–के छन् ? सबै कुराको डाटा निकालेर युवाहरुसँगै छलफल गरेर समूहगत गर्ने वा एकल गर्ने भन्ने निक्र्यौल गरेर पालिकाको नीतिभित्र छिरेर सहयोग गर्नेगरी योजनाहरू बनाउँदैछौँ ।

खानेपानीबारे केही कुरा गरौँ न । खानेपानीको पहुँचमा के कस्तो काम हुँदैछ ?

पालिकामा ‘एक घर एक धारा’ कार्यक्रम चलिरहेको छ । कम्तीमा ४ हजार घरमा धारा जोडिसकेका छौँ । पानीको स्रोत पर्याप्त छ, मुहानको समस्या छैन । तर व्यवस्थापनमा कमजोरी देखिएका छन् । मुहान दर्ता र संरक्षण गर्न खानेपानी ऐन बनाउँदै छौँ । ऐन बनेपछि खानेपानी व्यवस्थापन सहज हुनेछ । यहाँ गोर्खा वर्ड भन्ने संस्थाले वडा नं. ६, ५, ३ र २ मा काम गरेको छ । खानेपानीको कुनै समस्या छैन भन्न सकिन्छ ।

अशक्त, अपाङ्गता भएकाहरू र विपन्नमैत्री कार्यक्रमबारे बताइदिनुस् न !

हामीले योक्षेत्रमा कुनै काम थालेका छैनौँ । तर उनीहरुका समस्या, अपेक्षा र उनीहरुले गर्नसक्ने कामबारे बुझेर गाउँपालिकाबाट गर्न मिल्ने कुराहरूमा परामर्श र छलफल भइरहेको छ । क र ख वर्गका अपाङ्गता भएका व्यक्तिहरूले त भत्ता पनि पाइरहेका छन् । तर, ग र घ वर्गका अपाङ्गता भएका व्यक्तिहरूलाई सीपमूलक तालिम दिनेगरी छलफल चलाइरहेका छौँ । अल्पसंख्यक, पिछडिएको वर्गका लागि के गर्न सकिन्छ भनेर चिन्तनमा छौँ ।

गाउँपालिकाको ५ वर्षे विकास योजनामा के–के समेट्नुभएको छ ?

पाँचवर्षे योजनामा भौतिक संरचना, शिक्षा, पर्यटनकै विषय मुख्य छ । अङ्ग्रेजी माध्यमबाट कसरी पढाउने ? परम्परागत प्रवृत्तिलाई कसरी बदल्ने ? सम्मानजनक शिक्षाका लागि के गर्न सकिन्छ भन्ने चिन्तनका साथ १–५ सम्म गुणस्तरीय शिक्षा दिनेगरी लागिरहेका छौँ । घर– घरमा खानेपानी पु¥याउने, मुहान व्यवस्थित गर्ने, गाउँपालिकाको भवनलाई पूर्णता दिने कुराहरू, वडा कार्यालय व्यवस्थापन, मठ–मन्दिर व्यवस्थापन गर्ने कुरा समेटिएका छन् । यहाँ दोलखा भीमसेन भन्दा पनि पुरानो भीमसेनथान छ भन्ने बूुढापाकाको भनाइ छ, त्यस्ता सम्पत्तिमा कसरी पर्यटन जोड्ने, पाँचपोखरी, जट्टापोखरीमा कसरी पर्यटक पुग्नसक्ने गरी सडक र पदमार्ग बनाउने, स्वास्थ्यक्षेत्रमा थप १५ वेडको शैय्या थप्ने, थप सडक निर्माण, पुनर्निर्माण र कालोपत्रे गर्ने कुराहरू पञ्चवर्षे योजनामा छन् । त्यस्तै कृषिलाई उत्पादनमुखी बनाउने, भण्डारस्थल बनाउने, पशुपालन बढाएर डेरी सञ्चालन गर्ने, उत्पादित सामग्रीको बिक्री र बजार बढाउने कुराका योजना बनाएका छौँ । समग्रमा भन्दा आर्थिक र सामाजिक रुपमा कमजोर वर्गलाई समेट्ने गरी घरघरमा सेवा पु¥याउने कुरामा जोड दिएका छौँ ।

अन्त्यमा केही भन्न चाहानुहुन्छ कि ?

गोकुलगंगाबासीले जुन उत्साह र अपेक्षाका साथ मतदान गर्नुभएको छ, यसको सम्मान हुनेगरी काम गर्नेछौँ । जनपक्षीय काम गर्नेछौँ, नागरिकलाई निरास बनाउने छैनौँ । पालिका बनाउन सबै एकजुट हुन जरुरी छ ।

प्रतिकृया

Add