आयोजनाको अवधि ३ महिनामात्र हुँदा ३० प्रतिशत काम

 मङ्लबार, फाल्गुन २, २०७९ | onlinenews

नवराज विश्वकर्मा


रामेछाप- रामेछापको सेलेघाट–रामेछाप–साँघुटार सडक निर्माण कार्य सुस्त गतिमा भइरहेको छ । आयोजनाको निर्धारीत तीन महिनामात्र बाँकी हुँदा निर्माण कार्य भने ३० प्रतिशत मात्रै भएको छ । भारतीय एक्जिम बैंक अफ इण्डिया र नेपाल सरकारको गरी कुल १ अर्ब ९५ करोडमा निर्माण हुन लागेको सो सडक २०७७ कार्तिक २६ गते नेपाल सरकार र भारतीय निर्माण कम्पनी टेलिकम्युनिकेसन इन्डिया लिमिटेडबीच कालोपत्रे गर्ने सम्झौता भएको थियो । भारतीय निर्माण कम्पनीले आयोजना निर्माणको जिम्मा नेपाली निर्माण व्यवसायी दिपेन्द्रबहादुर शाहीको सिद्धिशाही निर्माण कम्पनीलाई दिएको थियो । सिद्धिशाही निर्माण कम्पनीले खण्ड–खण्ड विभाजन गरी स्थानीय निर्माण व्यवसायीलाई निर्माणको जिम्मा दिएको थियो । स्थानीय निर्माण व्यवसायीहरुले सडक चौडा बनाउने र नाला कटिङको काम सुरु गरेपछि सिद्धिशाही निर्माण कम्पनीले १० प्रतिशत मोविलाइजेन रकम लिएर बेपत्ता भएपछि लामो समय निर्माण कार्य नै रोकिएको थियो । लामो समय अलपत्र परेको सडक कालोपत्रेको काम केहिदिन अघिमात्रै सुरु भएको छ । अव्यवस्थित सडकका कारण सवारी साधनहरु फस्ने, घण्टौँसम्म रोकिने गरेका थिए । ठूला सवारी साधनहरु फस्दा दुई पाङ्ग्रे सवारी साधन ठलेर र बोकेर निकाल्नुपर्ने अवस्था छ । निर्माण व्यवसायीले समयमा काम नगर्दा हिउँद महिनामा समेत यात्रा गर्न कठिन भएको रामेछाप नगरपालिका–साँघुटारका जीवन खड्काले गुनासो गरे । देउरालीदेखि साँघुटारसम्मको सडक निर्माणको काम धिमा गतिमा भएको रामेछाप नगरपालिका–३ का अध्यक्ष दलबहादुर प्रधानले बताए । सडकको काम सुस्त गतिमा भएको विषयमा नगरकार्यापालिकाको बैठकमा समेत छलफल भएको बताउँदै निर्माण व्यवसायीलाई काम तत्कालै अघि बढाउन आग्रह गरिएको पनि वडा अध्यक्ष प्रधानले बताए । केही दिन पहिले काम सुरु भए पनि गतिलिन भने नसकेको अध्यक्ष प्रधानको भनाई छ । ३० महिनामा सडक कालोपत्रेको सम्पन्न गर्ने सम्झौता छ तर आयोजना सम्झौता भएको २७ महिना वितिसक्दा पनि कामको प्रगति भने ३०.५० प्रतिशतमात्रै रहेको छ । साँघुटार–सेलेघाट सडक कालोपत्रे आयोजना परामर्शदाताको कार्यालय हिलेपानीका प्रमुख सूर्यप्रसाद ढकालले बताए । आयोजनाका लागि आवश्यक कुनै पनि उपकरण तथा सामाग्री निर्माण व्यवसायीले कार्यस्थलमा नल्याएको उनको भनाई छ । आयोजनाको लागि आवश्यक ५० प्रतिशत उपकरण तथा सामग्रीहरु भारतबाटै खरिद गरिनुपर्ने प्रावधान राखिएको पनि आयोजना प्रमुख ढकालले जानकारी दिए । सम्झौताअनुसार भारतबाट ल्याउने पर्ने क्रसर प्लान्ट, सिमेन्ट, डण्डी, ग्याविन, विटुमिन लगायतका सामाग्री खरिदका लागि सरकारले प्रमाणित गरेर दिइएकोमा निर्माण कम्पनीले कुनैपनि सामानहरु खरिद नगरेको आयोजना प्रमुख ढकालले बताए । सडका आयोजनाको विषयमा स्थानीय सरकार, प्रशासन र मन्त्रालयमासमेत पुगेर निर्माण व्यवसायीलाई झिकाई लिखित सम्झौता गरिएको तर सम्झौता बमोजिम काम हुन नसकेको उनले बताए । सालुदेखि थाक्ले डाँडासम्म सडकको दुरावस्थाले आफूलाई निकै चिन्तित तुल्याएको भन्दै वर्खामा सवारी आवतजावतमा ठूलो समस्या हुने बताए । अहिले केही स्थानमा सडक चौडा बनाउने, नाला कटिङ र मेसिनरी वालको लगायतका काम भइरहेको उनले बताए ।

निर्माण कम्पनीको लापरबाही, सरकारको ढिलासुस्ती

निर्माण व्यवसायीको लापरबाहीको कारण आयोजनाले गतिलिन नसकेको आयोजना प्रमुख ढकालले बताए । प्रभावित क्षेत्रको लगत संकलन भएपनि बजेट निकासा नभएकाले सडक विभागले समयमा मुआब्जा वितरण गर्न नसक्दा पनि आयोजना निर्माण कार्यमा ढिलाई भएको उनको भनाई छ । आयोजनाबाट प्रभावित सबैको लगत उठाएर जिल्ला वन डिभिजन कार्यालय पठाइए पनि अनेक बहानाबाजी गरेर सम्बन्धित निकायमा नपठाइदिएकाले पनि आयोजना निर्माणमा ढिलाई भएको प्रमुख ढकालले बताए । वन विभागबाट, वन मन्त्रालय हँुँदै मन्त्रिपरिषदबाट निर्णय भएपछि मत्रै वन कटानी फडानी गर्न पाइने व्यवस्था छ । कृषि ज्ञान केन्द्र रामेछापले आयोजना प्रभावित क्षेत्रमा पर्ने सुन्तला, कागती, जुनार लगायतका बोट विरुवाको लगत संकलन तथा मुल्यांकन गरिसकेको तर मुआब्जा वितरणमा ढिलाई भइरहेको छ । मुआब्जा, वन क्षेत्र, कोरोना लगायतका समस्या देखाएर निर्माण व्यवसायीले आयोजना निर्माणका लागि म्याद थपको माग गरेको ढकालले जानकारी दिए । आयोजना निर्माणको लागि अझैँ पनि नेपाल सरकारको तर्फबाट हरसम्भव प्रयत्न गर्ने र त्यसपछि पनि ठेकेदारले काम नगरेमा ठेक्का तोड्नुको विकल्प नभएको ढकालको भनाई छ । ठेक्का तोड्ने प्रक्रियामा जाँदा राज्यलाई आर्थिक व्ययभार बढ्ने साथै छिमेकी लगानीसमेत गुम्न सक्ने भएकाले म्याद थपेर भएपनि सम्बन्धित निर्माण कम्पनीमार्फत आयोजना अघि बढाउनु पर्ने बाध्यता रहेको प्रमुख ढाकालले बताए । रामेछापका प्रतिनिधिसभा सदस्य पूर्णबहादुर तामाङ (कान्छाराम) ले सकड कालोपत्रेको कामलाई जतिसक्दो चाँडो अघि बढाउन कन्सल्टेन्सीसँग कुरा गरिसकेको बताए । आगामी वैशाख÷जेठसम्म सकिए ठूलो सौभाग्य प्राप्त हुने सांसद तामाङको भनाई छ ।

प्रतिकृया

Add