आफ्नो मृत्यु दर्ता गरेर श्रीमतिलाई विधवा भत्ता

 मङ्लबार, फाल्गुन ३०, २०७९ | onlinenews

 रामेछाप- जिल्लाको मन्थली नगरपालिका –३ रामबाबु खत्रीले आफ्नी श्रीमतिलाई एकल महिला (विधवा) भत्ता खुवाएको तथ्य सार्वजनिक भएको तथ्य सार्वजनिक भएको छ । जीवितै रहेको खत्रीले आफ्नो मृत्यु भएको प्रमाणपत्र बनाएर श्रीमतिलाई विधवा भत्ता खुवाएको तथ्य सार्वजनिक भएको हो । खत्रीले आफ्नो मृत्यु प्रमाण–पत्र बनाएर आफ्नी श्रीमती निर्मला खत्रीलाई १५ महिनाको विधवा भत्ता खुवाएको खुलासा भएको हो । खत्री केही समय अगाडि जिल्ला प्रशासन कार्यालयबाट रामेछाप कारागारमा सरुवा भएका थिए । श्रीमतीलाई विधवा भत्ता खुवाएको खुलासा भएपछि कारबाही हुने डरले खत्रीले जिल्ला कारागार सरुवा भएको केही समयमै जागिरबाट राजिनामा दिएको हुन जानिफकारहरू बताउँछन् ।
तत्कालीन वडा सचिव शिवकुमार महतोले २०७८ साल भदौ २१ गते विधवा भत्ताको लागि परिचय–पत्र सोही दिनदेखि लागू हुने गरी जारी गरेको पाइएको छ । निर्मलाको नाममा जारी परिचय–पत्रमा बुबा आमाको मात्र राखेर पतिको नाम खुलाएका छैनन् । मन्थली नगरपालिकाबाट प्राप्त सूचना अनुसार निर्मलाले २०७९ माघ सम्ममा १५ महिनाको सामाजिक सुरक्षा (विधवा) भत्ता बुझेकी छिन् । पतिको मृत्युपछि पाउने विधुवा भत्ता निर्मलाले श्रीमान् जीवितै हुँदा लिएकी हुन् ।
तत्कालीन वडा सचीव महतोद्वारा हस्ताक्षरित प्रमाणपत्र अनुसार निर्मलाले मासिक २ हजार ६ सय ६० रुपैयाँका दरले १५ महिनामा ३९ हजार ९ सय रुपैयाँ भुक्तानी लिएको पाइएको छ । निर्मलाको श्रीमान् जीवितै रहेको थाहा हुन आएपछि उनको भत्ता कटौती गरिएको मन्थली नगरपालिकाले जनाएको छ । हालका वडा अध्यक्ष कृष्णगोपाल थापाले निर्मलाले विधवा भत्ता लिएको कुरा साँचो भएको बताएका छन् । आफ्नो कार्यकाल भन्दा अगाडिको घटना भएकाले आफू निर्वाचित भएपछि सम्पूर्ण रकम फिर्ता गराएको थापाले जानकारी दिए । अख्तियार दुरुपयोग सम्बन्धी नियमन गर्ने निकाय जिल्ला प्रशासन कार्यालयले भने रकम फिर्ता गराउने अधिकार कुनै जनप्रतिनिधि र कर्मचारीलाई नभएको बताएको छ । जीवित मानिसको मृत्यु दर्ता गरी लाभग्राही कायम गराउने र भत्ताको रकम दिनेलाई प्राप्त प्रमाणका आधारमा भ्रष्टाचारको मुद्दा लाग्ने प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले बताए ।

प्रतिकृया

Add