उषा मानन्धरको पीडा : उपचार खर्चको अभावले ६ वर्षदेखि एकैथलामा

 शुक्रबार, चैत्र १०, २०७९ | onlinenews

रामेछाप– ६ वर्षअघि घाँस काट्ने क्रममा रुखबाट लड्दा मेरुदण्ड फ्याक्चार भएर थला परेकी रामेछापको खाँडादेवी गाउँपालिका–४ सिमपानीकी उषा मानन्धर अहिले पनि एकै थलामाजस्तै छन् । मानन्धरको कम्मर मुनिको भाग चल्दैन । १२ लाख रुपैयाँ खर्चेर मेरुदण्डको अपरेशन गरिएपनि कम्मर मुनिको भाग नचलेपछि उपचार खर्च अभावमा उषा छटपटाई रहेकी छन् । कम्मर मुनिको भागलाई सक्रिय बनाउन नियमित थेरापी गराउनुपर्ने चिकित्सकको सुझाव छ । चिकित्सकको सुझाव अनुसार ३ महिना थेरापी पनि गराइन् । त्यसपछि पैसाको अभावमा थेरापी गराउन सकेकी छैन । ३ महिनाको थेरापीपछि वैशाखीको सहारामा मुस्किलले घर बाहिर र भित्र गर्न सक्ने भइन् तर अझै कम्मर मुनिको भाग चल्दैन । दिसा, पिसाब लागेको महसुस हुने तर द्धारबाट बाहिर गएको थाहाँ नहुने भएकाले पाइपको माध्यमबाट निकाल्ने गरिएको उनले बताइन् । उनले भनिन्– ‘दिसा, पिसाब लागेको महसुुस हुनसाथ भाँडा थापिहाल्नु पर्छ नत्र कपडामै जान्छ ।’ दुई वर्षसम्म त सुतेको ठाउँबाट दाँयाबायाँ पनि चल्न सक्दैन थिइन् उषा । अहिले वाकरको सहारामा घर भित्र र बाहिर गर्नसम्म सक्ने भएकी छन् । खर्चको अभावमा थेरापी गराउन छाडेको लामो समय भइसकेको छ । नियमित थेरापी गराउन पाए कम्मर मुनिको भाग चल्ने आशा अझै मरेको छैन उषाको ।


घरको एकजना नियमित उषाको हेरचाहमा खटिइनु पर्छ । उषाको श्रीमान मेलापात जाँदा ८४ वर्षीय ससुरा देवनारायण मानन्धरले उनको हेरचाह गर्दै आएका छन् । देवनारायणले गहभरी आँसु पार्दै भने ‘छोरा बुहारीले अफ्नो हेरचाह गर्नुपर्ने बेलामा उल्टै बुहारीको स्याहार गर्नु परेको छ ।’ मलाई कालले पनि लादैन, मर्न पाए, बुहारीको दुःख त देख्नु पर्ने थिएन उनले गुनासो गरे । उषाको उपचारको लागि खेत बेच्दा पनि नपुगेपछि गाउँमा ऋण समेत गरेको उनकी श्रीमान श्यामकुमार मानन्धरले बताए । मानन्धरले भने ‘१२ लाखमा खेत बेचेँ, ६ लाख रुपैयाँ ऋण तिर्न बाँकी नै छ । पैसा आउने बाटो कही नभएपछि विरामी घरमै राख्न बाध्य भएँ ।’
उपचर गर्न पाए अझै पनि ठीक हुने आशा छ तर उपचार गर्ने पैसा नै छैन उनले गुनासो गरे । ‘विरामी आफैले खाना बनाएर खान सक्ने र शौचालय जान सक्ने मात्र भएपनि म काम गरेर ऋण तिर्ने थिएँ’ उनले भने । उषालाई ठीक हुन् लामो समय थेरापी गर्नुपर्ने भएकाले छिमेकीको सहयोगबाट मात्र उपचार सम्भव नभएको छिमेकी उषाकुमारी गिरीले बताइन् । उषाको उपचारको लागि सहयोग गरिदिन सरकार र सहयोगिहरुमा उनले अपिल समेत गरिन् । हिउँदभरी इटा भट्टमा काम गरेर जीविकोपार्जन गर्दै आएका मानन्धर परिवारलाई अहिले बिहान बेलुका छाक टार्नसमेत धौधौ परेको छ । उषाको उपचार खर्च जुटाउन १ रोपनी खेत बेचेपछि बाँकी खेत बारीको उब्जनीले तीन महिना पनि खान नपुग्ने छिमेकी गिरीले बताइन ।

प्रतिकृया

Add