विपन्नको विद्युत महसुल वडाले तिरिदियो

 शुक्रबार, चैत्र १०, २०७९ | onlinenews

रामेछाप-  रामेछापको लिखु तामाकोसी गाउँपालिका–२ सैपुका विपन्न नागरिकले प्रयोग गरेको विद्युत्को महसुल वडा कार्यालयले तिरिदिएको छ । सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत विपन्न नागरिकले प्रयोग गरेको विद्युत्को महसुल वडा कार्यालय मार्फत भुक्तानी दिन सुरु गरिएको वडा कार्यालयले जनाएको छ ।
५ एम्पायर क्षमताको मिटर जडान गरी विद्युत् सेवा उपभोग गर्दै आएका विपन्न नागरिकको विद्युत महसुल भुक्तानी दिन लागिएको वडाध्यक्ष सन्तोष पौडेलले जानकारी दिए । लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण उपक्षेत्र अन्तर्गतको विपन्न लक्षित विद्युत् महसुल शीर्षकमा विनियोजित रकमबाट शुक्रबारदेखि भुक्तानी दिन सुरु गरिएको वडाध्यक्ष पौडेलले बताए ।
वडामा रहेका विपन्न समुदायको साउनदेखि चैत्र महिनासम्मको न्यूनतम विद्युत् महसुल वडा कार्यालयले तिर्ने पनि उनले बताए । महसुल भुक्तानीका लागि विद्युत् खपत भएको बिलसहित वडा कार्यालयमा सम्पर्क गर्नु पर्ने पौडेलले बताए । विपन्न समुदायको विद्युत् महसुल वडा कार्यालयले तिरिदिने निर्णय अनुसार विद्युत् महसुल भुक्तानी गरिएको अध्यक्ष पौडेलको भनाइ छ

प्रतिकृया

Add