समन्वय इकाइले तीन शिक्षकलाई किन दिएन नियुक्ति, आफ्नो तजबिजले नियुक्ति दिने इकाइ प्रमुख भट्टराईको भनाइ

 सोमवार, चैत्र १३, २०७९ | onlinenews

रामेछाप– शिक्षा विकास तथा समन्वय इकाइ रामेछापले ३ जना शिक्षकलाई नियुक्ति दिएको छैन । शिक्षा विकास तथा समन्वय इकाइ रामेछापले मिति २०७९ चैत्र ६ गते स्थायी शिक्षक नियुक्तिमा प्राथमिकता क्रमलाई मध्यनजर गरी स्थानीय तह छनोट गरी चैत्र १० गतेभित्र फाराम भरेर निवेदन पेश गर्न सूचना जारी गरेको थियो । सोही अनुसार प्रावि तह तृतीय श्रेणीमा रामेछाप जिल्लाका लागि नाम निकालेका ७२ जना मध्ये ७१ जनाले फाराम भरी पालिका रोजेर निवेदन दिएका थिए । तर इकाइ प्रमुख भरतबहादुर भट्टराईले योग्यता क्रमको ५७, ६६ र ७० नम्बरमा रहेकालाई बाँकी राखेर अन्य ६८ जनलाई मात्रै नियुक्ति दिएका छन् ।
प्रावि तह तृतीय श्रेणीका नयाँ शिक्षक नियुक्तिका लागि निवेदन शुल्क बुझाएका ३ जनालाई नियुक्ति नदिई बाँकी ६८ जनालाई मात्र नियुक्ति दिनुले आर्थिक चलखेल भएको आशंका गरिएको छ । योग्यता क्रमको आधारमा नियुक्ति दिंदा दुर्गम ठाउँमा पुग्ने भएपछि आर्थिक चलखेल गरी उनीहरुलाई सुगम ठाउँमा पार्न नियुक्ति नदिएको हुनसक्ने आशंका उत्पन्न भएको छ । इकाई प्रमुख भट्टराइले शक्तिको दुरुपयोग गरी योग्यता क्रममा अगाडि रहेकालाई दुर्गम पालिका पठाएर योग्यताक्रम धेरै पछाडि रहेकालाई सदरमुकाम र आसपास पार्ने उद्देश्यले अहिले नियुक्ति नदिएको उनको कार्यले छर्लङ्ग पारेको छ ।
चैत्र ६ गते प्रकाशन गरिएको सूचना अनुसार ८ पालिकामा रिक्त दरवन्दी संख्या ७२ रहेको छ । तर भट्टराइले सोमबार ६८ जनालाई मात्र नियुक्ति दिएका छन् । जिल्लाका सबै पालिकामा गरी रिक्त दरबन्दी ७२ रहेकाले सोही अनुसार पठाउनु पर्ने भएपनि आफैले प्रकाशन गरेको सूचनालाई लत्याउँदै कुनै पालिकामा बढी र कुनै पालिकामा घटी शिक्षक पठाएका छन् ।
८ दरबन्दी रिक्त रहेको रामेछाप नगरपालिकामा ९ जना पठाएका छन् । त्यस्तै उमाकुण्ड गाउँपालिकामा ५ दरन्दी रिक्त रहेकामा ४ जना मात्र पठाएका छन् । ५ दरबन्दी रिक्त रहेको लिखु तामाकोशी गाउँपालिकामा पनि ४ जना पठाइएको छ भने ८ दरबन्दी रिक्त रहेको दोरम्बा शैलुङ्ग गाउँपालिकामा ५ जना मात्रै शिक्षक पठाइएको छ । नियुक्ति नदिइएका ३ जनाले फाराम किनेको रसिद भएपनि फाराम नभरेकाले नियुक्ति नदिएको भनि इकाइ प्रमुख भट्टराईले गैरजिम्मेवार जवाफ दिएका छन् ।
स्थायी शिक्षक नियुक्तिमा योग्यता क्रमलाई मिचेर पछाडी रहेका शिक्षकहरुलाई नियुक्ति किन नदिएको भन्ने जिज्ञासामा भट्टराईले १० गतेसम्म फाराम नभरेकाले नियुक्ति नदिएको दावि गरे । तर, फाराम शुल्क तिरेको रसिद भने उनैले देखाएका छन् ।
रसिदमा तीनै जनाले १० गते अगाडी नै फाराम खरिद गरेको देखिएको छ । ६८ जनालाई नियुक्ति दिंदा ३ जनालाई चाँहि किन नदिएको ? भन्ने प्रश्नमा फाराम नभरी नियुक्ति दिन नमिल्ने भन्दै भट्टराले आफ्नो गल्ती ढाकछोपको प्रयास गरे । उनीहरुलाई नियुक्ति कहिले दिनुहुन्छ ? भन्ने प्रश्नमा भट्टराईले भने–‘मेरो तजबिजले दिन्छु ।’ ३ जनाले १० गतेसम्म फाराम नभरेको बताएको शिक्षा इकाइले १३ गतेसम्म पुनः फाराम भर्न सूचना निकालेको छैन । चैत्र १३ गतेकै मितिमा नियुक्ति नदिने हो भने उनीहरुको बढुवामा समेत असर पर्नेछ । सोमबार नियुक्ति नदिइएका ३ जनालाई चैत्र १३ गतेकै मिति राखेर नियुक्ति दिइयो भने भट्टराइले आर्थिक चलखेल गरेको मानिने छ ।

(पैसा तिरेको ररिद, पालिकामा रिक्त सहितको सूचना र हाल पदास्थापना भएको प्रमाण हामीसँग सुरक्षित छन् ।)

प्रतिकृया

Add