देश र जनताको रक्षा सेनाको प्रमुख दायित्व : शर्मा

 मङ्लबार, चैत्र २१, २०७९ | onlinenews

रामेछाप- नेपालका प्रधान सेनापति प्रभुराम शर्माले देश र जनताको रक्षा नेपाली सेनाको संवैधानिक दायित्व भएको बताए । ‘देशको भौगोलिक अखण्डता, राष्ट्रिय एकता र नागरिकको रक्षा गर्नु हाम्रो प्रमुख संवैधानिक दायित्व हो, प्रधान सेनापति शर्माले भने । नेपाली सेनाले विश्वशान्ति स्थापनामा ठूलो योगदान पुर्याएको भन्दै नेपाली सेनाले विश्वमा नेपालको प्रतिष्ठा बढाउने काम गरेको बताए । श्री नम्बर ९ बाहिनी अड्डा अन्तर्गत रामेछापको मन्थलीमा मंगलबार आयोजित भूतपूर्व सैनिक सम्मेलनको उद्घाटन कार्यक्रमलाई संबोधन गर्दै प्रधान सेनापति शर्माले यस्तो बताएका हुन् । नेपाली सेनाले विकास निर्माण तथा पर्यावरण संरक्षणमा समेत योगदान गर्दै आएको बताए ।
प्रधान सेनापति शर्माले भूतपूर्व सैनिकहरुलाई जीवनमा प्राप्त ज्ञान र सीपलाई आपूm बसोवास गरिरहेको ठाउँमा प्रयोग गर्दै राष्ट्रको हित र नागरिकको सेवामा समर्पित गर्न आग्रह गरे । सधैँ अनुशासित सैनिक र सच्चा नेपाली नागरिकका रूपमा प्रस्तुत गर्न पनि आग्रह गरे ।
शर्माले भूतपूर्व सैनिकको जीवनलाई थोरै भएपनि सरल, सहज र सुखी बनाउन नेपाली सेना प्रयत्नशील रहेको बताए । उनले सैनिक कल्याणकारी कोषको रकम पारदर्शी रूपमा सदुपयोग गर्दै सीमित स्रोत–साधनका बाबजुद शिक्षा, स्वास्थ्य, स्वरोजगार र सहुलीयत मार्फत सम्पूर्ण हिताधिकारीलाई सुविधा उपलब्ध गराउँदै आइरहेको बताए । थप सेवा विस्तारमा नेपाली सेना प्रयत्नशील रहेको पनि शर्माको भनाइ छ । कार्यक्रममा नेपाली सेनाका बलाध्यक्ष रथी सीताराम खड्काले कल्याणकारी गतिविधिलाई सरल, सहज र विस्तार गर्न निरन्तर प्रयास भइरहेको भन्दै यस्ता सम्मेलनले भूपु सैनिकबिच आपसी भेटघाट र मिलन समेत हुने बताए ।
कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत गौरव तन्डुलले सेनामा हिताधिकारीको आयआर्जनका नयाँ क्षेत्र पहिचान गर्दै लगानी मार्फत कल्याणकारी कार्यमा नयाँ सोचका साथ अघि बढ्ने बताए । नेपाली सेनाको श्री नम्बर ९ बाहिनी अड्डा अन्तर्गत रामेछापमा स्थायी बसोवास गर्ने भूतपूर्व सैनिकका लागि लक्षित गरी ‘भूतपूर्व सैनिक सम्मेलन २०७९’ गरिएको हो । सम्मेलन जङ्गी अड्डाको व्यवस्थापन र नेपाली सेना कल्याणकारी बोर्डको संयोजकत्वमा भएको हो । भूपु सैनिकको कल्याणकारी कार्यलाई समन्वय गर्ने उद्देश्यले विसं २०७० असोज २१ गते नेपाली सैनिक कल्याणकारी बोर्डको स्थापना भएको थियो ।

प्रतिकृया

Add