मन्थली नगरले लियो पर्यटन विकासका लागि सुझाव

 शुक्रबार, चैत्र २४, २०७९ | onlinenews

 रामेछाप- रामेछापको मन्थली नगरपालिकाले नगरको पर्यटन विकासका योजना तथा कार्यक्रम बनाउन सरोकारवालासँग सुझाव लिएको छ । नगरपालिकाले शुक्रबार एक कार्यक्रमको आयोजना गरी पर्यटन विकासको सम्भावना, अवसर र चुनौतीका बारेमा सरोकारवालासँग सुझाव लिएको हो । कार्यक्रममा सहभागी सरोकारवालाहरुले नगरपालिकामा पर्यटन विकास गर्न रामेछाप विमानस्थलको दीगो विकास, मन्थली बजारमा व्यवस्थित पार्किङ, दीगो फोहोर व्यवस्थापन, हरियाली व्यवस्थापन साथै व्यवस्थित पार्क निर्माण गर्न सुझाव दिएका छन् । तीनलाल स्मृति पर्यटकीय पार्क लगायत नगरपालिका भित्र निर्माणाधीन पूर्वाधारहरू समयमै सम्पन्न गर्न तत्काल पहल गर्नु पर्ने पनि सरोकारवालाहरुको सुझाव छ । मन्थली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद चापागाईँले नगरपालिकामा पर्यटन विकासका लागि लुक्ला उडान भइरहेको रामेछाप विमानस्थलको दीगो व्यवस्थापन, मन्थली बजारमा व्यवस्थित पार्किङ र बजार क्षेत्रको फोहोरको दीगो व्यवस्थापन गर्न अत्यावश्यक देखिएकाले नगरपालिकाले सोही अनुसार योजना बनाउने बताए । रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले नगरको पर्यटन विकासका लागि प्राकृतिक र मानव निर्मित सम्पदाहरूको संरक्षण र व्यवस्थापन गरी आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने बताइन् । हरियाली व्यवस्थापन, खुला स्थानमा पार्क निर्माण, बजार व्यवस्थापन र सौन्दर्यताका लागि काम गर्नु पर्ने प्रजिअ निरौलाको भनाइ छ ।
मन्थली बजारको मुख्य सडकमै पार्किङ भइरहेकाले तत्काल अन्यत्त्र पार्किङको व्यवस्थापन गर्नु पर्ने निरौलाले बताइन् । मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले कार्यक्रमबाट आएका सुझावहरूलाई समावेश गरी नगरपालिकाले पर्यटन विकासका योजना तथा कार्यक्रम बनाउने बताए । सरोकारवाला सबैसँग आवश्यक समन्वय र सहकार्यमा नगरपालिका पर्यटन विकासमा लाग्ने उनको भनाइ छ । मन्थली बजार व्यवस्थापनका लागि व्यवस्थित पार्किङको खोजी गरिरहेको बताउँदै नगर प्रमुख श्रेष्ठले नगरभित्र निर्माणाधीन भौतिक संरचनाहरूको काम समयमै सक्न ताकेता गरिरहेको बताए । अहिले लुक्ला उडान भरिरहेका मन्थलीको आकाशेस्थित रामेछाप विमानस्थल व्यवस्थापनका लागि नगरपालिकाले सम्बन्धित निकायसँग कुरा गरिरहेको बताए । रामेछाप विमानस्थल व्यवस्थापनमा नागरिक उड्डयन प्राधिकरण गम्भीर नबन्दा समस्या भएको नगरप्रमुख श्रेष्ठको भनाइ छ ।

प्रतिकृया

Add