फरक क्षमता भएका र वृद्धालाई घरमै नागरिकता

 शनिबार, चैत्र २५, २०७९ | onlinenews

रामेछाप– रामेछापको रामेछाप नगरपालिका–४ हिमगंगाका फरक क्षमता भएका र वृद्धालाई घरमै नागरिकता प्रदान गरिएको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौला नेतृत्वको टोली फरक क्षमता भएका २५ वर्षीय नरबहादुर माझी र ७२ वर्षीय वृद्धा भक्तमाया सुनुवारको घरमै पुगेर नागरिकता प्रदान गरिएको हो । ७२ वर्षकी सुनुवारको यस अघि पनि नागरिकता बनाउन प्रयास गरिएपनि अन्य मानिससँग नजिक नपर्ने साथै मोबाइल र क्यामेरा देख्ने वित्तिकै भाग्ने भएकाले फोटो खिच्न नसक्दा नागरिकता बनाउन नसकिएको रामेछाप नगरपालिका–४ का वडा सदस्य रोजकुमार श्रेष्ठले बताए । उनले भने– ‘परिवारका सदस्य बाहेकका व्यक्तिसँग नजिक नपर्ने र मोबाइल तथा क्यामेरा देखेपछि भाग्ने भएकाले फोटा खिच्न मात्र १ वर्ष लाग्यो ।’ परिवारका सबै सदस्यहरु सुस्त मनस्थित र विपन्न परिवार भएकाले सामाजिक सुरक्षा भत्ता दिलाउने उद्देश्यले यसअघि नागरिकता बनाउन धेरै प्रयास गरिए पनि बनाउन सकिएको थिएन । अहिले प्रमुख जिल्ला अधिकारी सहितको टोली आएर घरमै नागरिकता प्रदान गरिएको छ, अब तत्कालै सामाजिक सुरक्षा भत्ताको लागि प्रक्रिया अघि बढाउँछौँ, उनले भने ।

नागरिकता नबन्दा उनीहरु सामाजिक सुरक्षा भत्ता लगायतका सरकारी सेवा सुविधाबाट बञ्चित भएका थिए । प्रमुख जिल्ला अधिकारी सहित जिल्ला प्रशासन कार्यालयको टोली घरमै पुगेर नागरिकता प्रदान गरिएपछि ७२ वर्षीय भक्तमाया सुनुवारकी बहिनी मैया सुनुवारले खुसी व्यक्त गरिन् । यातायातको सहज पहुँच नहुदा उनीहरुलाई जिल्ला प्रशासन कार्यालयसम्म ल्याउन सम्भव नभएकाले शनिबारको दिन पारी घरमै पुगेर नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले बताइन् । अशक्त तथा अपाङ्गता भएका व्यक्तिलाई सहज सेवा प्रदान गर्नु राज्यको दायित्व भएकाले फरक क्षमता भएका व्यक्ति र ७२ वर्षीय वृद्धालाई घरमै पुगेर नागरिकता प्रदान गरिएको प्रजिअ निरौलाले बताइन् । जिल्लाका अन्य पालिका तथा वडाहरुमा अशक्त तथा आपाङ्गता भएका व्यक्ति भए, घरमै गएर सेवा प्रदान गर्ने बताउँदै त्यस्ता व्यक्ति बारे जानकारी दिन पनि अनुरोध गरिन् ।
लामो समयको प्रयासपछि फरक क्षमता भएका नगरबहादुर माझी र ७२ वर्षीय वृद्धा भक्तमाया सुनुवारलाई नागरिकता दिलाउन सफल भएको रामेछाप नगरपालिका उपप्रमुख बालकुमारी कार्कीले बताइन् । नागरिकता प्राप्त गरेका माझी र सुनुवारलाई सामाजिक सुरक्षा भत्ता दिलाउन तत्कालै प्रक्रिया अघि बढाउने पनि कार्कीले बताइन् ।

प्रतिकृया

Add