रामेछापमा सांस्कृति तथा सडक महोत्सव हुने

 आइतवार, चैत्र २६, २०७९ | onlinenews

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीमा नयाँ वर्ष २०८० को अवसरमा वैशाख १ र २ गते ‘रामेछाप सांस्कृति तथा सडक महोत्सव हुने भएको छ । रामेछाप जिल्लामा उत्पादित कृषिजन्य वस्तु तथा दूग्धजन्य परिकारहरु, जडिबुटी लगायतका वस्तुहरु प्रचारप्रसारका प्रदर्शनीमा राखिने छ । स्थानीय कच्चा पदार्थबाट निर्मित जिल्लाभरीका उत्पादित वस्तुहरु प्रदर्शनीमा राखिने आयोजना रामेछाप उद्योग वाणिज्य संघले जनाएको छ । रामेछाप उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको रामेछाप सांस्कृतिक तथा सडक महोत्सवको मुख्य प्रयोजक मन्थली नगरपालिका रहेको छ भने प्रायोजकमा रामेछाप नगरपालिका रहेको छ । रामेछाप होटल तथा पर्यटन व्यवसायी संघ सह–आयोजक रहेको महोत्सवको सहयोगीहरुमा जिल्ला समन्वय समिति, रामेछाप, घरेलु तथा साना उद्योग कार्यालय, रामेछाप, जनजाति महासंघ रामेछाप, पञ्चेबाजा संरक्षण समाज, मन्थली बजारका टोल सुधार समितिहरु, रामेछाप साँस्कृतिक कलाकार समाज र रामेछाप सामुदायिक अस्पताल रामेछाप रहेको छ । महोत्सवको लागि १० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको रामेछाप उद्योग वाणिज्य संघका कार्यकारी अधिकृत नवीन केसीले जानकारी दिए । सडक महोत्सवमा मन्थली बजारको देवकोटाचोकदेखि कृषि विकास बैँकसम्म प्रदर्शनीको लागि स्थान तय गरिएको पनि उनले जानकारी दिए । चैत्र २८ गते उद्योग वाणिज्य दिवसको अवसरमा संघले विभिन्न कार्यक्रमको आयोजना गर्ने साथै साँझ दीपावली गर्ने कार्यक्रम रहेको पनि केसीले जानकारी दिए ।
तामाकोसी, सुनकोसी, खिम्ती, लिखुको पानीको बहाव, शैलुङ्ग डाँडाको मनोरम दृश्य पाँचपोखरी, जटापोखरी, भाले पोखरी बहुलाहा पोखरी रामेछापका ऐतिहासिक र पर्यटकीय स्थलहरू हुन् । ठोसेको फलामखानी र फलामबाट बनेका टुकी बत्ती, हिमाली भेगको चौँरी र चौँरीको दूधबाट बनेको चिज, तामाकोसी, सुनकोसी, लिखु, चिसापानी गढी र खिम्ती खोलाका माछा तथा माछाको परिकार जुनारको जुस, माझी, हायू, सुनुवार नाँच, तामाङ सेलो, झाँकी नाँच, लाखे नाँच तथा लोपोन्मुख नौमती बाजा रामेछापका पहिचान हुन् । मन्थली नगर क्षेत्रभित्रका धार्मिक स्थल, स्थानापति, तिल्केस्थान खाँडादेवी, दुर्गानदी, ढिकुरी, नीलकण्ठेश्वर, नर्वदेश्वर महादेव त्रिवेणी, रजागाँउ भीमसेन, नीलकण्ठेश्वर मन्दिर लगायत रहेका छन् ।
जिल्लालाई चिनाउने विभिन्न प्राकृतिक स्रोत तथा पर्यटन तथा धार्मिक स्थालहरु र घरेलु तथा साना उद्योगबाट उत्पादित हस्तकला तथा मौलिक उत्पादनहरूको पनि आफ्नै पहिचान छ । परम्परागत रूपमा तयार गरिने उनीकपडा, गलैँचा झोला ढाका, टोपी र ढाकाका कपडा अदुवाको व्यापार, जुनार, कागती तथा बेल, किवी लगायतका जुस, लोक्ता फर्निचर एवम् विविध कृषि जन्य उत्पादनहरू पनि रामेछापको चिनारीको रुपमा रहेको छ । रामेछाप जिल्लामा चिनाउने जिल्लामा उत्पादनहरुको स्टल राखिएने आयोजकले जनाएको छ । पर्यटन प्रवर्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको रामेछाप साँस्कृति तथा सडक महोत्सवको ५० हजार मानिसले अवलोक गर्ने अनुमान गरिएको छ ।

प्रतिकृया

Add