मोटरसाइकल चोरीमा प्रहरीकै संलग्नता

 सोमवार, बैशाख ४, २०८० | onlinenews

सन्तोष ढुङ्गेल


रामेछाप- रामेछापको मन्थली नगरपालिका–१ रणजोर खोला नजिकैको ग्यारेजबाट हराएको मोटरसाइकल चोरीमा प्रहरी कर्मचारीकै संलग्नता रहेको खुलासा भएको छ । ग्यारेजमा पार्किङ गरिएको बागमती प्रदेश ०२ ०२८ प ०९०७ नम्बरको मोटरसाइकल वैशाख २ गते हराएपछि मोटरसाइकल धनी रमेश नेपालीले प्रहरीमा उजुरी गरेका थिए । उजुरी पछि प्रहरीले खोजी कार्य अगाडि बढाएको थियो । खोजीका क्रममा मोटरसाइकल मन्थली नगरपालिका–१ को हाटेचौरमा भेटिएपछि प्रहरीले मोटरसाइकल धनी रमेश नेपाली बोलाएर सनाखत गराएको उनले बताए । बाइक चोरी गर्ने पत्ता लागेको र यो नै हो भन्ने आफूलाई जानकारी नभएको पनि नेपालीले बताए । यसबारे जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्दा चोरी गर्ने ब्यक्ति नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको र जानकारी दिन नमिल्ने प्रतिक्रिया आएको छ । एक प्रहरी कर्मचारीले नाम नबताउने सर्तमा भने चस्मा लगाउने भण्डारी उपनामले चिनिने एक प्रहरी कर्मचारी रहेको जानकारी प्राप्त भएको बताए । उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको पनि खुलासा भएको छ ।

प्रतिकृया

Add