करोडमाथि क्षति, हजारमा क्षतिपूर्ति !

 बुधबार, बैशाख ६, २०८० | onlinenews

रामेछाप- रामेछाप नगरपालिका-६ ओख्रेनीका लालबहादुर तामाङको जुनार बगैँचा लगायत अन्य फलपूmल तथा बोटबिरुवाहरू आगलागीबाट जलेर नष्ट भएका छन् । गएको चैत्र २८ गते सिलिङ्गे चेप्टेढुङ्गा सामुदायिक वनमा लागेको आगो ओख्रेनीको भोक्कीनीस्थित जुनार बगैँचामा प्रवेश गर्दा ३ सय २२ बोट जुनार जलेर नष्ट भएको कृषक लालबहादुर तामाङले बताए ।
कृषक तामाङका अनुसार आगलागीबाट बगैँचामा रहेका ३ सय ३८ बोट जुनारमध्ये ३ सय २२ बोट, जापानी हलुवावेदको रुख १, जापानी नास्पातीको रुख १, स्थानीय जातको नास्पातीको रुख १, अनारको रुख ५, आँपको रुख ३, उत्तिसको रुख ६० लगायत मसलाका बोटविरुवाहरू जलेर नष्ट भएका छन् ।
‘जुनारको बगैँचाले वार्षिक ८ लाखदेखि १२ लाख रुपैयाँसम्म आम्दानी दिँदै आएको थियो,’ तामाङले भने । आगलागीबाट २ करोडभन्दा बढी क्षति भएको तामाङको दाबी छ । तामाङले भने ‘जुनार खेती नै मेरो आम्दानीको एकमात्र स्रोत हो, वार्षिक लाखौँ रुपैयाँ आम्दानी दिँदै आएको बगैँचा जलेर नष्ट भएपछि अहिले म सडकमा आइपुगेको छु ।’ ‘योे घटना मेरो जीवनकै ठुलो बज्रपात हो’ उनले भने ।
भएको सबै जग्गामा फलफूल तथा तरकारी खेती लगाएको थिएँ, डढेलोले सबै सखाप पारिदियो, अब मसँग एउटा घरबाहेक केही छैन, तामाङले दुःखेको पोखे । कृषि ज्ञान केन्द्र, जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयबाट क्षति अवलोकनका लागि आउनु भएको थियो, उहाँहरूले दिने क्षतिपूर्तिको रकम सुन्दा म छाँगाबाट खसेझैँ भएँ । ‘नियम अनुसार प्रतिरोपनी १ हजार ५ सय रुपैयाँ क्षतिपूर्ति दिने व्यवस्था रहेछ, १६ रोपनी क्षति भएको उहाँहरूको मूल्याङ्कन अनुसार मैले क्षतिपूर्ति स्वरूप पाउँने २४ हजार रुपैयाँ मात्र रहेछ’ उनले भने । ‘करोड क्षति भएको छ २४ हजारले के हुन्छ र ? भो मलाई चाहिँदैन भनिदिएँ’ तामाङले भने ।
मेरो जीविकोपार्जन गर्ने बाटो नै बन्द भएको छ । स्थानीय सरकार, कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, सुन्तला-जुनार जोन लगायत सबैले केही गर्न सकिँदैन भन्छन् उनले गुनासो गरे । सोही डढेलोले लालबहादुरको सँगै फत्तबहादुर खड्काको बगैँचामा पनि ३५ बोट जुनारका बोटहरू नष्ट गरेको छ । अहिले पनि जिल्लाका विभिन्न स्थानहरूमा आगलागी भइरहेका छन् । आगोले ठूलो क्षति पुर्‍याइरहेकाले नियन्त्रणका लागि सम्बन्धित निकायले सक्रिय पहल लिन आवश्यक देखिएको छ ।

प्रतिकृया

Add