मृत्यु भइसकेको व्यक्तिको नाममा भत्ता

 बुधबार, बैशाख ६, २०८० | onlinenews

रामेछाप-  रामेछापको दोरम्बा शैलुङ्ग गाउँपालिकाले मृत्यु भइसकेका व्यक्तिको नाममा पनि सामाजिक सुरक्षा भत्ता निकासा गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको लेखा परीक्षण प्रतवेदनमा दोरम्बा शैलुङ्ग गाउँपालिकाका कतिपय वडाले मृत्यु भइसकेका व्यक्तिको नाममा समेत सामाजिक सुरक्षा भत्ता दिंदै आएको खुलासा भएको हो ।
कानुनतः सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिको मृत्यु भएमा वा त्यस्तो व्यक्ति सामाजिक सुरक्षा भत्ता पाउन योग्य नभएमा निजको नाम सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिको नाम अभिलेखबाट हटाउनु पर्ने उल्लेख छ । तर, महालेखा परीक्षकले लोखापरीक्षणका क्रममा वडा नम्बर ३ र वडा नम्बर ७ को मृत्यु दर्ताको अभिलेख र वडा नम्बर २ को लगत कट्टाको अभिलेख परीक्षण गर्दा मृत्यु भइसकेका व्यक्ति पनि लाभग्राहीको सूचीमा कायम रहेको र मृतकका परिवारका सदस्यले सामाजिक सुरक्षा भत्ता नियमित बुझ्दै आएको पाइएको हो ।
विवरणका आधारमा महालेखा परीक्षकको कार्यालयले मरेको मितिभन्दा पछि सामाजिक सुरक्षा भत्ता दिन नमिल्ने भएकोले सम्बन्धित पक्षसंग उक्त रकम असुल उपर गरी संघीय संचित कोषमा दाखिला गर्न पनि लेखा परीक्षण प्रतिवेदनमा भनिएको छ ।
यस बारेमा पालिकाका सूचना तथा सञ्चार प्रविधि अधिकृत उज्वल पाठकसँग सम्पर्क गर्दा गतवर्ष वडा सचिव नयाँ भएको र सामाजिक सुरक्षा भत्ता वितरणका क्रममा केही कमजोरी भएको स्वीकार गरे । कार्यालयले केही ब्यक्तिको लगतकट्टा गराउन छुटेकाले समस्या आएको बताए । सरोकारवाला व्यक्तिले मृत्यु दर्ताको प्रक्रिया पूरा गरिसकेको पनि उनले बताए ।

प्रतिकृया

Add