रामेछापमा दूधको गुणस्तर निर्धारण

 शुक्रबार, बैशाख ८, २०८० | onlinenews

सन्तोष ढुङ्गेल


रामेछाप– जिल्लामा उत्पादन र बिक्री हुने दूधको गुणस्तरको आधारमा मूल्ल निर्धारण गरिएको छ । व्यवसायीहरुले गाइको दूध १ सय र भैंसीको दूध १ सय २० रुपैयाँमा बिक्री वितरण गर्दै आएकमा बिहीबार जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाहरुको बैठकले न्युनतम फ्याट ४ प्रतिशत र एस.एन. एफ. न्यूनतम ८ प्रतिशत भएको गाइको दूधको मूल्य ९५ रुपैयाँ निर्धारण गरेको छ । भैंसीको दूधमा भने न्यूनतम ५ प्रतिशत फ्याट र न्युनतम ८ प्रतिशत गुणस्तर भएको दूधमात्र बिक्री वितरण गर्न दिने निर्णय भएको रामेछापका निमित्त प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले जानकारी दिए ।
दूग्ध व्यवसायीहरुले विना लेवलको दूभ तथा दूग्धजन्य वस्तु बिक्री वितरण गरेको पाइएपछि जिल्लाका सरोकारवालाहरुको बैंठकबाट यस्तो निर्णय गरिएको घिमिरेले बताए । बैठक निमित्त प्रमुख जिल्ला अधिकारी घिमिरेको अध्यक्षतामा बसेको थियो ।
आम नागरिकको घरघरमा दूध पुगोस् र गुणस्तरीय दूध खान पाउन् भन्ने उद्देश्यले दूध तथा दूधबाट उत्पादित बस्तुमा गुणस्तर लागू गरिएको पनि निमित्त प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए । दूग्ध संस्थानको नारा बोक्ने अनि प्लास्टिकमा प्याक गरेर दूध बेच्ने परम्पराको अन्त्य गर्न आवश्यक रहेको भन्दै शुक्रबार बिहानैदेखि अनुगमन गरिने समेत घिमिरेले बताए । नागरिकको स्वास्थ्यमा खेलबाड गर्ने र गुणस्तरहीन काम गर्ने कसैलाई छुट नदिने पनि घिमिरेको भनाइ छ ।

प्रतिकृया

Add