वित्तीय साक्षरता कक्षाले फेरियो, सुस्मिताको जीवन

 शनिबार, बैशाख १६, २०८० | onlinenews

सागर बिक्रम बस्नेत


कपिलवस्तु– देशमा बेरोजगारी समस्याले धेरै परिवारलाई छुट्टिन बाध्य बनाएको छ । घर परिवार चलाउनकै लागि धेरै मानिस वैदेशिक रोजगारीमा छन् । घरखर्च धान्न नसकेर श्रीमानले विदेश जान्छु भन्दा सुस्मितालाई कता–कता दुखेझैँ लाग्थ्यो । आफ्नै देशमा रोजगारीको पाइएको भए उहाँलाई विदेश जानु पर्ने थिएन, सुस्मिता भन्छिन् । श्रीमान साथमा नहुँदा सुस्मितालाई जीवन नुन बिनाको तरकारी झैं लाग्न थालेको छ, आजभोली ।
यतिमात्र होइन श्रीमान परदेश गएपछि समाजमा धेरैले कुरा काट्छन् त्यसको पात्र म आफू बन्नु पर्दा नरमाइलो लाग्छ उनले सुनाइन् । कपिलवस्तु जिल्ला शिवराज नगरपालिक–९ की सुस्मिता मगर आफूसहित ४ जनाको परिवारमा बस्नुहुन्छ । परिवारमा दिगो आम्दानीको स्रोत थिएन । छोराछोरी नहुञ्जेल जीवन जेनतेन चलिरहेको थियो तर २ सन्तानककी आमा भएपछि उनलाई खर्च धान्न निकै मुस्किल भयो । खाने मुख थपिएपछि खर्च पनि वढ्न थाल्यो । श्रीमानको कुनै पेशा थिएन । सुस्मिताका श्रीमानलाई अर्काको देशमा गएर काम गर्न मन थिएन । गाउँघरमा पैसा आउने काम गर्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो । तर उनले भनेजस्तो काम नपाए पछि ३ वर्ष अघि साउदी हानिए । श्रीमान साउदी गएपछि घर चलाउने जिम्मेवारी सुस्मिताको काँधमा आयो ।


शिवराज नगरपालिकाले नगरभरी सुरक्षित आप्रवासन (सामी) कार्यक्रम चलाइरहेको छ । सुरक्षित आप्रवासन कार्यक्रमले विदेश जानेलाई सूचना दिने, सीप तालिम दिनुका साथै व्यक्तिगत तथा सामूहिक मनोपरामर्श र बित्तीय साक्षरता कक्षा सञ्चालन गरिहेको छ । २०७८ को कार्तिक महिनामा शिवराज नगरपालिकामा सञ्चालित सामी रोजगार प्रवद्र्धन कार्यक्रमको आयोजना र डिप्रोक्स नेपालको प्राविधिक सहयोगमा सुस्मिताको गाउँमा वैदेशिक रोजगारीमा गएका परिवारका लागि वित्तीय साक्षरता कक्षा सञ्चालन गर्न समूह भेला र्कायक्रमको आयोजना गरियो । सुस्मितालाई पनि कक्षामा बसौं–बसौं लाग्यो । भेलामा सहभागि भएर कक्षाको बारेमा थाहा पाएकी सुस्मिताले २४ हप्ता चल्ने कक्षामा धेरैखाले विषयको छलफल हुने जानकारी पाइन् । कक्षामा छलफल हुने विषयले उनको ध्यान तान्यो र नियमित कक्षामा जान थालिन् । कक्षामा सुस्मितो बित्तीय सहजकर्ताले भनेको कुरा चाख लिएर सुन्थिन् । कक्षाको छलफल सुन्दा सुस्मितालाई आफैलाई देखेर बित्तीय साक्षरता कक्षा गाउँमा आएजस्तै लाग्थ्यो ।

बित्तीय साक्षरता तथा मनोपरामर्श कक्षामा छलफल हुने खर्च व्यवस्थपानका कुरा, परिवार व्यवस्थपनका कुरा, पारिवरिक बजेट, वित्तीय लक्ष्य, विपे्रषणको सदुपयोग, बचतजस्ता विषय उनलाई जीवन उपयोगी लाग्यो । कक्षाका सिकेका कुराले उनलाई पनि केही गर्न सकिन्छ भन्ने आशा पलायो । बित्रीय साक्षरता कक्षाले आफूमा आत्मावल बढेर आएको उनले बताइन् ।
कक्षा नियमित चल्दै थियो । यसै बिचमा शिवराज नगरपालिकाले बित्तीय साक्षरता कक्षामा सहभागी भएका १३ जना सहभागीहरुका लागि झोला बनाउने तालिम चलाउने भयो । सुस्मिता पनि १३ जना मध्यकी १ जना थिइन् । सुस्मिता तालिममा समेटिइन् । नगरपालिकाको लघुउद्यम विकास शाखामार्फत सञ्चालन गरिएको झोला बनाउने तालिममा सुस्मिता अत्यन्तै चासो दिएर सहभागि हुन थालिन् ।

काम सिक्ने तीब्र मनोकांक्षा भएकाले छोटो समयमा नै उनले झोला र महिलाहरुले लगाउने जुत्ता बनाउने काम सजिलै सिकिन् । उता झोला र जुत्ताको तालिम चल्दै थियो, यता वित्तीय साक्षरता कक्षा पनि चलिरहेकै थियो । बित्तीय साक्षरता कक्षा सम्पन्न भएपछि महिला उद्यमी बन्नुपर्छ भन्ने सोचका साथ उनी आपूmले सिकेको कुरा तालिम मार्फत् अरु सहभागीलाई दिने सोच बनाइन् । सुस्मितालाई आजभोली झोला र महिला जुत्ता बनाउने तालिम दिन भ्याइ नभ्याइ छ । सुस्मिता अहिले सफल प्रशिक्षक बनिसकेकी छन् । कतै तालिमको आयोजना भयो भने उनको मोवाइलको घण्टी नगरपालिकाले बजाउँछ । उनी तालिम दिएरै महिनाको ३० हजार कमाउछिन् । हिजोसम्म दुईचार पैसा देख्न गाह्रो हुने सुस्मितालाई आफैँ ३० हजार कमाउँछु भन्दा विश्वास लाग्दैन । यसले उनको जीवनलाई व्यस्त पार्न सघाएको छ । मान्छेको फुर्सद भयो भने अरु सोचाइतिर मन जाने त हो, त्यसरी सोचेर गरेको सबै काम सहि हुँदैन । व्यवस्तताले मानिसलाई बिग्रनबाट बचाउँछ, सुस्मिता भन्छिन् । बित्तीय साक्षरता कक्षाको समाप्ति पश्चात बस्ने मासिक फलोअप वैठकका लागि फुर्सद निकाल्न समेत कठिन छ उनलाई आजभोली ।
आपैm प्रशक्षिक भइ तालिम दिएर कमाइ गर्न थालेपछि आजभोली सुस्मितालाई घर चलाउन श्रीमानको मुख ताक्नु परेको छैन । श्रीमानले पठाएको सबै पैसा सहकारी संस्थामा बचत गरेकी छन् । छोरालाई पढाउन र घर खर्च आफैले जोहो गर्न सक्ने भएकी छन् । सुस्मिताले परिवारमा हुने आम्दानी खर्चको दैनिक हिसाब राख्ने गरेकी छन् । जसलेबाट उनी अनावश्यक रुपमा हुने खर्च जोगाउन सक्ने भएकी छन् ।
आजभोली सुस्मिताको दिनाचर्य सजिलै चलिरहेको छ । कार्यक्रममा व्यस्त भए पनि कमाइ चित्त बुझ्दो भएकाले सुस्मितालाई दुःखको अनुभूति भएको छैन । उनी निकै हाँसीखुसी देखिन्छिन् । सात समुन्द्र पारी गएर पैसा कमाउन कति कठिन हुन्छ भन्ने कुराको राम्रो ज्ञान पाएर विदेशको दुःख समेत महशुस गरेकी छन् सुस्मिताले । यसरी सामान्य अवस्थाबाट प्रशिक्षकसम्म बनाउन बित्तीय साक्षरता कक्षाले मेरो जीवनमा ठूलो भूमिका खेल्यो । अब आफैले पनि व्यवसाय गर्ने सोच बनाएको छु, सुस्मिताले भनिन् ।

प्रतिकृया

Add