रामेछापका तीन वटा डेरीलाई जरिवाना

 शनिबार, बैशाख १६, २०८० | onlinenews

सन्तोष ढुङ्गेल


रामेछाप–रामेछाप जिल्लामा सञ्चालित तीन वटा डेरी व्यवसायीहरू जरिवानामा परेका छन् । जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालयको संयुक्त अनुगमन टोलीले चिरञ्जीवी डेरी, रामेछाप डेरी र अमृत डेरीलाई १५ हजारका दरले जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
वैशाख ६ गते बिहीबार निमित्त प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेको अध्यक्षमा बसेको जिल्लाका सरोकारवाला निकायका प्रमुख एवम् प्रतिनिधिको बैठकले बिना लेबलको दुध तथा दूग्धजन्य पदार्थ बिक्री वितरण गर्न नपाइने साथै गुणस्तरका आधारमा मूल्य निर्धारण गर्ने निर्णयअनुसार व्यवसायीहरूलाई सचेत गराएका थिए । शुक्रबार अनुगमन गर्दा व्यवसायीले नियम पालना नगरेको पाइए पछि कारबाही गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए ।
व्यवसायीले गाईको दुध १ सय रुपैयाँ र भैँसीको दुध १ सय २० रुपैयाँमा बिक्री वितरण गर्दै आएकामा अनुगमन टोलीले गाईको दुध न्यूनतम फ्याट ४ प्रतिशात र एस्एन्एप्m न्यूनतम ८ प्रतिशत भएको दुधको मूल्य ९५ रुपैयाँ कायम गरिएको जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ । भैँसीको दुधमा भने न्यूनतम ५ प्रतिशत फ्याट र न्यूनतम ८ प्रतिशत गुणस्तर भएको दुध मात्र बिक्रीवितरण गर्न दिने निर्णय भएको थियो । अनुगमन टोलीले ग्राहकले दुध खरिद गरिरहेको अवस्था परीक्षण गर्दा तोकिएको मापदण्ड नपुगेको पाइएपछि कारबाही गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए । दूग्ध व्यवसायीले पटकपटक नियम उल्लङ्घन गरे कालोबजारी ऐन अन्तर्गत २ लाख रुपैयँसम्म जरिवाना हुने घिमिरेले बताए ।

प्रतिकृया

Add