पुर्ख्यौली पेशा संरक्षणमा जुटे माझी समुदाय

 सोमवार, बैशाख १८, २०८० | onlinenews

सन्तोष ढुङ्गेल


रामेछाप । जिल्लाको सुनकोशी र तामाकोशी नदि किनारमा बस्दै आएका अति सीमान्तकृत माझी समुदायको मौलिक पेशा लोप हुँदै गएपछि समुदाय नै पेशा संरक्षणमा जुटेको छ । कोशीमा डुङ्गा चलाउने र माछा मारेर जीविकोपार्जन गर्दै आएका माझी समुदाय पेशा नै लोप भएपछि चिन्तित रहेका थिए । कोशी र माझीबिच मामा भाञ्जाको सम्बन्ध रहेको किंवदन्ती रहेको छ । कोशीलाई नै आफ्नो आम्दानीको माध्यम बनाएका माझी समुदाय पेशा लोप हुँदै गएपछि गुजारा चलाउन समेत गाह्रो भएको खाँडादेवी गाउँपालिका–१ माझी अगुवा बीरबल माझीले बताए । पुर्ख्यौली पेशा बन्द भएपछि नयाँ पेशा गर्न गाह्रो भएको र आफ्नो पेशाप्रति चिन्ता भएको उनको भनाइ छ ।

आफ्नो पेशालाई पर्यटन संग जोडेर निरंतरता दिने र आयआर्जनको रुपमा विकसित गर्दै लजाने मन्थली नगरपालिका वडा नं ८ का हरि माझी बताउँछन् । पुर्ख्यौली पेशा बन्द भएपछी माझी समुदायका महिलाहरू झन् समस्यामा परेको मन्जु माझीको भनाइ छ । शिक्षाको पहुँच कम भएको र माझी महिला हो के गर्न सक्छ र भन्ने सोच बढेको मन्जु बताउछिन् । पछिल्लो पुस्ताले संस्कृत, परम्परा र पेशा बिर्सन लागेको हुँदा यसलाई निरंतरता दिन आफूले तालिम दिएको शंकर माझीले बताए ।
सीमान्तकृत माझी समुदायको पेशा र संस्कृति संरक्षणमा मन्थली नगरपालिकाले आवस्यक सहयोग गर्ने जनाएको छ । माझी समुदायको संस्कृति र परम्परा झल्कने संग्रहालय र होमस्टे बनाउन आग्रह गरेको र समुदायलाई उचित बजेट ब्यबस्थापन गरिदिने मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले बताए । रामेछाप जिल्ला भरी २९ वटा घाटमा डुङ्गा सञ्चाल हुँदै आएको भएपनि सेलेकाटमा १३ बर्ष देखि र अन्य घाटमा बिगत ५ बर्ष देखि सबै बन्द रहेका छन् भने डुङ्गा व्यावसाय संचालन गर्दै आएका दर्जनौं माझी बेरोजगार जस्तै भएका छन् । पुर्ख्यौली पेशा संरक्षण गर्ने उद्देश्यले सोमबार माझी उत्थान संघ रामेछापले निर्माण गरेको काठको डुङ्गा तामाकोसीमा परिक्षण गराइएको थियो ।

प्रतिकृया

Add